ब्लग

मृत्युको मुखमा पुग्दा...

सिन्धुपाल्चोक– आँखा खुलेदेखि नै हो चियाको लत लागेको। तर ओछ्यान छोड्न पटक्कै मन लागेको होइन। वैशाखको धूपमा बिहानीपख निदाउनुको मज्जै बेग्लै। नाडीको घडीले मध्याह्न साढे ११ बजाइसकेछ। चियाको तलतलले उठाइछाड्यो। मुख धोएर कोठामा छिर्दा शरीरले केही चिसो महसुस गर्योक। झ्यालबाट बजार नियालें, चौतारा धुम्म थियो। आकाशमा हल्का बादल मडारिएको थियो। झ्याल नजिकै ह्यांगरमा झुन्डिएको पातलो ज्याकेट भिरें। मन दोमन भयो, तीन–चार पटक ज्याकेट लगाउने र फुकाल्ने क्रम चल्यो।अन्तिम पटक ज्याकेट फुकालेर बाहिरी वातावरण हेर्न खोज्दा झ्याल थरर्र हल्लियो। भुइँचालोको चाल पाइहालें। हत्तपत्त दगुरेर ढोका समाएको मात्र के थिएँ, झ्यालगाह्रो कोठाभित्रै लड्यो, मै भएतिरै। ढोकामा झुन्डिएर बुरुक्क उफ्रें, भुँइमा छरपस्ट झ्याल र इँटाका टुक्रामा गोडा बजारिए। झन्डै कोठाभित्रै किचिएको!

मोबाइलको भाइब्रेसन झैं घर जुरुक–जुरुक उचालिन थाल्यो। जोडले हल्लँदै साढे चार तले पक्की घर पिङझैं मच्चिन थाल्यो। ठूलो आवाजसहित छारोधुलोको मुस्लो कोठाभित्रै छिर्योह। थरथर काँप्दै, उफ्रदै हल्लिरहेको घरको छत ढिक्का–ढिक्का बनेर झर्योस। 'स्लेप' (चाक्लो) आकारमा झरेको छतको टुक्रा मेरो खाटमा बजि्रयो, त्यो किचिक्क थिचियो। शरीर काँप्यो, ओठमुख सुके, अनुहार कालोनिलो भयो। भित्रै बसेर बाँचिन्न भन्ने लाग्यो, भाग्ने निर्णय गरें।

सिँढीको रेलिङ समात्दै भाग्न थालें। हल्लाइले कहिले भित्तामा जोतिँदै त कहिले रेलिङमा ठोक्किँदै मुस्किलले पहिलो तलामा पुग्दा भुइँतला) बाट गुहारको आवाज आयो। स्वर चिनेको जस्तो लाग्यो। ठम्याउन भने सकिनँ। 'चेनगेट' को आधा भागबाट बाहिरी प्रकाश देखिँदै थियो। दगुर्दै छेउमा पुग्दा त चेनगेट सुलुत्त दब्यो, जमिनभित्र घुस्यो। पहिलो तला भासिएर भुइँ तलामा मिलेको ठम्याएँ।

अहो! भाग्ने बाटै पो बन्द! मुनि जाउँ घर भासिइसकेको छ, माथि जाउँ छत र गारो ढलिरहेको छ। हल्लाइ रोकिएन। अब बाँच्दिन भन्ने लाग्यो। भुइँमा घुँडा टेकेर घोप्टो परें, भगवान पुकारें। परिवारको सम्झना आयो र, नराम्ररी अत्यायो। आफन्त, साथीभाइ सम्झें। सदरमुकामको पक्की घरमा त यो हालत छ भने मेरो ढुंगामाटोको घरले किचेर परिवारै मार्योघ होला, एक्लै बाँच्नुभन्दा मरेको बेस! मनमा यस्तै तर्कना आयो। घर फरक तरिकाले नाच्न थाल्यो। उफि्ररहेको घर दायाँ–बायाँ नाच्यो। चेनगेटतिर हेर्दा त्यसको माथिल्लो भागबाट हल्का प्रकाश छिरेजस्तो लाग्यो। जुरुक्क उठेर त्यहाँ पुग्दा चेनगेटको माथिल्लो भागमा सानो 'स्पेस' (झ्याल जस्तै प्वाल) निस्किएको रहेछ। बाँच्ने आशा पलाएर आयो। तर निकै माथिको त्यो भाग हातले भेट्न सकेन। उफ्रेर हातको आडले भाग्ने प्रयास गरें। तर हातले भेट्नै सकेन, के को आड लिनु नि!

