ब्लग

पानी रंगको गुच्चा

नागस्थान बजारको एक पसलबाट खाजा खाएर फर्कँदै गर्दा बुधबार दिउँसो गुच्चा भेटाए। गुच्चा नदेखेको थुप्रै भएको थियो। पानी रंगको गुच्चा बाटोमा चम्केको देखेपछि म आकर्षित भइहाले। साथीहरुसँग हिँड्दै गरेको म निहुरिएर उक्त गुच्चालाई उठाएँ। हत्केलामा राखे। गुच्चा त्यही घुम्न थाल्यो। बाल्यकालका यादहरु गुच्चासँगै घुम्न थाले।
बाल्यकालमा गुच्चा निक्कै मन पराउँथे। राता, पहेँला, हरिया र काला गुच्चाहरुमा मेरो रुचि थियो। अरुको हातमा यस्ता गुच्चा देख्दा लोभ लाग्थ्यो। अरुको भन्दा राम्रो गुच्चा नहुनुमा केही कमि महसुस हुन्थ्यो। जसरी आज अरुका चम्कीला सवारी साधन देख्दा हुने गर्छ।
गुच्चा जित्नका लागि दिनभर घाममा समय कटाँएको। गुच्चाको लागि झगडा गरेको। खेल्दै गरेकेा गुच्चालाई साथीको गुच्चाले फुटाइदिँदा मन उसैगरी चर्कने गर्थ्यो, जसरी केही दिनअघि सविधान सभामा कुर्सी टुट्दा चर्केको थियो। आँखी गुच्चा, पिन्चे गुच्चा र ढ्याब्रे गुच्चा त झनै राम्रा। गुच्चा चम्काउन गुच्चालाई मुखमा समेत राख्ने गरिन्थ्यो। गुच्चा अड्कन्छ भन्ने डर त्यतिबेला थिएन। अहिले सम्झदा डर लाग्छ।
Guchaa
कहिले बसीटप्पा, कहिले गावो-दोवो, कहिले होक्र्या्ङ त कहिले लिप लास्ट। गुच्चासँग सम्बन्धित सबै याद ताजा हुन थाले। उतिबेला लिप खेल्दा कसले टपेको भन्नेमा विवाद हुन्थ्यो। टप्नेले पहिला प्रहार गर्न पाउने भएकाले आफ्नो गुच्चा तर्फबाट हेर्दा आफूमाथि जस्तो देखिन्थ्यो। साथीको गुच्चातर्फबाट साथीले हेर्दा उमाथी जस्तो लाग्थ्यो। जब तेस्रो साथीले कसैको पक्ष नलिइ साँचो बोलिदिन्थ्यो। त्यतिबेला हाम्रो खेलमा सहमति हुन्थ्यो। त्यस्तो सहमति अहिलेको नेतामा पनि भैदिए कति राम्रो हुन्थ्यो होला।
कहिले काहीँ एक्लै पनि गुच्चा खेलियो। एउटा गुच्चा आफ्नो र अर्को गुच्चा विपक्षीको मानेर। आफ्नो गुच्चा प्रहार गर्दा होसियारी अपनाइन्थ्यो। विपक्षी मानिएका गुच्चा प्रहार गर्दा लापरबाही गर्थे। जसरी अहिलेका मानिसहरु आफ्नो काममा बढी ध्यान र अरुको कामको लागि कम ध्यान दिने गर्छन्।
गुच्चासँगै हामी हुर्कँदै गयौं। एसएलसीमा केही साथीको अपेक्षा गरेभन्दा कम नम्बर आयो। स्कुलमा मार्कसिट लिन जाँदा सरले साथीलाई गुच्चा निक्कै खेलौजस्तो छ भन्नुभयो। 'सर मैले गुच्चा हैन, गुच्चाले मलाई खेलेजस्तो लागेको छ,' उसले जवाफ फर्काएको थियो। त्यतिबेला समय कटाउन खेल खेलिन्थ्यो। अहिले समयले हामीहरुलाई कटाएजस्तो लाग्दैछ।
हत्केलाको गुच्चा घुम्न छाड्यो। वर्तमान समय सुरु भयो। आज फेरि भेटिएको गुच्चाले खुसी दियो। जसरी बाल्यकालमा दिने गर्थ्यो। नागस्थान बजारमा भेटिएको पानी रंगको यो गुच्चा खेल्नका लागी हैन, अब गुच्चा खेलिएका विगतका समय याद गर्नका लागि प्रयाप्त छ।

प्रकाशित: १४ माघ २०७१ ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App