ब्लग

आफ्नै घर चिन्न सकिनँ

तीन साताअघिको दृश्यसँग साक्षात्कार हुँदो त टम्म मिलेको कल्लेरीको पोखरीगाउँ मेरो मानसपटलमा अटल रहिरहन्थ्यो। तर, वैशाख १२ को विनाशकारी भूकम्पले त्यसको स्वरुप बदलिदियो। मेरो गाउँ अब गाउँ रहेन। एउटै घर ठडिएको अवस्थामा छैन। एउटा लमतन्न डाँडामा बसेको पोखरीगाउँको बस्ती नामेट बनेको छ। झन्डै १ सय १० घरधुरीको भग्नावशेष मात्र देख्न सकिन्छ। यहाँका तीन जनाको ज्यान लिएको महाभूकम्पले दर्जन बढीलाई घाइते बनायो। धन्य, धेरै त घर बाहिर रहेकाले जोगिएछन्। धेरै चौपाया भने गुमाउनुपर्‍यो।

Dhurba2

चैत अन्तिम साता मात्र आमाबुबा भेट्न गाउँ पुगेको थिएँ। दुई रात बसें। संयोग त्यस्तै। गजुरीमा निम्तो मान्न गएको, आमहडतालका कारण राजधानी फर्कन नसक्ने भएपछि गाउँ उक्लेको थिएँ। निम्तोमै आएका चेतनारायण दाइ (श्रेष्ठ) सहित उनका आफन्तजन बाटोका साथी भए। उहाँहरूसँग पारिवारिकसँगै गाउँका विकास निर्माणका कुरा गर्दै उकालो चढियो। उहाँहरूले ‘बा–आमा बूढाबूढी हुनुभयो, अब त काठमाडौंतिरै लैजानुपर्छ। गाउँमा रेखदेख गर्ने कोही छैनन्। घरबार व्यवस्था गरेको छैन त' भन्दै हुनुहुन्थ्यो। उहाँहरूको त्यो वाणी मनमा बिझिरहेको थियो। हुन पनि बा–आमा ७० पार गरिसक्नुभएको छ।

Dhurba3

मैले आफूलाई यतिखेर भाग्यमानी ठानेँ, त्यो विनाशकारी भूकम्पबाट उहाँहरूले आफ्नो ज्यानको सुरक्षा गर्न सक्नुभएछ। काठमाडौंमै रहँदा टेलिफोनबाट त्यो खबर पाइसकेकाले अलि ढुक्क हुन सकेको थिएँ। तर घरहरूको अवस्था त्यस्तो होला भन्ने कल्पनै गर्न सकेको थिइनँ।

dhurba4
भूकम्पको त्रास गाउँभन्दा राजधानीमा अझै व्याप्त थियो। दोस्रो दिन (आइतबार) पनि शक्तिशाली भूकम्प गएपछि त काठमाडौंका घरभित्र बस्न सक्ने अवस्था रहेन। श्रीमतीको पहिलो दिन कोठाबाट हतारिएर भाग्नेक्रममा लडेर खुट्टामा सिसा गढेछ। त्यसपछि त श्रीमती र बच्चा कोठाभित्र छिर्नै मान्दैनथे। गाउँ पूरै ध्वस्त भएको खबर पाएपछि चारैतिरका आफन्तजन पिरोलिइरहेका थिए। ‘बूढाबूढी आमाबाबुको के हाल भइसक्यो अझै घर जानुपर्दैन' भन्दै तारन्तार मोबाइलको घन्टी बजिरहेको हुन्थ्यो। पीडैपीडामा केही दिन राजधानीमै रुमल्लिएँ।
भूकम्पपछिको चौथो दिन विष्णु भाइसँगै गाउँ पुग्दा पहिलो नजरमै उनै चेतनारायण दाइ किरियामा रहेको देखेँ। गाउँमा पाइला टेक्नेबित्तिकै गणेश–भीमसेन मन्दिरसँगै चौतारा र उहाँकै मिल घर आइपुग्थ्यो। उहाँ त्यहीँ पछाडि पालमा झोक्राइरहनुभएको थियो। डेढ वर्ष नपुग्दै उहाँ दोस्रो शोकमा हुनुहुन्थ्यो। पत्नी वियोगको घाउ ओभाउन नपाउँदै उहाँमाथि फेरि अर्को बज्रपात परेको थियो।
एकैछिन चौतारामा सुस्ताएँ। चारैतिर नजर डुलाएँ। कसको घर कहाँ छ भेउ पाउने स्थिति थिएन। सबै घरका ढुंगाका छाना सोत्तरझैं मटियामेट थिए। घरका स्वरुप केही देखिन्नथ्यो। बाटोको नामनिसान थिएन। आँखा रसाएर आयो। गाउँका अतीत आँखामा झलझली घुमिरह्यो।