म, घरबेटी बाआमा र स्वार्थी मन

पछाडिबाट मलाई कसैले तान्यो, झ्याम्मै अंगालो हाले। उनीहरू निकै हतासमा थिए। घरबेटी बाआमा रहेछन्। म भेटेपछि बाँचिन्छ भन्ने उनीहरूलाई लागेको हुँदो हो। चेनगेटको स्पेस भेटेर भाग्ने प्रयास गरिरहेको मेरो मनले यी बूढाबूढी किन यत्तिखेरै आइपुगेका होलान् भनेर तर्कना गर्योा। मान्छेको जात यति धेरै स्वार्थी हुँदोरहेछ भनेर मैले पहिलोपटक त्यतिबेलै हो थाहा पाएको। विलम्ब गर्ने अवस्था थिएन। अग्ला तर पातला घरबेटी बालाई जुरुक्कै उचालें। उनी त्यो स्पेसबाट बाहिर निस्किए। कसैले तानिदिए जस्तो लाग्यो। अब रहिन् घरबेटी आमा। कद होचो भए पनि तौल भएकी रहिछन्। बल्लतल्ल उचालें तर उनले स्पेस भेट्नै सकिनन्। उनलाई भित्तामा ठड्याएर जाङमूनिबाट टाउको छिराउँदै उचालें। उनी निस्किन। उनलाई पनि कसैले बाहिरबाट तान्यो।

मलाई पनि तानिदेलान् भनेर चिच्याउँदै, उफँ्रदै हात दिएँ, अहँ तानेनन्। त्यतिबेलै फेरि ठूलो आवाजसहित धक्का गयो, चेनगेटको स्पेस टम्म कसियोे। मन हायलकायल भयो। बाँचिन्छ कि भनेर पलाएको आशा फेरि निराशामा बदलियो। सुनेको थिएँ दिन नआएसम्म मरिँदैन। भयो त्यस्तै। घर हल्लिरहँदा टालिएको स्पेस देखापर्योु। गुहारको आवाजसहित 'न्वारन' देखिको बल निकालेर उफ्रें। कसैले हात च्याप्प समात्यो, म झुन्डिन पुगें। दुई घुँडा भित्तामा घिसार्दै बल गरेपछि तान्नेले फुत्त निकाल्यो।

भाइ साजन श्रेष्ठ रहेछन्, घरबेटीका कान्छा छोरा। मैले झ्याम्मै अंगालो हालें। डाँको छोडर रुन मन लागेको थियो। तर रुवाइ आएन। 'हजुरबा हजुरआमालाई स्कुलको चउरमा पुर्यालएर तपाईंलाई लिन आको नि,' मलाई सम्हाल्दै उनले भने।

मैले दस जोड दुई पढेको स्कुल कृष्णरत्न गंगा उच्च मावि ध्वस्त भइसकेछ। स्कुलमाथिको आकाशमो धुलो मडारिइरहेको थियो। सानोसिरुवारी र छापडाँडाका घरका खण्डहर प्रस्टै देखियो। लाग्यो पूरै सिन्धुपाल्चोक ध्वस्त भयो। भाग्दै बजारवासी पनि त्यहीं स्कुल प्रांगणमै आइपुगे। अनुहारको चमक खोसिइसकेका उनीहरू हतास र त्रासमा थिए। धक्काले स्कुलको चउर नै लच्काउथ्यो। त्यतिबेला महिला, केटाकेटी र बूढाबूढीको रुवावासी चल्थ्यो।

विष्णु म्याडम्लाई दिने जवाफ भएन

'भाइ, तपाईं बसेकै घरमा सर फस्नु भएको छ। लौ न निकालिदिनुस्,' आत्तालिँदै विष्णु म्याडम्ले भनिन्। अघि भाग्ने बेलामा सुनेको गुहार आवाज बल्ल याद आयो, सुरेशकुमार श्रेष्ठ सरको थियो। उनी मेरा शिक्षक थिए। सानोबाबु (सरम्याडमका कान्छा छोरा) को आँंसुले उनको अनुनय अस्वीकार गर्न सकिएन।

