ब्लग

तीजमा माइत आउने फुपूको तयारी

फेरि पनि आयो तीज खुसियाली बोकेर,
कति बसुँ मनको रहर मनमै रोकेर।
सबै चेली जम्मा भै तीजका गीत गाउने हो,
यसपालिको तीजमा रातो सारी लाउने हो।

मनसुनसँगै हरियाली मौसममा बर्सेनि आउने तीज नेपाली महिलाको जीवनमा पनि हरियालीजस्तै उमंग ल्याउने एउटा सुन्दर पर्व हो। माथि उल्लिखित तीजे गीतले पनि संकेत गर्छ कि तीज बिल्कुल महिलाका लागि आफ्ना माइतीसँग जोडिएको पारिवारिक पर्व हो। हामी सानै हुँदा फुपू तीजमा आउने कुरा हजुरआमाले तीज सुरु हुनु १५ दिनअगाडि नै सुनाउनुहुन्थ्यो कथाझैँ। त्यतिबेला खास कुरा बुझिन्थ्यो तर फुपू आउँदा भदाभदैलाई आफ्नो घरतिर पाउने चिज र चकलेट ल्याएर बाँड्नुहुन्थ्यो, त्यसै रमाइलो हुन्थ्यो। अनि हजुरआमाले वर्षभरिका फुपूका क्रियाकलाप घर खान गाह्रो–सजिलो कुरा सोध्नुहुन्थ्यो। हामी आधाउधी कुरो बुझेझैँ गरेर हास्थ्यौँ र सोध्थ्यौँ– हजुरआमा, घर पनि खाने कुरा हो र ?

हजुरआमा भन्नुहुन्थ्यो– खोइ, तिमीहरूको समय कस्तो आउने हो। तेरी फुपूले त सकसले घर खाएकी छ बाबै। अनि फुपू सुनाउँदै जानुहुन्थ्यो– ‘सात दिन अगाडिदेखि घाँस काटेर खात लगाएर आएकी छु, पञ्चमीको भोलिपल्टसम्म जति खुवाए पनि पुग्छ, वस्तुभाउलाई। पानी बोकेर गोठका गाग्री ताउलो समेत भरिदिएकी छु, कसैले कुँडो पकाएर खान दिए वस्तुभाउ मर्दैनन्। धान कुटेर तीन बोरा चामल केलाएर राख्देकी छु। कालो मसिनो र अनदीका चामल कुटेर केलाएर, घिउ सँगालेर राखिदिएकी छु घरकालाई। आमाजू आउँदा दर खान र आफ्नो घर कोसेली लैजान पुग्छ। सेल पकाएर छाडिदिएकी छु, बोकेर जालिन् नि, भान्जाभान्जीलाई कोसेली। छोराछोरीलाई यसपटक सँगै ल्याउन दिएनन्, म दुई–चार दिन बढी बस्छु कि भनेर।’

फुपू सुनाउँदै जानुहुन्थ्यो– ‘सात दिन अगाडिदेखि घाँस काटेर खात लगाएर आएकी छु, पञ्चमीको भोलिपल्टसम्म जति खुवाए पनि पुग्छ, वस्तुभाउलाई। पानी बोकेर गोठका गाग्री ताउलो समेत भरिदिएकी छु, कसैले कुँडो पकाएर खान दिए वस्तुभाउ मर्दैनन्।

हजुरआमा दर पकाउने, फुपू छेउमा बसेर यस्तै भलाकुसारी गरेको धमिलो याद आज पनि आउँछ। त्यतिबेलाका फुपूहरूलाई माइती आउने तयारीका लागि झन्डै १५ दिनदेखि घरका सबै कामको जोहो मिलाएर आउनुपर्ने रहेछ।

