शहीद दशरथचन्दको पुख्र्यौली थलो भनेरचिनिने सुदूरपश्चिमका जिल्लामध्ये बैतडी पनि एक हो। यहाकोे कुल जनसङ्ख्या २५०८८९ छ। जसमध्ये ५०७८६ दलित छन्। यो प्रतिशत झण्डै २२ पुग्छ। यस जिल्लामा रुढीवादी परम्पराले गर्दा जातीय विभेद, महिला हिंसा, भूमिहीन सुकुमबासी, हलिया जस्ता कुप्रथा विद्यमान छन्। जसको सबै भन्दा बढी मार दलित समुदायमाथि पर्दै आएको छ।
यसरी विभिन्न समस्याको जाँतोबाट थिचिएका यहाँका खासगरी दलित समुदाय मुलुकमा बढ्दो कोरोना कहरका कारण थप चपेटामा परेका छन्। जसले उनीहरूको जीविकोपार्जन सङ्कटको भूमरीतर्फ धकेलिदिएको छ।उसै त दलित समुदाय भूमिहीन छन्। त्यसमाथि जीविकोपार्जनका माध्यमहरू कोरोनाकै कारण खल्बलिँदा उनीहरू रन्थनिनु स्वाभाविक हो। जसले सुदूरपश्चिमका दलित समुदायलाई थप गरिबीमा पर्न बाध्य तुल्याएको छ।
युवा तारा महर गाउँमैगरिने ज्याला मजदूरीले परिवार पाल्न नसकेपछि रोजगारी खोज्न भारत छिरेका थिए। कोरोनाकै कारण त्यहाँ काम पाउने अवस्था भएन।त्यसपछि गाउँ त फर्के तर काम पाएनन्। यही कारण उनको ७ जनाको परिवार बिहान/बेलुकाको छाक टार्नै समस्यामा छ। ‘पाए त काम गर्थेँ नि, कामै छैन के गर्नु ?’– उनी भावविह्वल हुँदै भन्छन्।कोरोना महामारीका कारण भारतमा रोजगारी गुमाउन बाध्य भएका र जिल्ला फर्केर बेरोजगार बनेकाको सङ्ख्या बैतडीमा मात्र १३,६४२ छ।जसले कोरोनाले कसरी निमुखालाई गरिबीतिर धकेलिरहेको छ भन्ने पुष्टि गर्छ।
काम नभएपछि आम्दानी नहुनु स्वाभाविक हो। आम्दानी नभएपछि खान नपाइनु पनि उत्तिकै सत्य हो। आम्दानी अभावमा खानपिनमात्र प्रभावित हुँदैन। शिक्षा, स्वास्थ्य, मनोरञ्जन जस्ता मानवका अत्यावश्यक आवश्यकता परिपूर्ति पनि सङ्कटमा पर्छ। अहिले सुदूरपश्चिमका बासिन्दा यी सबै समस्याको गुजुल्टोमा बेरिन बाध्य भएका छन्।
खास गरी भातभान्साको काम महिलासँग प्रत्यक्ष सम्बन्धित हुने भएकाले अन्य समस्या जस्तै बढ्दो भोकको सामना गर्न महिलाले बढी सङ्घर्ष गर्नुपरेको तीतो यथार्थ पनि छ। पुरुषहरू केही काम पाइहालिन्छ कि भनेर टाढा टाढासम्म जाने तथा महिलाहरू घरमै बस्ने भएकाले पनि खानपिनको समस्या महिलासँगै बढी सम्बन्धित हुन्छ। घरमा रहेका ज्येष्ठ नागरिक, बालबच्चा आदिको पेट जसरी पनि भर्नुपर्ने बाध्यता पनि उनीहरूमाथि नै आइलागेको छ।जसलाई यस क्षेत्रका महिलाले सामना गर्न बाध्य हुनुपरेको छ।
आफूसँग कमाइखाने जग्गा छैन। एकातिर सरकारी जागिर पाउने सम्भावनै कम छ भने अर्कोतर्फ कुनै अवसर आइहाले पनित्यसका लागि माग गरिएकोशैक्षिक योग्यता तगारो बन्ने गरेको छ। औषधोपचारका लागि आर्थिक समस्या भएकाले रोग पालिरहनुको विकल्प छैन।कतिपयले त यही कारण ज्यानै गुमाएका पनि छन्।तर पनि उनीहरूले विकल्प भने भेट्न सकिरहेका छैनन्।