साहस बटुलेर भाइ साजन र म सुरेश सरको खोजीमा निस्क्यौं। पहिलो तला हराएको घर नब्बे डिग्रीको कोणमा बांगिएको रहेछ। 'सुरेश सर, सुरेश सर...,' दुई–तीन पटक बोलायौं। उनी बोलेनन्। सर जीवित छन् जस्तो लागेन। म्याडमलाई दिने उत्तर नभएपछि स्कुलतिर नगएर बजारतिर दगुरें।

छत्र सरले भने– सुरक्षित रहनु

प्रशासनिक मुकाम चौतारा भूकम्पले ध्वस्त बनाइसकेछ। बजार सुनसान थियो, ज्यान जोगाउन स्थानीय भागिसकेका थिए। पिक, साबेल, कोदाला बोकेर नेपाली सेना उद्धारमा जुट्न भ्याइसकेका थियो। घर ढलेर मुख्य सडक पाइलैपिच्छे अवरुद्ध थियो। अनुकम्प गइरहेकाले खतरा औंल्याउँदै सेनाले अघि बढ्न रोके। अवरोध छल्दै जंघार तरेर पुरानो बसपार्क पुग्दा खल्तीमा मोबाइल बज्यो। मोबाइल बोक्न भ्याएको छु भन्ने पत्तै थिएन। जिल्ला ब्युरो छत्र कार्कीको फोन रहेछ। आँखाले देखेका र आफैंले भोगेका घटनाक्रम छोटकरीमा सुनाएँ। 'सुरक्षित रहने प्रयास गर्नु,' उनले यति भनेर फोन राखे। फोनमा उनी पनि आत्तिएका थिए। काठमाडौंमा पनि ठूलो क्षति पुगेको अनुमान लगाउन गाह्रो परेन।

उद्धार गरी ल्याइएका घाइतेको सेनाले भुइँमै उपचार गर्न थाल्यो। शव जम्मा हुँदै गर्दा मन कुँडियो। परिवारका सदस्य, आफन्त र साथीभाइलाई पालैपालो मोबाइल दबाएँ, पटक्कै फोन लागेन। मोबाइलमा 'नेटवर्क' को सिग्नल रहेनछ।

मुलाको डोब मुलैले खन्छ

यतिबेलासम्म परिवारको अवस्था थाहा थिएन। पैदलै हिँडेर घर पुगें। अघिपछि आधा घन्टाको बाटो हिँड्न एक घन्टै लाग्यो। स्थानीय बजार मेलचौर तहसनहस थियो। भग्नावशेषमा जताततै मान्छे किचिएका, बजारवासी रुवाबासी गरिरहेका, सेना एक्लै उद्धारमा खटिइरहेका थिए। भक्तपुर सहर जस्तो झुम्म, बाक्लो मेरोगाउँ कल्लेरी सोत्तर थियो। आँखाले भ्याएसम्म हेर्दा एउटै सग्ला घर देखिएनन्। निमेषमै उजाडिएको मातृभूमिको दृश्यले आँखाबाट तरक्क आँसु झरे।

'यी (हातले देखाउँदै) भैयाको कारण हामी बाँचेका, नत्र एकै चिहान हुन्थ्यौं,' मलाई अंगालोमा कस्दै भाउजू बालकुमारीले भनिन्। झोलापोकामा कपडा बेच्न पहाड झरेका मधेसका एक व्यापारी भूकम्प जानुअघि मात्र गाउँ छिरेका रहेछन्। फराकिलो आँगनमा महिला, केटाकेटी लुगा छान्दै गर्दा भूकम्प गयो। पुरुष जति घर बाहिर भएकाले बाँचे। उनकै कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको रहेछ मेरो टोल।

