नेपालको राजनीतिमा 'भय'ले सबैभन्दा धेरैलाई भयभित बनाउँछ। चुनावको घोषणा गरी टिकट कस-कसलाई दिने पिरलोले टाउको समाइरहेका दलहरु एकातिर। अर्कातिर त्यो चुनावलाई कसैगरी पनि भाड्ने घोषणा गर्दै वार्ताको जालमा अल्मल्याइरहेको माओवादी। शक्तिलाई तराजुमा तौलिने हो भने अध्यक्ष किरण र अध्यक्ष प्रचण्डको भौतिक तौल जति तलमाथि छ त्यति नै तलमाथि होला। तर, दाहालको दम शहरभित्रको गनाउने वागमतीको दलदलमा परेकाले वैद्यको बोलवाला बढेको बढ्यै।
हो न हो, मिडियाको पारा पनि उस्तै। समाजमा जव भयले राज गर्छ मिडिया त्यतिखेरै सबैभन्दा अन्योलको शिकार हुन्छन्। संसारदेखि टोलसम्मको विँडो थामेको भ्रममा मिडियावाला पनि उत्तिकै रत्तिएका छन्। अनि तिनले वैद्यको बन्दको 'राम्रो'सँग विरोध गरे। राम्रो यस अर्थमा कि मिडियाले बैंद्यको बन्दलाई बैधानिकता दिलाए। उसले बन्द फिर्ता लिनुपर्छ भन्दै रेडियोका सञ्जालबाट विचारको विचरण भयो। टेलिभिजनमा टक सो अनएअर। छापाकारितामा त्यही कुरो छ्यापछ्याप्ती। मिडियाले यतिसम्म (अव)गुण गान गाइदिएपछि कसको के लाग्छ? भएनन् त वैद्य'बा बबाल?
त्यसमाथि वैद्य'बाका बबुर कार्यकर्ताले बन्दको बेला बस बाल्दिए। बस बल्यो। बलेको बस निभाउन प्रहरी देखि स्थानीयसमेत जुटे। बस निभ्दातिर पुगेका पत्रकारले लेखे : भित्र मान्छे भएका भए उसिनिएरै र पोलिएरै मर्थे। सामाजिक सञ्जालमा फेरि जन्जाल नै बन्यो : मानिससहित जलाए रे! टेलिभिजनका क्यामरा धुलिखेलतिर धुलो उडाउँदै पुगे। छापाका त्यस्तै छपक्क। दिनभर त्यही बस मिडियामा दन्किरह्यो। भोलिका अखबारमा छ्यापछ्याप्ती खबर। अहो! वैद्य'बा मख्ख। अरुलाई वास्ता नभए'नि विचरालाई आफ्नो तौल त थाहा छ नि। त्यही तोलाको तौललाई मिडियाले सुनको भाउमा पस्केपछि के चाहियो? वैद्य'बा अपार शक्तिशाली। वैद्य भयंकर…।
त्यत्तिकैमा ४४ थान थ्रीनटथ्री भेटियो जाजरकोटको जंगलमा। मानिसैसहित बस बाल्ने वैद्यबाले जाजरकोटको जंगलमा समेत बन्दुक लुकाउँदा रै'छन्। आब्बुई… कम रैछन् त यिनी! बन्दुक वैद्यबाको हो होइन थाहा भएन तर मिडियाले सबैको मनमा वैद्य'बा बसायो।
बिचरा मिडिया। वैद्य'बाले गलत गरे भनेर कुर्लिन खोज्दा उनैलाई सघाउ पो पुगे। काँग्रेस, एमाले र एमाओवादीका केटाहरुले बन्दका दिन सडकमा कति गाडी बाले बाले। तर, वैद्याबाले बालेपछि 'धुप' नै बन्यो। अब बाँकी सबै चुनावतिर होमिँदा मिडियाले यति बबाल डरलाग्दो बनाएको वैद्य'बाको पाखुरीमा कति बल चढ्ने हो बिस्तारै बुझिएला।
प्रकाशित: ३ आश्विन २०७० ००:१३ बिहीबार