ब्लग

जबसम्म ‘वामदेव’ले जितिरहनेछन्...

वामदेव गाैतम

हामीलाई विदेशी नेताको सरलता मनपर्छ। उनीहरूको बखान गर्छौं। कार्यकाल सकिएपछि एउटा झोला बोकेर निवासबाट बाहिरिएका निवर्तमान डेनिस प्रधानमन्त्री लार्स रेसुम्सन देखेर ‘आहा’ भन्यौं। हालकी प्रधानमन्त्री मेटी फ्रेडिक्सनले बिदामा कपडा धोएको दृश्यले ध्यान खिच्यो। न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अड्रेनले एयरपोर्र्टमा ब्रिफकेस बोकेर हिँडेको दृश्य क्षणभरमै  भाइरल बनायौं। क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले सर्र्वसाधारणलाई  साथीकै व्यवहार देखेर लोभियौं।

पटकपटक सत्तामा पुगिसकेका गौतमले अब के चमत्कार गर्छन्? विगतमा के चामत्कारिक काम गरे? जसका कारण देशलाई फेरि उनकाे आवश्यकता पर्‍याे?

कहिले अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको महानताको बखान गर्छौं त कहिले उनको लोभलाग्दो शैलीको तारिफ। सडकमा अलपत्र परेका नागरिकलाई आफैं खटेर चिया र फलफूल बाँड्दै गरेका पोर्तुगालका वृृद्ध राष्ट्रपति एन्टोनिया कोस्टालाई देखेर दंग पर्छौं।  

बिडम्बना ! हामीले यस्ता पात्रलाई भोट दिने सौभाग्य भने कहिल्यै पाएनौं। हामी एकथरीका नेता चाहान्छौं, तर  ‘ब्याले’बाट अर्कोथरीका नेता उत्पादन भइरहेका छन्। जो पद्धति बसाल्न  डराउँछन्।  सरलता, इमान्दारिता र वफादारिताको अभ्यास गर्न तर्सिन्छन्। कम्तीमा देखावटी नै सही, सादगीपनको नक्कल मात्रै गर्न पनि हिचकिचाउँछन्।  विवशता नै भनौं, हामी जनता भने ओबामा र एन्टोनियालाई देखेर लोभिन्छौं। उनीहरूको बखान गर्छौं।

बेलायतका पूर्वअन्तर्राष्ट्रिय विकासमन्त्री माइकल लर्ड बेटसको छोटो चर्चा गरौं। जसले सदनमा २ मिनेट मात्र ढिला पुगेका कारण पदबाट राजीनामा दिएका थिए। अति सामान्य मानवीय त्रुटिमा पनि उनले दिएको राजीनामा तत्कालीन प्रधानमन्त्री टेरेसा मेले भने खारेज गरिदिइन्। २०१८ जनवरी ३१  मा उनले राजीनामा घोषणा गर्दै सदनमै भनेका थिए, ‘म मेरो गैरजिम्मेवारी र असभ्यताका कारण  यहाँहरू सबैसँग क्षमा याचना गर्दै पदबाट राजीनामा दिने उदघोष गर्छु। मलाई अब यो पदमा बसेर काम गर्न सुहाउँदैन।’

उनले देखाएको जिम्मेवारीबोध, इमान्दारिता र निष्ठाका कारण तत्कालीन समयमा विश्वभरका सञ्चारमाध्यमको ध्यान खिच्यो। पद्धति र प्रणाली स्थापित गर्न गरिएको अभ्यासको एउटा नजिर र नमुना पनि थियो त्यो। हुन त विश्वमा इमान्दारिताका यस्ता थुप्रै नजिर र नमुना छन्। पात्र र घटना हामी पढ्ने  र भेट्ने गर्छाैं। तर ठ्याक्कै विपरीत हामी भने विश्वमाझ थिति र पद्धतिलाई रछ्यानमा मिल्काएर राजनीतिमा नमुना र नजिर बन्ने प्रयत्न गरिराखेका छौं।  

अनि अर्को पद्धति र नैतिकताको उदाहरण पनि हेरौं। हिलारी क्लिन्टन- अमेरिकाको राष्ट्रपतिका लागि फेरि कहिल्यै उम्मेदवार बन्ने छैनन्। यो उनीहरूले स्थापित गरेको राजनीतिक संस्कृति र नैतिकताको परिणाम हो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि तेस्रो कार्यकालका लागि संविधान संशोधनको अपिल गर्ने छैनन्। यो उनीहरूले मजबुत कानुनी राज्य निर्माण र स्थायित्वका लागि गरेको अनुकरणीय अभ्यास हो, जसबाट हाम्रोमा जस्तो व्यक्तिका लागि पटकपटक कानुन र संविधान संशोधन भइनरहोस्। व्यक्तिका कारण विधि नबिथोलियोस्। 

