ब्लग

विमानस्थलमा भारतीय पत्रकार

नेपाली सेनाको ११ नं बाहिनी गेटमा आफ्नो परिचय दिँदै प्रवेश अनुमति मागेँ। गेटमा रहेका सुरक्षाकर्मी करिब आधा दर्जन संख्यामा रहेका भारतीय पत्रकारलाई रोक्न व्यस्त देखिन्थे।
‘तपाईंहरु पनि अनेक बहाना बनाउनुहुन्छ,' ती सैनिक भन्दै थिए, ‘कहिले आफ्ना आफन्त भूकम्पमा परेको त कहिले भारतीय अधिकारीलाई भेट्न जान लागेको।'भारतीय पत्रकार ती सेनालाई थर्काउँदै थिए, ‘कि मलाई भित्र जान दिनू, नत्र हाम्रा देशबाट आएका सेनालाई खबर गर्छौं।'
ती सैनिक पनि कड्किए, ‘भित्रको आदेशबिना प्रवेश दिन मिल्दैन।'
मैले सुनेको थिएँ, ‘एयरपोर्टमा भारतीय सुरक्षाकर्मीले कब्जा नै जमाएका छन्। त्यहाँ नेपाली सेना त निरीह छन् नै, अन्य देशबाट उद्धारका लागि आएका सुरक्षाकर्मीसमेत हैरान छन्।'
यो स्थिति देख्दा मैले सुनेको सत्य रहेछ भन्ने लाग्यो।
भित्र पुग्दा त्यहाँ चौरमा राखिएको टेन्टमा दर्जनभन्दा बढी भारतीय पत्रकार थिए। साथमा थिए, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला।
भारतीय पत्रकार भन्दै थिए, ‘प्रधानमन्त्री सुशील कोइराला विभिन्न जिल्लामा भूकम्पपीडितको निरीक्षणमा जाँदैछन् रे, हामी पनि उनीसँग जान पाउनुपर्छ।' 
उनीहरु प्रधानमन्त्री कुन बेला आउने र कहाँ जाने भन्ने खबर भारतीय सुरक्षाकर्मी र नेपाली सेनासँग बारम्बार सोधिरहेका थिए। नेपाली सेनाका अधिकारी उनीहरुलाई नै जवाफ दिँदै थिए, ‘प्रधानमन्त्री उपत्यका बाहिर जाने खबर हामीले पाएका छैनौं।'
नेपाली सेनाका अधिकारीले मलाई अझ भित्र केही नेपाली पत्रकार रहेको जानकारी गराउँदै भने, ‘तपाईं पनि उहाँहरुसँगै बस्न सक्नुहुन्छ।'
भारतीय पत्रकारको समूहबाट छुट्टिँदै म नेपाली सहकर्मी भएतिर अघि बढेँ। त्यहाँ केही नेपाली पत्रकारसँग दर्जनभन्दा बढी विदेशी पत्रकार थिए। त्यसमा पनि आधाभन्दा बढी भारतीय नै।
उनीहरु भारतीय सेनाको एमआई–१७ मार्फत भूकम्पप्रभावित क्षेत्रमा जान लाइन लागेका रहेछन्।
बिहान सात बजेदेखि पुगेका नेपाली पत्रकार ११ बजेसम्म पनि हेलिकप्टर पर्खिरहेका थिए। राहत सामग्री, विदेशबाट आएका उद्धारकर्मी र केही सञ्चारकर्मी लिएर प्रभावित क्षेत्र जाने हेलिकप्टरको रुटिङ छ।
मलाई भित्र लैजाँदै गर्दा नेपाली सेनाका अधिकारी भन्दै थिए, ‘अस्तिसम्म यहाँ सबै भारतीय पत्रकारको दबदबा थियो। हामीले उनीहरुलाई सम्झाउनसमेत नहुने अवस्था थियो। हिजो र आज तपाईंहरु पनि आउनुभयो, हामीलाई खुसी लागेको छ।'
उनलाई नेपाली पत्रकार देख्दा नै गर्व लागेको जस्तो महसुस हुन्थ्यो।
‘हामीलाई भारतबाट आएकाले त मान्छे नै गन्दैनन्। लाग्छ, उनीहरुकै क्षेत्रमा हामी पुगेका छौं।' उनले भारतीय जहाज र हेलिकप्टर एयरपोर्टमा रहेका कारण अन्य देशबाट सहयोग लिएर आएका जहाजसमेत ल्यान्ड गर्न नसकेको सुनाए। 
भित्र कुरिरहेका पत्रकारलाई पालोअनुसार हेलिकप्टरमा फरकफरक क्षेत्र पुर्याकउन नेपाली सेनाका अधिकारीलाई हम्मेहम्मे भइरहेको थियो।
उनी भारतीय पत्रकारलाई भन्दै थिए, ‘तपाईंहरुका धेरै साथी हामीले पठाइसकेका छौं। आज नेपालका दैनिक पत्रिकाका पत्रकारलाई पठाउने तयारीमा छौं।'
तर भारतीय पत्रकार नेपाली सेनाका अधिकारीसँग भन्दै थिए, ‘हामी आज पनि जसरी नि जान पाउनुपर्छ।'
