ब्लग

काठमाडौंको गुफाबाट दोलखा पुग्दा!

काठमाण्डूको होटलमा गुफा बस्या छु। मान्छेलाई प्रत्यक्ष नभेटी, स्थलगत अवलोधन नगरी र परम्परागत सञ्चार सम्पर्क नगरी दोलखालाई कसरी 'एक्सेस' गर्ने? मिडिया गुफामा बोल्न निषेध तर इन्टरनेट मजाले चलाउन पाइने। गुल्मीलाई आधार बनाएर पत्रकारिता गरिरहेको मेरा लागि गुफा निकै रोचक अनि फरक अनुभवको रह्यो। समाचारका सबै मान्यताहरु पूरा गर्नु पर्ने तर स्रोतसँगको प्रत्यक्ष भेटघाट, स्थलगत अवलोकन, टेलिफोन सम्पर्क जस्ता परम्परागत माध्यमहरु छुनै नपाइने। इन्टरनेटको भरमा स्टोरी तयार पार्नुपर्ने।

हुन त गुफा बसाई एक प्रकारको तालिमै हो। तर सबै काम आफैँले गर्नुपर्ने। यद्यपि गुफागुरु धर्म अधिकारी, रजनीश भण्डारी र अनिल गुरुङले सामाजिक सञ्जालबाटै केही सहयोग भने गरिरहेका थिए। अघिल्ला वर्षहरूमा गुफा बसिसकेका अनुभवाबाट त्यहाँको नियमकानून धेरथोर जाकारी भइसकेको थियो। गुफा पस्ने बित्तिकै अघिल्लो बर्ष गुफा पसेका बोमलाल गिरीलाई मेन्सन गरेर एउटा ट्वीट लेखेँ, 'गुफा पसियो सहयोग चाहिन्छ है।' त्यहीबीचमा गुफागुरु अधिकारीले पठाएको इमेल पनि आयो। गुफाको सेडुल र पहिलो दिन गर्नुपर्ने कामहरु लेखिएको इमेलमा केही कुरा नबुझे सोसल मिडियाबाट सम्पर्क गर्नु भनिएको थियो।

इमेलमा हिमाल, पहाड र तराईका एक–एक ओटा न्यूजस्टोरीको चयन गर्नु भनिएको रहेछ। समाचारको बिषय उल्लेख गरेर मात्रै नपुग्ने। त्यो समाचार कसरी तयार पार्ने हो त्यसको आउटलाइन पनि दिनुपर्ने। अनि परेन फर्साद ! न्यूज स्टोरी प्रस्ताव गर्न त म सक्थेँ तर स्रोत यी हुन् भनेर कसरी बताउने ? यसमा पहिले नै गुफा बसेकी बिनु सुबेदी र पोखराका नागरिककर्मी सन्तोष पोखरेलले सघाए।

५ जनाले छानेका १५ मध्ये ५ स्टोरीमा काम गर्नुपर्ने थियो। साँझ खुल्ला भोटिङ भयो। सबै त्यसमा मेरो मनाङको स्टोरी पनि पर्‍यो। तर पछि अरु साथीहरुका पनि मौसमी तथा पर्यटकीय स्टोरी परेपछि मेरो स्टोरी सल्लाहले हट्यो। अनि हरुवा स्टोरीहरुमा पनि काम गर्नुपर्ने भयो। चिठ्ठा थुत्दा मलाई अरुले रोजेको स्टोरी पर्‍यो— दोलखामा सहकारीले ल्याएको परिवर्तन।

अब गुफाबाट दोलखा पुग्ने सम्पूर्ण जुक्तिहरू प्रयोग गर्नुपर्ने थियो। गुफागुरु अधिकारीले दोस्रो पटक इमेल पठाए, त्यसमा उक्त स्टोरीमा समावेश हुनुपर्ने बिषयहरु उल्लेख गरिएको थियो। दोस्रो दिनबाटै सुरू भयो दोलखा 'एक्सेस' गर्ने काम। कस्तो छ दोलखा? कस्ता छन् त्यहाँका सहकारीहरु? काठमाडौंको होटल मण्डपबाट इन्टरनेटको सहाराले नियाल्न थालेँ दोलखा पेरिफेरि। फेसबुक स्ट्याट्स लेखेँ, 'दोलखा बासीलाई भेट्न चाहान्छु।' नागरिकको सेक्रेट ग्रुपमा पनि उल्लेख गरेँ। ट्वीट गरेँ।

 रिपब्लिकाका कोशराज कोइरालाले दोलखाका नागरिककर्मी रमेश खतिवडालाई सम्पर्क गर्न सुझाए। खतिवडासँग सम्पर्क हुनै सकेन। त्यसैमा अर्का नागरिककर्मी मधुसुधन गुरागाईँले सहकारीको बारेमा बुझ्न नेफ्स्कुयुनका उपाध्यक्ष डिबी बस्नेतको बारे सुझाए। बस्नेतलाई फेसबुकमा रिक्वेस्ट पठाएको उनी कता हुन् कता। दोस्रो दिन बल्ल जेनतेन फेसुक कुराकानी भयो। अरू केही सुझाव आएन ।

गाउँले पत्रकार दाजु दीपेन्द्र कुँवर फेसबुकमा झुल्किए।

'भाई कता?'