घरसँगै किचिएका ठूला बुबा र साइली आमालाई उद्धार गरेर निकालिएको थियो। भग्नावशेषमा किचिएकी पालडाँडाकी हजुरआमालाई निकाल्न सकिएको थिएन। हामी दाजुभाइ मिलेर उनको खोजीमा लाग्यौं। भग्नावशेष पन्छाउँदै निकैबेर खोज्दा पनि भेटिइनन् हजुरआमा। साँझ पर्नै लागिसकेको थियो। हामीले हजुरआमाको माया मार्यौंन। बास र खानाको व्यवस्था गर्नतिर जुट्यौं। खण्डहर पन्छाउँदै धुजाधुजा भएको त्रिपाल, गुन्द्री निकाल्यौं। बहिनीहरूले केही भाँडाकुँडा, चामल, दाल, नुन, तेलमसला, ओढ्ने निकाले। बाँसका चार कप्टेरा गाडेर खेतको गरामा मैले त्रिपाल टाँगें।

भात, दाल भुलुक्क उमालेर एकमुठी तातो खायौं। अघिल्लो रातको खानापछि मैले पानीसम्म खान पाएको थिइन्। सबैतिर सत्यानाश भएको दृश्यले भोक भने थिएन। सास धान्न खायौं भनौँ न। जीवनभरको आर्जनले दुई छोराका लागि बनाएको दुई घर भत्कँदा सुत्ने बेलामा बुबा खुइँय गर्न थाले। 'बा, बाँचेका छौं। मुलाको डोब मुलैले खन्छ,' मैले बुबालाई ढाडस दिँदै भने। परिवारै एकै ठाउँमा गुजिल्टएर सुत्यौं। जमिनै थर्काउने धक्काले के निदाउन दिन्थ्यो र? भोलि बिहान देख्न पाइएला, नपाइएला भनेर मन डराइरह्यो।

आफैं मरेको खबर सुनें

विपद् आइलाग्यो भनेर बिलौना गरेर मात्र बस्ने अवस्था थिएन। रिपोर्टिङ गर्नुपर्ने बाध्यतामा पनि थिएँ। परिवारलाई पालमुनि छोडेर म भोलिपल्ट बिहानै सदरमुकाम हिँडें। बीचबाटोमा सिडियो कृष्णप्रसाद ज्ञवाली र एलडियो युवराज कटेल भेटिए। शनिबार बिदा मनाउन शुक्रबारै घर गएका उनीहरू भूकम्पपछि जिल्ला फर्कंदै थिए।

'दङ्गालजी ठीक हुनुहुन्छ?' चौतारामा मलाई देख्दा धेरैले प्रश्न गरे। उनीहरूले अचम्म मानेर मलाई हेरे। म अक्क न बक्क परें। 'दाइ, यहाँ त तपाईं मरेको चर्चा छ। हामीले पनि त्यही सोचेका!' टुँडिखेलमा भेटिएका सहकर्मी किशोर बुढाथोकीले भने। उनीसहित सहकर्मीले मेरो डेरा भएको घर ढलेको प्रत्यक्ष देखेका रहेछन्। 'म जीवितै त छु! मर्दा पनि सबै थाहा हुन्छ क्या हो!' द्विविधामा परेको मनमा कुरा खेल्यो। हातले गाला चिमोटें, दुख्यो। हैट, सोचाइ पनि के के पो आउने, मनमनै हाँस उठ्यो।

टुँडिखलेको दृश्य हेरिसक्नु थिएन। बजारवासी टुँडिखेलमा आश्रय लिइरहेका थिए। चउरको एक छेउमा राखिएका शव बढ्दै थिए। घाइतेको पनि उपचार भइरहेको थियो। भूकम्पलगत्तै चौतारा अस्पताल टुँडिखेलबाट उपचार दिन तल्लिन थियो। शव र घाइतेसँगै स्थानीयले रात बिताएका थिए।

सामूहिक दाहसंस्कार

विद्युत आपूर्ति बन्द थियो। सबैखाले सञ्चार साधन ठप्प जस्तै थिए। जिल्लाभर भूकम्पको सत्यानाश मात्रै थियो। निमेषमै भुइँमा मिलेको थियो सिन्धुपाल्चोक। भोको पेटमा पीडित खुला आकाशमुनि थिए। खाद्यान थिएन, पकाउने भाँडावर्तन थिएनन्, ओढ्ने–ओच्छ्याउने, लुगाफाटा केही थिएनन्। सबै घरसँगै पुरिए। महिला, बालबालिका र वृद्धावृद्धामा क्रन्दन थियो। कसैको आँखा ओभानो थिएन।