फुपू र हजुरआमाको संवाद सकिन पाएकै छैन, यता पल्लो घरका फुपूहरू आइसके हाम्रो आँगनमा तीजे भाका गाउँदै। मेरी आमाले ८–१० वटा गुन्द्री पिँढीमा र आँगनका डिलमा ओछ्याउन थाल्नुभयो। सबै चेलीहरू गाउन थाले, कोही नाच्न। मानौँ ती भाका अन्तर हृदयबाट निस्केका थिए। कसैले सासुले दिएको दुःख, कसैले कृषि कर्मको कष्ट, कसैले भगवान्को आराधना त कसैले माइती सम्झेरै घर बसेको वेदना पोख्थे। अहो, ती रचना तत्कालै सिर्जित हुन् कि वर्ष दिनभरिका अव्यक्त भावना ! अहिले स्मरण गर्दा एउटा सिर्जनात्मक शैलीसँगै जीवनशैली अभिव्यक्त भएको महसुस हुन्छ। कसैले आफ्नो रातो पहिरन, टीका, चुरा पोतेको वर्णन गरेका त कसैले श्रीमान्को आयु र स्वास्थ्यको कामना गरेका हुन्थे। अहो, तीज वेदनाको अभिव्यक्ति मात्र कहाँ हो र महिलाको सुहागन, प्रार्थना, प्रेम र शुभेच्छा पनि समेट्दो पो रैछ। महिलाको असीमित सुन्दरताको वर्णन नृत्य र गीतको माध्यमबाट प्रस्तुत हुँदो रहेछ। महिलाले आफ्नो परिवारको सुख, स्वास्थ्य र दीर्घायुको कामनास्वरूप आफ्ना प्रेमका अभिव्यक्ति प्रस्तुत गर्ने समय पनि रैछ। 

विवाहित महिलाको सौभाग्य रातो सारी, झिलिमिली चुरापोते, निधारमा टीका, गलामा तिलहरी तीजले झल्काउँदो रहेछ। वर्ष दिनमा आउने यो पर्वले त आफ्नै निजतामा रमाउन धेरै हौसला पो दिँदो रहेछ। आफ्ना चेलीले लगाएको, खाएको, गाएको, नाचेको देखेर माइती अनि दाजुभाइ रमाउने र उनीहरूको खुसीमा साथ दिने कस्तो पारिवारिक सौहार्दता ! तर, अहिले आएर यसको मर्म तोडमोड भएको त होइन भन्ने भान हुन्छ। त्यसो त, परिवर्तन हुँदै गएको समय र विकास पद्घतिले जीवनशैली र व्यवहारमा आएको सुखद परिणाम र सकारात्मक सोच अनि महिलाको गृहस्थीमा आएको सुधारका पक्ष पनि त्यति नै सहज छन्। तैपनि, भड्पकलोपना, आफ्नो मौलिकताको घेराबाट बाहिर निस्केर छुट्टै पहिचान बनाउने होडबाजीले गर्दा आज हामीले भावनात्मक प्रेम र वास्तविक धरातल भुल्दै गएका हौँ कि भन्ने चिन्ताको विषय पनि देखिन्छ।

चेलीबेटीबीचको भावनात्मक सम्बन्ध

महिलाले महिलासँगै, आफ्ना चेलीबेटीसँगै, आफ्ना दिदीबहिनीसँगै आफ्नो भावना पोख्ने पर्व हो तीज। त्यसैले माइती घर मात्र त्यो स्थान हो, जहाँ महिलाले निर्धक्क भएर आफ्ना भावना पोख्न सक्छन्, त्यसैले त खुलेर अनुरोध गर्छन् माइत जाने बिदा माग्दै आफ्ना श्रीमान्सँग–

धेरै भो माइत नगाको स्वामी ज्यू,
अहिले दिल खोलेर नाच्ने मन छ।
चाँदीका पाउजु, सुनका झुम्का,
लाएर कम्मर भाच्ने मन छ।