'म गुफामा छु दाजु।'

'त्यो त मलाई थाहा छ भाई।'

'मलाई दोलखाको सहकारीहरुको स्टोरी गर्नुपर्ने छ, कोही छ चिनेको ?'

कुँवरले दोलखाका पत्रकार सुफल काफ्ले र एक जना सहकारीमै कामगर्ने सुमित खड्काको बारेमा जानाकरी गराए। खड्कासँग कुरा राखेँ। उनले काठमाडौंमै भएकोले भेट्न बोलाए। गुफाबाट बाहिर निस्किन पाए पो भेट्नु! बाध्यता बुझाएपछि फेसबुकमै कुरा गर्न राजी भए। काफ्लेलाई ट्वीटमा मेन्सन गरेँ। उनले केही मान्छेहरुको नाम सिफारीस गरे। कोही पनि सम्पर्कमा नआएपछि फेरि उनकै सहयोग मागेँ, उनले आफ्नाभाई सुदिपलाई फेसबुकमै भेट्न भने।

सुदिपसँग नेटवर्कको कारण सम्पर्क नै हुन सकेन्। शायद दाई पत्रकार भएर होला दोस्रो दिन उनले भरपुर सहयोग गरे । मैले भेट्नु धेरैलाई थियो।

अब एउटा नयाँ जुक्ति आयो। फेसबुकको सर्च बक्समा दोलखा टाईप गरेर सर्च गरेँ। त्यहाँ दोलखाका केही ग्रुप र पेजहरु भेटिए। मैले ती ग्रुपमा भएका र पेज लाइक गर्नेहरुलाई भटाभट फेसबुकमै रिक्वेस्ट पठाएँ। केहिले एसेप्ट गरे, केहिले गरेनन्, केहिले अहिले गर्दैछन्। ५ मिनट अनलाइन झुल्कने २ घण्टा गायब हुने रोग सबैमा देखियो। यसले काठमाडौं बाहिरको इन्टरनेट सेवा कति सुस्त छ भन्ने कुरा बुझाउथ्यो।

दोलखामा दुई वटा सहकारीमा आबद्ध नबिन कुमार खतिवडासँग स्काईमा कुरा पनि भयो। पछि थाहा पाएँ गुफा बसेकामध्ये भोइसओभर एप्स स्काइप र भाइबर दुवैमा समाचार स्रोत भेट्टाउने म एक्लै भएको रहेछु। यसमा स्टोरी प्रस्ताव गरेरका दोलखाका शेरबहादुर भुजेलले पनि केही सहयोग गरे। अब मैले सहकारीबारे नेपालका विज्ञहरु, नीति नियम, अन्तरार्ष्ट्रिय मान्यता र रिसर्च पेपरहरुको खोजी गर्न थालेँ। डाटाहरु भेरिफाई गर्न थालेँ ।

दोस्रो दिनको साँझबाट स्टोरीले लाइन समाति सकेकोले अरु मान्छेहरुलाई भेट्न धेरै गाह्रो भएन। पछि नेताहरुसँग फेसबुकमै कुरा भयो। २२ भदौको दिउँसो २ बजेतिर दोलखाका भुजेल र मैले लगभग स्टोरी तयार पार्‍यौं। एक पटक पनि दोलखा नपुगी र मान्छेहरु नभेटी दोलखाको स्टोरी तयार भयो। आजसम्म समाचार तयार पार्न प्रयोग गरिने विधिभन्दा भिन्नै सोसल मिडियाबाट समाचार तयार भयो। मन निकै हल्का भयो। प्रशन्न पनि।

अनलाइन र टिभीमा अन्दाधुन्दा ब्रेकिङन्यूज आइरहेका बेला गुफा बसाइले समाचार सम्प्रेषणमा धैर्यताको पाठ सिकाएको छ। इन्टरनेटमा सूचना बग्रेल्ती छन् तर त्यसो भन्दैमा तिनलाई गीता वा बाइबल जस्तो विश्वास गरिहाल्नु हुँदैन। पत्रकारले त्यसको भेरिफिकेसन गर्नुपर्छ भन्ने कुरो अलिअलि भए पनि बुझाएको छ।

प्रकाशित: ३ आश्विन २०७१ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App