dhurba5
पालबाट निस्केर चेतदाइको छोरो (श्याम) ले जिस्काउँदै भन्यो, ‘तपाईले आफ्नो घर चिन्नुभएन कि क्या हो?' चिनिन सक्ने अवस्था भए पो भनेँ। उसैले ऊ त्यहाँनेर पर्छ भनेर औंल्याइदियो। मेरा बाआमा कहाँ बसिरहनुभएको छ त भनेर सोधेँ। करेसाबारीमा पाल टाँगेर बसेको जानकारी पाएँ।
त्यही भूकम्पमा चेतदाइले आफ्नो बुबालाई गुमाएका थिए। छोराको सहायताले उहाँ भने बल्लतल्ल बच्नुभएको रहेछ। ‘खाना खाएर बुबा माथि तलामा सुत्नुभएको थियो। बाजे तल खाटमा। म टिभी हेर्दै थिएँ। घर बेस्सरी हल्लायो। गट्गट् आवाज आयो। भुइँचालो, भुइँचालो भन्दै हत्तपत्त बाउलाई बाहिर तानेर निकालेँ। बाजेलाई खोजेँ। उहाँ खाटमा हुनुहुन्थेन। क्षणभरमै घरहरू गर्ल्यामगुर्लुम हुन थाल्यो। हामीहरू चौतारातिर भाग्यौं,' श्यामले भूकम्पसँग सामना गर्दाको क्षण सुनाए।
उनका ९० वर्षे बाजे भूकम्पबाट बच्न खाटमुनि पसेछन्। तर उनीहरूले धेरैपछि मात्र त्यसको भेउ पाए। ‘पहिला त बाजे कता गए कता भन्ने भयो। नभेटेपछि त्यहीँ खोज्दा खाटमुनि च्यापिएको भेट्यौं। खाट भाँचिएर थिचिएको रहेछ। उद्धार हुँदासम्म बाजेको प्राण गइसकेछ,' श्यामले भने।
गाउँका अरू दुईको पनि घरले किचिएर ज्यान गएको रहेछ। भुइँचालो आउँदा खाटमा बसिरहेका ८० वर्षे गोपालबहादुर विश्वकर्माको ठूलो ज्यानको बिरामी शरीर यताउता गर्न नसक्दा थिचिएछन्। ६० वर्षे मनमाया श्रेष्ठले भने छोरी घरमा ज्यान गुमाएकी रहिछन्। उनी आफ्नो घरभन्दा सय मिटर दूरीको रहेको छोरी घरमा दिवाली पूजाको निम्तोमा गएकी थिइन्। सख्त दुई घाइतेको काठमाडौं र पोखरामा उपचार भइरहेको छ। दुवै वृद्ध महिला हुन्। अरु स्थानीय हेल्थपोस्टमा उपचारपछि घर फर्किसकेका छन्।
नेवारको बाहुल्य रहेको पोखरीगाउँमा दर्जन घर ६० वर्षभन्दा पुराना थिए। अरू औसतमा २०–३० वर्ष भएका घर थिए। विनाशकारी भूकम्पले भर्खरै निर्माण सकिएको बुद्धिमान बाँडाको घर पनि छाडेन। घर भत्काएकोमा उनी दुःखी थिएनन्। खुसी त यसमा थिए कि परिवारलाई सकुशल देख्न पाएकोमा। ‘यो दैवीविपत्ति मलाई मात्र परेको होइन। घर त फेरि बनाउँला। परिवार सकुशल रह्यो, त्यसमै खुसी छु,' प्रहरीका जागिरे उनी भन्दै थिए।
गाउँका धेरैजसो घरमा वृद्धवृद्धा मात्र रहेकाले पशुचौपायाको भूकम्प गएको चौथो दिनसम्म उद्धार हुन सकेको थिएन। व्यवसाय तथा रोजगारीका लागि बाहिर रहेका दाजुभाइहरूको तेस्रो–चौथो दिनबाट गाउँ पुग्नेक्रम तीव्र भयो। त्यसपछि सबै मिलेर महामारी फैलन नदिनका लागि मरेका चौपाया निकालेर गाड्ने काम थाल्यौं। त्यसमा छिमेकी वडा नम्बर ५ का मानिसको सहायता रह्यो।