महिलालाई जन्मनै प्रकृतिले सुन्दर दिएको छ। महिलामा भएको आन्तरिक सुन्दरता कुनै चिजसँग तुलना गर्न सकिँदैन। महिलाको कोमल हृदय, सहनशीलता, मृदुभाषी स्वभावलाई जुनसुकै उपमा दिए पनि कम हुन्छ। भनिन्छ नि महिला पृथ्वी हुन्। जेजस्तो परिस्थिति आए पनि स्वीकार गर्नसक्ने, अनि सकारात्मक भएर हेर्ने र सोच्ने बानी महिला गुण हुन्। मातृत्व शब्द मात्रै पनि आफैँमा गहन र सुन्दर छ। विशेषगरी आफ्नो परिवारको मंगलकामना र आफ्नो सौभाग्यप्रति अहोभावपूर्ण भएर प्रस्तुत हुनु नै महिलाका लागि तीजको मुख्य महत्वको विषय हो। शौभाग्यपूर्ण हुनु, सुहागनले भरिनु महिला विशेषता हो। त्यसमा पनि तीजको भाकामा महिला आफ्नो शौभाग्यको यसरी वर्णन गर्छिन्–

चिटिक्कै भाछु रे पोते र चुराले
मै दंग परें, मै छक्क परें संगीका कुराले।

महिलालाई आफ्नो परिवारको सुखभन्दा ठूलो सुख केही हुँदैछ। महिलालाई कुनै संसार जित्नु छैन। आफ्नो सुन्दर परिवारमा सुख, शान्ति भयो भने त्यसैमा दंग हुन्छिन्। त्यसैले त तीजकै भाकामा गाउँछिन्–

तीजको व्रत बस्छु म त खान्न पानी पनि,
वर माग्छु स्वामीज्यूलाई केही नहोस् भनी।
मै राम्री भएको तिम्रै लागि हो,
मै मन्दिर गएको तिम्रै लागि हो।

समाजको यथार्थता, आफ्ना पीडा, सुखदुःखका अनुभूति, अनुरोधका भाका आदि प्रस्फुटन हुन्छन् महिलाको हृदयबाट तीजे भाकामा। त्यसो त, संगीतले जोकोहीलाई आकर्षित गर्छ। नाचगानले मानिसभित्र रहेको विकारलाई बाहिर फालिदिन्छ। आत्माशुद्धीकरण गर्नमा अरु सहयोग गर्छ, त्यसैले पनि गीत–संगीत बज्नासाथ महिलाहरू झुम्न तत्पर हुन्छन्। त्यही कारण हो, अरु रचनात्मक, बौद्धिक कार्यक्रममा भन्दा तीज पर्वमा महिलाको बढी सहभागिता रहने र रौनताका थपिने। तर आजकल महिलाकै बहानामा आयोजना हुने सांगीतिक कार्यक्रम, तीजको दरले भने हाम्रो पुरानो संस्कृति र तीजको मौलिकतालाई जगेर्ना गर्न सकेको देखिँदैन। आजकल त झन् तीज पर्वका अवसरमा हुने अधिकांश क्रियाकलापमा पुरुष सहभागिता पनि अनिवार्य जस्तो वा बढ्दो छ। 

तीजमा गाइने गीतदेखि नाच्ने र दरखाने जस्ता कार्यक्रममा पुरुषको सहभागिता पनि बढ्दो छ। तीजलाई पारिवारिकभन्दा पनि मनोरञ्जनात्मक पर्वको रूपमा मनाइँदै छ। हाम्रो धर्म–संस्कृति, आस्था र अनुशासन बाँकी रहे मात्र हाम्रा सन्तानले सही संस्कार सिक्न सक्ने हुँदा अबको पुस्ताका लागि हामी के संस्कार छाड्न चाहन्छौँ, त्यसमा हाम्रो ध्यान जान जरुरी हुन्छ।

प्रकाशित: २४ भाद्र २०७८ १०:०२ बिहीबार