प्रवास

मानसिक स्वास्थ्य सेवाका लागि कटुवालको ३ हजार माइल यात्रा

बेलायतमा स्थायी बसोबास गर्ने नेपाली समुदायका नागरिक सुजन कटुवालले ३ हजार माइल पैदल यात्रा सुरु गरेका छन्।

कटुवालले १६ जनवरीदेखि लन्डनस्थित नेपाली दूतावासबाट आफ्नो च्यारटी उदेश्य सहितको ३ हजार माइल पैदल यात्रा सुरु गरेका हुन्।

सामाजसेवी कटुवालले बेलायतमा दर्ता भएको परोपकारी संस्था ‘कम्ब्याट स्ट्रेस’ को सहयोगार्थ सो पैदल यात्रा शुरु गरेका हुन्। कटुवालले लन्डनका प्रत्येक ३२ बरोमा पुगेर सो  पैदल यात्रा पुरा गर्ने भएका छन्। करिब २०० सय दिन लाग्ने पैदल यात्राबाट कम्ब्याट स्ट्रेसले ब्रिटिश सैनिक भेट्रानहरुलाई मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने बताइएको छ। 

यात्रा सुरु गर्नु अघि कटुवाललाई दूतावासमा राजदूत ज्ञानचन्द्र आचार्य र भूतपूर्व गोर्खाहरुलाई बेलायतको आवासीय अधिकार दिलाउन प्रमुख भूमिका निर्वाह गरेकी वरिष्ठ अभिनेत्री जोआना लुम्लीले शुभकामना दिएका थिए। ‘म सुजन कटुवालको गौरवपूर्ण नेपाली पृष्ठभूमि र उनको अदम्य प्रतिबद्धताका कारण उनले तीन हजार माइल हिंड्ने लक्ष्य पुरा गर्नेछन् भन्ने विश्वास छ। उनलाई मेरो न्यानो शुभकामना छ’, जोआनाले भनिन्।

कटुवालले पैदल यात्रामा नेपालको पर्यटन प्रवर्धन प्रयास गर्ने बताएका छन्। उनले यसअघि पनि गोर्खा च्यारिटीका लागि तीन हजार माइल हिंडिसकेको पनि बताए। पानस हेल्पिङ हेण्ड्स च्यारिटी समेत सञ्चालन गरिरहेका कटुवालले कोभिड लकडाउनका बेला एकलाख भन्दा बढी स्वास्थ्यकर्मी तथा घरविहीन मानिसलाई निःशुल्क खाना उपलब्ध गराएर सिटी अफ लन्डनबाट ‘फ्रिडम अफ द सिटी अफ लन्डन’ अवार्ड समेत पाएका थिए। 

प्रकाशित: ५ माघ २०८० ०८:३३ शुक्रबार

सुजन कटुवाल