चट्टाने चेपुवामा परेको उत्तरी तातोपानी नाकाको अवस्था अज्ञात थियो। हवाई, स्थल र सञ्चार सम्पर्कबाट तातोपानी एक्लिइसकेको थियो। यातायात र सञ्चार सम्पर्क टुट्दा हिमाली गाउँ बेखबर थिए। भौतिक र मानवीय क्षतिबारे कुनै जानकारी आउन सकेको थिएन। प्रशासनले शवहरू बिनापोष्टमार्टम स्थानीयस्तरमै व्यवस्थापन गर्न बाटो खुला गरिदियो। तेस्रो दिनबाट सिन्धुका डाँडाकाँडा र खोल्सा धुवाउन थाले। सुनकोसी, इन्द्रावती, भोटेकोसी, ब्रह्मायणी, झ्याडीलगायत नदी तथा खोलामा आगो सल्कियो। शव लस्करै राखेर जलाइयो।

सबै आतंकित थिए। लगातारका अनुकम्पले फेरि पनि बाँचिन्छ भन्ने आशा कसैलाई थिएन। मृतकको दाहसंस्कार र घाइतेको उद्धारमा जटिलता थपिँदै गयो। त्रासले कोही मद्दतमा निस्कनै सकेनन्। धेरै ठाउँमा शव खाल्डो खनेर पुरियो। कुञ्चोक गाविसका महिलाले झ्याँडी खोलामा शव ओसारेर अन्तेष्टि गरे। पुरुष जति भाँडा व्यापार गर्न जिल्लाबाहिर थिए।

भूकम्पको १० मिनेट नबित्दै सेना उद्धारमा खटिए पनि प्रहरी निस्कन सकेन। प्रहरीमाथि आक्रोश बढ्दै गइरहेको थियो। कार्यालय र चौकी ढल्डा उनीहरू आफैं त्रसित थिए। पीडित गासबासको प्रतीक्षामा थिए। सरकारी निकायले त्यति पनि दिन सकेनन्। प्रहरी, प्रशासनविरुद्ध नाराबाजी सुरु भयो।

चौतारामा सिडिओ माथि आक्रमण प्रयास भयो। माओवादी नेता अग्नि सापकोटाले जोगाए। राहत, उद्धारमा महत्वपूर्ण जिम्मेवारी र अधिकार पाएका सिडिओ, एलडिओ र डिएसपीबीच समन्वय थिएन।

सरकारले नहेरेपछि संघसंस्था र व्यक्तिगत च्यानलबाट भित्रिने राहत बाटैमा लुटिन थाल्यो। सरकारी च्यानलबाट आउने राहत सडकमार्फत ल्याउन सकिने अवस्था रहेन। हेलिकप्टर नै चाहियो। राहत बोकर गाउँ जाने हेलिकप्टर घाइते लिएर फर्कन्थे।

सदरमुकाम र क्षेत्रीय बजार झर्ने स्थानीय, सेना, प्रहरी, गाविस सचिव र सामाजिक परिचालकमार्फत क्षति विवरण आउन थाल्यो। साताबीचमै भूकम्पमा मर्नेको संख्या तीन हजार नाघ्यो। ९० प्रतिशतभन्दा बढी घरसंरचना ध्वस्त भएको प्रारम्भिक तथ्यांक आयो।

२९ गतेले झन्डै मार्यो

जनजीवन सामान्यउन्मुख हुँदै थियो। संघसंस्थाले जिल्ला घेरिसकेका थिए। पीडित दाताले दिएको खाद्यन्नबाट धानिँदै थिए। त्रासकै बीच उनीहरू खण्डहर कोतर्दै पुरिएका सरसामन निकाल्न व्यस्त थिए। म स्याउले, बेङचेपानी, गौराती, पीपलडाँडालगायत गाउँ घुमेर भर्खर चौतारा फर्केको थिएँ। शुक्रबार साप्ताहिकका कार्यकारी सम्पादक राजन नेपालले त्रिपालभित्रका दुःखको स्टोरी मागेका थिए।