बैतडी भारतसँग जोडिएको जिल्ला हो। त्यसैले मजदूरी गर्न यहाँका अधिकांश दलित समुदायका युवा भारतको दिल्लीलगायतका सहरहरूमा जान्छन्। बढ्दो कोरोना कहरसँगै भारतमापटक–पटक लकडाउन घोषणा गरिएपछि त्यहाँकोव्यापार, कलकारखाना बन्द हुन पुगे। जसका कारण नेपालीले गरिरहेका काम पनि गुम्यो।सवारी साधनसमेत नचल्दा कैयौँ मानिस १०–१५ दिन लगाएर हिँडेरैसमेत नेपाल फर्किए। त्यो पनि भोक–भोकै।
यसरी बल्ल बल्ल आफ्नो घर आइपुगेपछि पनि उनीहरू ढुक्कसँग बस्न पाएनन्। कोरोना महामारी क्षेत्रबाट फर्केका कारण उनीहरू केही साता परिवार वा अन्य व्यक्तिसँग घुलमिल नभइ बस्नुपथ्र्यो। यसका लागि सुरक्षित बस्न सक्ने छुट्टै बासस्थान आवश्यक पथ्र्यो।
तर बैतडीको दलित समुदायमा गरिबी यति छ कि अधिकांशको छुट्टै घरसमेत छैन। एउटै घरमा थुप्रै परिवार बस्नुपर्ने बाध्यता छ। त्यही कारण उनीहरू आइसोलेसनमा बस्नुपर्ने थाहा भए पनि एउटै घरमा, सबैसँग घुलमिल भएर बस्नैपर्ने बाध्यतामा परे। परिणाम–कोरोना सङ्क्रमण परिवार हुँदै सिङ्गै समाजमा विस्तार हुन पुग्यो।जुन उनीहरूको रहर नभएर बाध्यता थियो।
एकातिर कोरोना सङ्क्रमण बढेको बढ्यै अर्कोतर्फ आम्दानी अभावमा खानपिन र स्वास्थ्योपचार गर्न सक्ने अवस्था रहेन। जिल्लामा लकडाउन भएकाले सबै कामधन्दा ठप्प हुँदा कमाउने बाटो पनि बन्द। लेबरी गर्न नपाएर पेटभर खान सक्ने अवस्था छैन। सुरक्षित बस्ने घर छैन। हात धुने साबुन कहाँबाट किन्ने ? सरसफाइ गर्न पानीसमेत छैन। यो अवस्थामा कसरी गरिबहरू सुरक्षित रहन सक्छन् ?
गाउँका प्रायः युवा बेरोजगार। आम्दानी नभएपछि ऋण पनि कसले पत्याउने ? त्यसैले रोगले भन्दा पनि भोकले मर्ने डर भएको सुनाउँछन् यहाँका युवा। दिनभर बेरोजगार बस्दा दिमागमा नकारात्मक सोचमात्र सिर्जना हुने र त्यसले तनाव निम्तने अनुभव थुप्रै युवाका छन्।कतिपय त यही कारण विभिन्न अवाञ्छित घटनामा संलग्न हुने अवस्थासमेतसिर्जना भएको देखिन्छ।‘भारतबाट रोजगारी गुमाएर आयौँ। यहाँ आएपछि न काम पाएका छौँ न त खानै। कसरी परिवार पाल्ने? हाम्रा लागि न कुनै सरकार छ न त कुनै सहयोगी नै’–४ वाक्यमै आफ्ना सारा दुखेसो पोख्छन् करन दयाल।
कोरोना सङ्क्रमितमध्ये पनिअनाथ,अपाङ्गता भएका, एकल र दलितको अवस्था निकै दयनीय छ। न उनीहरू आफैँ उपचार गर्न सक्ने अवस्थामा छन् न त गरिदिने अरू कोही नै।त्यसैले उपचार अभावमै ज्यान फाल्नुपर्ने यहाँका बासिन्दाको नियति नै बनेको छ। अवस्था यतिसम्म चिन्ताजनक छ कि यहाँका गरिब समुदायले जिउँदोमा मात्र हैन, मरेपछि पनि दुःख पाइरहन्छन् अर्थात स्थानीय सरकारले चिहानको व्यवस्थापन गर्न नसक्दा मृत्युपश्चात पनि ३–४ दिनसम्म अस्पतालकै बेडमा रहनुपर्ने बाध्यता छ। जसका कारण मृत्युपश्चातको संस्कार गर्नबाट समेत उनीहरू वञ्चित छन्।
हुन त सरकारले कोरोनाबाट सर्वसाधारणलाई बचाउन करोडौँ रुपियाँ खर्च गर्दै आएको समाचार सार्वजनिक भएका छन्। चाहे त्यो खाद्यान्न राहतमा होस् वा आइसोलेसन व्यवस्थापन र खोप आदिमा होस्। तर बैतडीका दुर्गम ठाउँसम्म यस्ता सहयोगको मुखै देख्न पाइएको छैन।
