ब्लग

सिलिण्डरमा रित्तिएको मानवता

सूचना निकालेरै सेवा दिन नसक्ने घोषणा गरेका अस्पतालका नाममा. . .

कोरोना संक्रमणको तथ्यांकले स्थिति भयावह बन्दै गरेको संकेत गरिरहेको छ। देशका अधिकांश ठाउँहरुलाई नयाँ भेरियन्टको कोरोनाले गिजोल्दै छ। मानिसहरु आक्रान्त बनिरहेका छन्।

‘कथंकदाचित बिरामी भइहाल्यो भने के गर्ने?’ भन्ने प्रश्न प्रत्येक निरोगी मानिसको मानसपटलमा घुमिरहेको छ। कोभिड–१९ को चपेटामा परिरहेका संक्रमितहरु अस्पतालका बेडमा मात्र हैन, अस्पतालको आँगनमा पनि छट्पटिरहेका छन्। उनीहरु बाँच्नका लागि अत्यावश्यक प्राणवायु अर्थात् अक्सिजन मागिरहेका छन्, तर अक्सिजनले भरिएका सिलिण्डरहरु रित्तिँदै गइरहेका छन्।

अक्सिजनको अभावको मौका छोपी केही निजी अस्पतालहरुले अक्सिजन छैन, त्यही भएर उपचार गर्न सक्तैनौं भनी उद्घोष गरे, नत्र ‘बिरामी अझ भनौ लास बनिसकेकालाई’ नगद आउने मुहान बनाउने सीपमा निपूण अस्पतालले हठात् किन यस्तो ‘अकल्पनीय’ निर्णय लिन्थ्यो र!

स्थिति भयावह बनिरहेको छ। यस्तो अवस्थामा सहारा बन्ने गरेको अस्पतालहरुले अक्सिजन ग्यासको अभाव भएको कारण देखाउँदै थप कोरोना संक्रमितलाई उपचार गर्न नसक्ने जनाउन थालेका छन्।

शनिबारबाट सुरु भएको यो क्रममा आइतबारसम्म आधा दर्जन अस्पतालहरुले कोरोना संक्रमितको उपचार गर्न असमर्थ भएको बताइ सकेका छन्। सूचना प्रकाशन गरेर नयाँ कोरोना संक्रमितको उपचार गर्न नसक्ने जनाएका अस्पतालहरुको सूचीमा मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्री अस्पताल, दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर, हेल्पिङ हेण्डस् सामुदायिक अस्पताल, गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर रहेका छन्। सम्भवतः यो क्रम थपिँदै जानेमा सन्देह छैन, किनकि अक्सिजन अभावको ग्राफ उँचो बनिरहेको छ।

अस्पतालहरु : बिरामीका सहारा केन्द्र, नयाँ जीवन, नयाँ आशा, नयाँ उर्जादायक। तर, कोभिडको यत्रो महामारीको समयमा भने केही अस्पतालहरुले हात उठाए, हामी सक्तैनौं भनेर। यो स्थिति आउनु हरेक हिसाबले विडम्वनाको कुरा हो। केही दिनअघि भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचाररत ‘एक बिरामीले अस्पतालमा रहेको अक्सिजन सकिएको कारण ज्यान गुमाएको’ थियो। अक्सिजन नपाएकै कारण ज्यान गुमाएपछि अस्पताल विभिन्न हिसाबले ‘दोषी’ ठहर भयो। सम्बन्धित निकायले ‘कारबाही’ सम्म गर्ने निर्णय गर्यो। अक्सिजन अभावकै कारण अस्पतालको ‘बद्नाम’ भयो। निःसन्देह, ‘बद्नामी’ को टीका लगाउन को चाहन्छ? यसैले अहिले अक्सिजनको अभावको मौका छोपी केही निजी अस्पतालहरुले अक्सिजन छैन, त्यही भएर उपचार गर्न सक्तैनौं भनी उद्घोष गरे, नत्र, ‘बिरामी अझ भनौ लास बनिसकेकालाई’ नगद आउने मुहान बनाउने सीपमा निपूण अस्पतालले हठात् किन यस्तो ‘अकल्पनीय’ निर्णय लिन्थ्यो र!

यतिमात्र हैन, स्वभावतः निजी अस्पतालहरु सर्वसाधारणका लागि खोलिएका हुँदैनन् पनि। निजी अस्पतालहरुको प्रकृति पैसा नभएकालाई उपचार गराउने हुँदो हो त, आज यस्तो निर्णय कहाँ हुन्थ्यो र? यस्तो खाले निर्णय गर्नुका पछाडि ‘अक्सिजन लुकाउने रोग’ र चाहिएको बेला अक्सिजन ‘चाहिने मानिस’(जो जीवनका लागि सम्पत्तीलाई पानी बगाएजसरी बगाउन फर्केर हेर्दैनन्)का लागि स्टक राख्ने पुरानो व्यापारीक शैली पनि हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न।

‘हामी सक्तैनौ’ भनी हात उठाउने अनि सर्वसाधारणदेखि लिएर प्रवुद्ध वर्गमा समेत निजीले त सकेन, सरकारीले के सक्ला? भनी प्रश्न गराउने खेलमा निजी अस्पताल लागेको देखिन्छ। यसले मनोवैज्ञानिक रुपमा पनि प्रभाव पार्नेछ। त्यसको क्षतिपूर्ति के उपचार गर्न सक्दैनौं भन्ने अस्पतालहरुले तिर्ला?

प्रकाशित: २६ वैशाख २०७८ १४:०८ आइतबार

सिलिण्डरमा रित्तिएको मानवता