चौतारामा बचेका घरका होटल, पसल खुलेका रहेछन्। पत्रिका पाइने थापा बुक्स एण्ड स्टेसनरी पनि खुलेको थियो। काठमाडौंदेखि पत्रिका आएको रहेछ। भूकम्पले मुलुकमा पुर्यााएको क्षतिबारे त्यतिबेलासम्म थाहा थिएन। नागरिक पत्रिका लिएर पाँच कदम मात्र हिँडेको थिएँ, १२ गते सम्झाउँदै ठूलो अनुकम्प गयो। सडक दायाँ–बाँयाका घर हल्लिएर जोडिन खोजे।

म भाग्ने बाटो खोज्दै थिएँ। केही हात अघि रहेको चौतारा गेस्ट हाउस गर्ल्याम्म ढल्यो। भाग्दै गरेका चारजना आँखैअघि किचिए। केही पछि हट्दै खुला ठाउँ पुगेर मैले एसएलआर क्यामेराबाट तस्बिर लिएँ। केही दिनअघि मात्र ध्वस्त डेरामा छिरेर भाइ मनीष दङ्गालले क्यामेरा निकालिदिएका थिए। 'कुनै सामान बाँकी थिएन। क्यामेर टेबुलमुनि भएर जोगिएछ,' मनीषले क्यामेरा थमाउँदै मलाई भनेका थिए।

सुरक्षाकर्मी आएर पुरिएकाको उद्धार गरे। टुँडिखेल पुग्नासाथ दुई जना मरे। तीमध्ये एक थिए, पीपलडाँडाका अर्जुन बिष्ट। प्रकृति पनि कति निष्ठुर! १२ गतेको भूकम्पले उनकी आमाको ज्यान लियो। जुठोबाट उत्रेर उनी सरकारले दिने किरियाखर्च लिन सदरमुकाम आएका रहेछन्।

भाडाको ल्यापटपमा समाचार लेखें

सेतो कट्टु, पातलो टिसर्ट र खिइसकेको चप्पल, जो म भाग्दा शरीरमा थिए। कुनैखाले सञ्चार उपकरण मसँग थिएन। रिपोर्टिङ गर्न सकिने अवस्था थिएन। धुलिखेल र नगरकोटको टावरले काम गर्दा मोबाइलमा कहिलेकाहीं नेटवर्क दिन्थ्यो। त्यही मौका छोपेर म जिल्ला ब्युरोका कार्कीलाई समाचार टिपाउँथें।

भूकम्पको पाँच दिनपछि खुला चौरमा रेडियो सिन्धु सञ्चालनमा आयो। त्यहाँ जेनेरेटरको व्यवस्था थियो। मोबाइल त्यहीं चार्ज गर्न थालें। एक सातासम्म मैले मोबाइल रिपोर्टिङ मात्र गर्न सकें। घटना विवरण र तथ्यांक टिपाउँथे। ब्युरो प्रमुख कार्कीले त्यसलाई समाचारमा ढाल्थे। पछि समाचार कापीमा लेखेर टिपाउन थालें। झर्को नमानी टिप्थे कार्की र जिल्ला व्युरोका सहकर्मी शरद अधिकारी।

स्थलगत रिपोर्टिङपछि फर्केर समाचार लेख्ने थलो रेडियो सिन्धुलाई बनाएँ। रेडियोले प्रत्यक्ष प्रसारण गर्ने भएकाले त्यहाँको ल्यापटप मैले चलाउन थालें। त्यसैमा समाचार लेखेर टिपाएँ। मोबाइलले काम गर्दा वाइफाइ हटस्पोटबाट डाटा कम्प्युटरमा हालेर समाचार र फोटो पठाउन थाले। समाचार पठाउने बेलामा संघर्षै गर्नुपर्थ्यो। क्रमशः मोबाइल नेटवर्क सुध्रदै थियो। रेडियोले समाचार लेखेर पढ्न थालेपछि ल्यापटप पाउन छोडें। जिविसका स्थानीय सुशासनविज्ञ सुवास शिवाकोटीले उनको ल्यापटप चलाउन दिए। केही साता यसैबाट काम चलाएँ।