भूकम्प गएको सातौं दिनसम्म पनि कुनै राहत तथा उद्धार टोली आइनपुग्दा गाउँले आक्रोशित थिए। ‘पत्रकार भएर पनि खोइ तिमीले गाउँमा राहत ल्याउन सकेनौ। यसो भनसुन गरेर गाउँमा पाल र राहत ल्याइदिनुपर्योर नि,' गाउँले दाजुभाइहरू मेरो हैसियत नाप्दै थिए।
मैले भनेँ, ‘यही गाउँको माननीयज्यू हुनुहुन्छ। गर्दै हुनुहुन्छ होला। म राज्य चलाउने व्यक्ति परिनँ। के गर्न सक्छु र!'
सभासद गंगालाल तुलाधर पनि पोखरीगाउँकै बासिन्दा हुन्। नेकपा एमालेका पोलिटब्युरो सदस्य उनी पनि घरविहीन बने। एक वर्षअघिसम्म उनका आमाबुबा गाउँमै थिए। उपचार गराउन काठमाडौं ल्याएका। उनी घरको अवस्था हेर्न पुग्न सकेका छैनन्।
यतिखेर गाउँलेलाई खानेपानी र बासको समस्या छ। १०–१५ किलोमिटर टाढाबाट ल्याइएको धाराको पानी पहिरोका कारण बन्द छ। स्थानीय गणेशमान शाक्य भन्छन्, ‘पहिरोका कारण त्यहाँ जान सक्ने स्थिति छैन। पुरानै पानीपँधेरोबाट खाइरहेका छौं।' पुरानो पँधेरो जान भने झन्डै पौने घन्टा हिँड्नुपर्छ। जुन बूढाबूढी मात्र हुनेका लागि कठिन छ।
धेरै घरमा बूढाबूढी र बच्चाबच्ची छन्। त्यसले गर्दा बासको टड्कारो समस्या देखिएको छ। डाँडाको बस्ती रहेकाले एकदमै हावाहुरी र पानी पर्दा समस्या हुने गरेको शाक्य बताउँछन्। ‘त्रिपालकै भरमा कति दिन बस्ने? त्यो पनि गतिला छैनन्। आफैंले किनेर ल्याएका ससाना छन्। हावाहुरी र असिनापानी पर्योक भने सबैको बिजोग हुन्छ।'
खानेकुरा भने सबैले अलि–अलि जोहो गरिसकेका छन्। सरकारी राहतको रुपमा १५ केजी चामल, २ केजी दाल, दालमोठ–चिउरा शनिबार मात्र पुगेको थियो।
सभासद तुलाधरबाट गाउँलेले ठूलो आशा राखेका छन्। तत्कालीन राहतदेखि गाउँको पुनर्निर्माण जिम्मेवारीबाट पन्छन नमिल्ने गाउँलेको माग छ। ‘आफू जन्मेको गाउँलाई उहाँ (सभासद तुलाधर) ले अब नमुना गाउँको रूपमा पुनर्निर्माण गर्नुपर्छ भन्ने हाम्रो माग हो,' गाउँलेको प्रतिनिधित्व गर्दै शाक्य भन्छन्।
राजधानीसँग जोडिएको जिल्ला धादिङ र पृथ्वी राजमार्गको आदमघाटबाट ८ किमि दूरीमा पर्ने कल्लेरी पोखरी गाउँले पुनर्जीवन पाउला? बाटोघाटो, बिजुलीसँगै अन्य विकास निर्माणमा भर्खरै बामे सर्दै गरेको यो डाँडाबाट उत्तरतर्फ हिमशृंखलाका मनोरम दृश्य अनि दक्षिणतर्फ महाभारत पर्वतशृंखला र त्रिशुली नदीको वहाबबाट आनन्द लिन सकिन्थ्यो। पूर्ववडाध्यक्ष समेत रहेका चेतनारायण दाजुसँग गाउँ जाँदा होमेस्टे चलाउने योजना बन्दैथियो। यो योजना पूरा हुनसक्ला त? पक्कै पनि पोखरीगाउँलाई सहयोगी हातहरू आवश्यक छ।

प्रकाशित: २४ वैशाख २०७२ २२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App