सदरमुकाम चौतारा सहर होस् वा विकटको सूर्यकोट गाउँ वा अरु कुनै वस्ती र आवास क्षेत्र अब नाममा मात्रै बचेका छन्। व्यक्ति वा परिवार मात्रै विस्थापित भएका छैनन् सिंगो सहर, गाउँ र वस्ती उजाड भएर पुनर्बास र पुनस्थापनाको पर्खाइमा छन्।
अस्थायी छाप्र्रोको सहारामा कष्टकर दैनिकी गुजारेका हजारौं परिवारलाई मुखैमा आएको झरीयाम–बर्खाको डर छ। ओत लाग्ने छानोको पर्खाइ छ। सामुन्नेको पीडा छँदैछ, थप त्रास भोलीको बर्खा सम्झेर बढेको छ। भएको अन्नपात र धनमाल सबै सखाप भएपछि दैनिक गुजारासम्म टर्ने खाना र अन्नपात छैन। बजारमा आश्रित हुन क्रय शक्ति छैन। लगाउने लुगाफाटा, ओढ्ने ओच्छ्याउनेको उस्तै समस्या छ।
खाने, बस्ने, लागाउने र क्रय शक्तिको मात्रै के कुरा? मानिसहरुको शारीरिक र मानसिक शक्ति नै क्षिण भएको बेला हो यो। पीडितहरुलाई ढंगले शान्तपूर्वक सोँच्न सक्ने र विस्तारै उर्जा जगाएर चलायमान बनाउन उचित वातावरण तयार पार्नुपर्नेछ। सरकार र सरोकारवालाहरुले यतिबेला हिम्मत हार्ने हैन हिम्मत भर्ने समय हो।
मानसिक रुपमा विचलन, अत्यास र शोकबाट पार लगाउँदै विस्थापितहरुलाई पुग्दो आहार र तन्दुरुस्त शरिरिक अवस्थासम्म पुर्याउनु नै यो माहाप्रलयसंग जुध्ने प्रस्थानबिन्दु हुनसक्छ। ढलेका सिपाहीहरुलाई उठाएर मैदानमा उतार्नु नै विजयउन्मुख कदम हुनेछ। त्यसका लागि अहिलेको प्रमुख खाँचो राहत खाना, राहत छाना र राहत नाना नै हो। ढलेका सिपाहीहरुलाई ब्युँझाउने यो नै प्राथमिक ओखती हो। सुगमदेखि दुर्गमसम्म सन्तुलित ढंगले राहत पुग्न सके सबैतिरबाट हिम्मत थपिनेछ।
समस्यालाई अपार देखाएर चेतगुम भएर बस्ने समय छैन। भसक्कै ढलेका घरसँगै च्यापिएर मर्नेहरुलाई हामीले अब फर्काउन सक्दैनौ। तर बिक्षिप्त भएर ढलेका बेसाहरा र विचलित मनहरु उठाउन सकिन्छ, सक्नैपर्छ। मेचीदेखि महाकालीबाट सबैले हौसलाको हात बढाउँदा सिन्धुपाल्चोक मात्रै हैन गोर्खा, धादिङ र भुकम्पले ढलेका विश्वाँसका हाम्रा सबै धरहराहरु उठाउन सकिन्छ।
प्रकाशित: २१ वैशाख २०७२ ००:२२ सोमबार