उनीहरूले सेनिटाइजर, माक्स आदि सुनेका त छन् प्रयोग गर्न भने पाएका छैनन्।यस्तो अवस्थामा सरकारले सञ्चार माध्यममार्फत अनुरोध गर्ने स्वास्थ्यका मापदण्ड अपनाएर घरमै बस्ने हो भने भोकले मर्नुपर्ने अवस्था भएकोएकल महिला पार्वती लोहार बताउँछिन्। उनको भनाइमा यही कारण आफूहरूका लागि रोग भन्दा पनि भोकबाट मुक्ति प्राथमिकताको विषय हो।
आजसम्म स्थानीय सरकारले कुनै किसिमको खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरेको छैन। अनाथ रीना लुहार भन्छिन्– बुबा÷आमाको मृत्यु भइसक्यो। ४ भाइ/बैनीलाई ढुङ्गा÷माटो बोकेर खाने मेसो मिलाउन बाध्य छु।कोरोनापछि भने निर्माण कार्यहरू बन्द हुँदा त्यही ढुङ्गा बोक्ने काम पनि नपाउँदा खानै नपाउने स्थिति सिर्जना भएको छ।
राहत पाइन्छ कि भनेर स्थानीय सरकारको घर÷दैलो चाहार्नेहरू पनि भेटिन्छन् जिल्लामा। कहिले स्थानीय सरकारको कार्यालयमा त कहिले जनप्रतिनिधिको घरमा, अनि कहिलेचाहिँ अधिकारकर्मी हौँ भन्नेका घरमा समेत पुगेर अनुरोध गर्दासमेत कसैले केही सहयोग नगरेको पीडा सुनाउँछिन्–७०वर्षीयाजयडी तिर्वा।कति दिन त आधा पेटमै चित्त बुझाउनुपरेको गुनासो पनि छ उनीसँग।
अलि अलि जग्गा हुने किसानले तरकारी लगाएका छन्तरलकडाउनका कारण बजार बन्द छ। उत्पादित तरकारी बिक्रीहुँदैन। अधिया कमाएको जमिनमा पनि लगानी गर्न सकिने अवस्था छैन। बन्दाबन्दीका कारण मौसमअनुसारका बिउ, मल आदि पाइन्न। पाइहाले पनि महँगो छ। तत्काललाई खान नभएका बेला यी सामग्रीलाई महँगो पैसा हाल्ने हैसियत यी कृषि मजदूरको छैन। साना कृषक केशव लुहार भन्छन्–यस्तो अवस्थामा कोरोना सङ्क्रमणबाट बच्न पौष्टिक कुरा खानुपर्ने सुझाव हाम्रा लागि हाँस उठ्ने विषयमात्र हुने गर्छ। दिनमा एक छाक त कसरी पेटभरौँ भन्ने समस्या उब्जेका बेला कसरी पोसिला कुरा खाने ?– सल्लाह दिनेलाई उल्टै सोध्छिन्एकल महिला लीला भुल।
नेपाल कृषिप्रधान देश भएकामा शङ्कै छैन। प्रायः कृषिमै निर्भर छन्। तर सरकारी नीति र व्यवहार भने साना किसानमैत्री नहुँदा कृषि आकर्षक पेसा बन्न सकेको छैन। खासमा गरिब किसानको योग्यता भनेकै खेतीगर्ने, हलो जोत्ने हो। तरयसका लागि अनिवार्य आवश्यकता मानिने खेती गर्ने जमिन नै छैन उनीहरूसँग। अनि यस्तो अवस्था भोगिरहेका किसानलाई माटोसँग खेल्नै अवरोध सिर्जना गरिएपछि कसरी सुरक्षित हुन सक्छन् उनीहरू ?
समस्याको प्रश्नमात्र हैन, समाधानको उत्तर पनि छ हामीसँग।यस्तो महामारीका बेला सरकारले साँच्चै पीडा भोगिरहेका सीमान्त किसानका लागिविशेष राहत प्याकेज ल्याउनुपर्छ।कृषिमा आधारित तत्कालीन र दीर्घकालीन रोजगारीका अवसर निर्माण गर्नुपर्छ। केही वर्षपछि नतिजा देखिने कार्यक्रहरूको निरन्तरता त छ नै, तत्कालका लागि उनीहरूले भोगिरहेका समस्याबाट कार्ययोजना बनाइ मुक्ति दिलाउनु जरुरी छ। यसका लागि सबै भन्दा मुख्य भूमिकाचाहिँ स्थानीय सरकारकै हुनुपर्छ। (लेखिका बैतडीकी बासिन्दा हुन्)
प्रकाशित: ३० जेष्ठ २०७८ ०९:३४ आइतबार