ती अधिकारीले कान्तिपुरका सरोजराज अधिकारी र म सहित दुई भारतीय पत्रकारलाई दोलखा जाने हेलिकप्टरतर्फ अघि बढ्न आग्रह गरे। 
ती दुई भारतीय पत्रकार हेलिकप्टर चढाउन लैजाँदै गरेका नेपाली सेनाका अधिकारीलाई भन्दै थिए, ‘तिमीहरु हामीलाई मिस बिहेभ गर्दैछौ। हामी नेपाली सेनाले भारतीय पत्रकारलाई रोकेको छ भनेर टिभीमा ब्रेकिङ चलाउन लगाउँछौं।'
भारतीय पत्रकारको यस्ता दबाबबाट आजित नेपाली सेनाका अधिकारी भन्दै थिए, ‘तपार्इंहरु समाचार सम्प्रेषण गर्न स्वतन्त्र हुनुहुन्छ।'
मैले ती सेनाका अधिकारीलाई पत्रकारसँग यस्ता विषयमा बहस नगर्न आग्रह गरेँ। त्यही बेला नजिकै रहेका अर्का सैनिकले भन्दै थिए, ‘तपार्इं आज मात्र यस्तो देख्नुभयो, हामी ६ दिनदेखि यसैगरी भारतीय मिडिया, सुरक्षाकर्मीको चेपुवामा परेका छौं।'
भारतीय सेनाको एमआई–१७ नजिक पुगेपछि भारतीय सुरक्षाकर्मीले हामीलाई भने, ‘तपाईंहरुलाई हामी लैजान सक्दैनौँ। उद्धारकर्मी र सामग्रीले ओभरलोड भइसकेको छ।'
तर त्यसमा ९ जना टर्कीबाट आएका उद्धारकर्मी र एक नेपाली सेनाका अधिकारी मात्र थिए।
नेपाली सेनाका अधिकारीले चार जना पत्रकार लैजान सकिने बताए पनि भारतीय चालकदलका सदस्यले मानेनन्।
त्यसपछि उनीहरुले हामीलाई नजिक नबस्न निर्देशनसमेत दिए।
तर म र कान्तिपुरका सरोजराज अधिकारी त्यहाँबाट पछि हटेनौं। किनकि, हामीलाई नेपाली सेनाले भूकम्पप्रभावित क्षेत्र लैजान बोलाएको थियो।
केहीबेर उभिएपछि भारतीय पत्रकार अर्को हेलिकप्टरमा जाने भन्दै फिर्ता भए तर हामीले त्यो ठाउँ छाडेनौं। त्यसपछि नेपाली सेनाका अधिकारीले हेलिकप्टर चढ्न आग्रह गरे।
‘तपार्इंहरुलाई हामी भूकम्पप्रभावित क्षेत्र लगेर आधा घन्टा छाड्छौं, त्यस समयभित्र रिपोर्टिङ सकिसक्नस्ु, त्यसपछि हामीसँगै ल्याउँछौं,' भारतीय एक अधिकारी भन्दै थिए।
हेलिकप्टर उड्यो र काभ्रेको पाँचखाल पुगेर ल्यान्ड भयो। चालकदलका सदस्यले टर्कीका ६ उद्धारकर्मी र हामी दुई पत्रकारलाई त्यहीँ ओर्लन आग्रह गरे।
पाँचखालमा हेलिकप्टर ल्यान्ड गर्नासाथ भूकम्पपीडितले राहत लिएर आएको भन्दै नजिक आए।
‘हामीलाई राहत बाँड्न आएको होला भनेको त आफ्नै कामले रोकिएको रहेछ,' पाँचखालकी ६० वर्षे पार्वती पौडेलले भनिन्।
उनले दैनिक सयौंको संख्यामा हेलिकप्टर उडे पनि आफ्नो क्षेत्रमा केही पनि राहत आइनपुगेको उनले गुनासो गरिन्। 
आधा घन्टापछि सोही हेलिकप्टर आएर दोलखाको चरिकोटतर्फ लग्यो। त्यहाँ टर्कीका सुरक्षाकर्मी झरेलगत्तै हामीलाई भनियो, ‘तपार्इंहरु पनि झर्ने भए यहीँ झर्नुस् तर हामी अब लिन आउँदैनौं।'
त्यसपछि हामीले सल्लाह गर्यौं , ‘लिन नआउने भए त काठमाडौं नै फिर्ता हुनु राम्रो!'
काठमाडौं फर्किंदा नेपाली सञ्चारकर्मी त्यही हेलिकप्टर पर्खिंदै थिए भने भारतीय पत्रकारको संख्या दोब्बर थियो। 
एयरपोर्टमा भेटिएका नेपाली सेनाका अधिकारी भन्दै थिए, ‘भारतीय हेलिकप्टरको काम अहिले चीनको सीमावर्ती क्षेत्रमा आफ्ना पत्रकार घुमाउनु हो। यसैलाई उनीहरुले सहयोगका रुपमा लिएका छन्।'
उनले सरकारको जानकारी र समन्वयबिना नै यसैगरी भारतीय पत्रकारको टोली रसुवा, सिन्धुपाल्चोक र गोरखाको उत्तरी क्षेत्र पुगेको बताए।

प्रकाशित: १८ वैशाख २०७२ २२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App