रेडियोकी सहकर्मी गुराँश गुरुङले धेरै छाक चाउचाउ उमालेर खुवाइन्। कहिले काँही भातै पकाएर खुवाउँथिन उनी। सहकर्मी टीका दाहालले केही छाक खाना उनैकोमा बोलाएर खुवाए। पछि टुँडिखेलमा माडवारी सेवा समाजले निःशुल्क खाना खुवाउन थाल्यो। ओहो! अभावमा भोक पनि उत्पातै लाग्ने! कहिलेकाहीं जोखिम मोलेर खण्डहर बाटो हिँड्दै आधा रात घर पुग्थेँ।

जिविसको जागिर छोडेर शिवाकोटी उच्च माध्यामिक शिक्षा परिषद् गए। फेरि समाचार लेख्ने साधन अभाव भयो। अभावै अभावमा कतिञ्जेल काम गर्नु? भाडामा ल्यापटप लिएँ। नागरिकका तत्कालीन प्रधानसम्पादक प्रतीक प्रधान, ब्युरो प्रमुख कार्कीलगायतले व्यक्तिगत रुपमा उठाएर मेरा लागि १२ हजार रुपैयाँ पठाएका थिए। सहकर्मी टेकनारायण भट्टराईले चौतारामै आएर त्यो रकम मलाई थमाएको निकै दिन बिते पनि खर्च गरेको थिइनँ।

साथमा ल्यापटप र क्यामेरा भएको दिन म खुसीले उफ्रेको थिएँ। मेरो हालत देखेपछि चौताराकी बहिनी सुजता सापकोटा (सिर्जना) ले एकजोर जुत्ता, हाफपाइन्ट, टिसर्ट र समर ज्याकेटे व्यवस्था गरिदिएकी थिइन्। उनको फेन्सी पसल थियो। २५–३० दिनपछि मेरो शरीरले नयाँ कपडा भेट्टायो।

रातो टाई

'आजबाट भग्नावशेष पन्छाउन थाल्ने। केही सामान भेटिन्छन् की आउनुहोला,' त्यस्तै दुई महिनापछि घरबेटी भाउजूले खबर पठाइन्। झन्डै मृत्युवरण गर्नुपरेको त्यो घर छिर्न मन थिएन। मानसिक आघातबाट उत्रँदै गर्दा लोभ लागेर आयो। ल्यापटप, डेस्कटप, डिजिटल क्यामेराको कुनै पुर्जा पनि भेटिएन। हार्डडिस्क भेटिन्छ कि भन्ने आशा थियो, भेटिएन। एकजोर कोटपाइन्ट र केही लुगा त भेटेँ तर घामपानीले ती कुहिएछन्ँ।

एउटा पत्रकारको महत्वपूर्ण आर्जन र उपलब्धि भनेकै तस्बिर, दस्तावेज, स्रोत सामग्री, पुस्तक, सम्मानपत्र र प्रकाशित समाचारका फाइल नै हुन्। ती सबै नष्ट हुँदा रित्तिएको महसुस हुने रहेछ। मेरो १० वर्षे पत्रकारिताका दौरान आर्जित ती सम्पत्ति सबै भूकम्पले निल्यो। सिन्धुपाल्चोकका सबै गाविसका बस्तीका तस्बिर थिए मसँग। भविष्यका लागि ती ऐतिहासिक हुन्थे। चुकचुकाउँदै फर्कंन लाग्दा इँटाले ढोकानेर किचिएको एउटा रातो रंगको सामानले ध्यान तान्यो। इँटा पन्छाउँदै जतन गरी निकालें। टाई रहेछ, टक्टकाएँ। त्यो जस्ताको त्यस्तै पाएँ। दुई हातले समातेर त्यसलाई चुम्मा खाएँ। जन्मदिनको उपहार थियो त्यो। अघिल्लो वर्ष मात्र पाएको। यस्ता धेरै महत्वपूर्ण वस्तुबाट रित्तिएको मलाई त्यो टाईले असिम खुशी दियो। जतन गरी त्यो टाई मैले संरक्षणमा राखेको छु।

प्रकाशित: १० वैशाख २०७३ २२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App