ढिलै भए पनि जापानमा सिन्जो आबेले आफू अस्वस्थ भएको भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएर नयाँ नजिर बसाउने प्रयास गरेका छन्। अस्थिरताको सिकार भएका र विकासको गतिमा पछि परेका कैयन् अफ्रिकन र ल्याटिन अमेरिकन देशले पनि अहिले राजनीतिक संस्कारमा सुधार ल्याउने प्रयत्न गरिरहेका छन्। यो सब देखेर बरु उत्तर कोरियाका शासक किम जङ उन बदलिएलान्, प्योङयाङ बदलिएला।

तर हाम्रा नेता कहिले बदलिएनन्, बदलिने छाँट पनि देखिँदैन। यसैका पछिल्ला उदाहरण हुन्– कामरेड वामदेव गौतम। पटकपटक चुनाव लड्ने अवसर पाएर पनि असफल बनेका पात्र हुन्, उनी। सन् १९९७ मा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएको बेलादेखि नै उपप्रधान तथा गृहमन्त्री भएर पटकपटक सत्ताको स्वाद चाखिसकेका छन्, गौतमले। सन् २००८ र २०१४ मा गरी उनी तीनपटक उपप्रधान तथा गृहमन्त्री भइसकेका छन्। पछिल्लोपटक भर्खरै उनी राष्ट्रियसभाको सदस्यमा मनोनीत भएका छन्।  

पटकपटक सत्तामा पुगिसकेका गौतमले अब के चमत्कार गर्छन्? विगतमा के चामत्कारिक काम गरे? जसका कारण देशलाई फेरि उनकाे आवश्यकता पर्‍याे? उनी आफैंले आफ्नो मूल्यांकन गरे कि गरेनन्?  

उनलाई मनोनीत गर्ने व्यक्तिले हिलारीहरूले जस्तै पद्धति र प्रणाली स्थापना गरेर भावी पुस्तालाई असल शिक्षा दिने प्रयत्न किन गरेनन्? प्रश्न यहींनेर हो। झिनामसिना स्वार्थमा अल्झिएका वर्तमान यिनै अगुवाबाट कसरी परिवर्तनको आशा गर्ने? अनि कामरेड वामदेवलाई पनि राम्रोसँग अवगत छ कि आफ्नो अनुपस्थितिमा सदन वा सरकारमा न धर्ती फाट्नेवाला छ न आकाश खस्नेवाला छ। न उनको उपस्थितिले मुलुकमा कुनै कायापलट नै हुनेवाला छ। 

अवसर पाएर पनि अनुत्तीर्ण भएको विगत सायद उनलाई सम्झन मन लागेन। पदको आशक्तिले उनलाई छाडेन। नेतृत्व हस्तान्तरण र रूपान्तरण गरिनुपर्छ भन्ने ज्ञान राजनीतिको यति लामो यात्रामा पनि उनले सिक्न सकेनन् वा चाहेनन्। त्यसैले त धेरै वामदेवहरूलाई देश डुबोस् वा सकियोस् मतलब छैन। तर सत्ता र शक्तिको छत्रछायाबाट कहिले टाढा हुन नपरोस्।

यहाँ महत्वपूर्ण पक्ष के हो भने नेपाली राजनीतिमा वामदेव ‘व्यक्ति’भन्दा पनि ‘प्रवृत्ति’ हावी छ।  खिल बनेर बसेको यो प्रवृत्ति निर्मूल नपार्दासम्म नेपालमा असल राजनीतिक संस्कार स्थापना असम्भव छ। वामदेव प्रवृत्तिकै पराकाष्ठा हो– कम्युनिस्ट पार्टीभित्र प्रचण्ड, माधव नेपाल, केपी ओली र झलनाथ खनालहरूले अझै आफ्नो विकल्प नदेख्नु।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा फेरि प्रधानमन्त्री बनेर रेकर्ड तोड्ने मोह जाग्नु पनि यही प्रवृत्तिको अर्काै उदाहरण हो। बरु देशले किन नहारोस्, तर आफूले जित्नैपर्ने कुण्ठाबाट ग्रस्त रामचन्द्र पौडेलको नियत पनि वामदेव प्रवृत्तिकै निरन्तरता हो। अन्य साना/ठूला दलका पात्रमा पनि यो प्रवृत्ति व्याप्त छ। यस्तो (कु) प्रवृत्तिले ग्रस्त नेपालको राजनीतिमा लर्ड वेटसजस्ता जवाफदेही र त्यागी पात्रको परिकल्पना गर्नु भ्रमबाहेक केही हुँदैन, जबसम्म वामदेव प्रवृत्तिको पराजय हुँदैन।

माथि चर्चा गरिएका विभिन्न देशका नेता कुनै अद्भूत क्षमता भएका व्यक्ति होइनन्/थिएनन्। उनीहरू पनि औसत मानिसभित्रै पर्छन्। तर हामीले नेता मानेका पात्रमा त्यत्तिको औसत बन्ने सोच र संस्कार पनि छैन। अर्थात् हामीलाई नेतृत्व गरिराखेका नेताहरू औसतभित्र पनि पर्दैनन्। अब कसरी उनीहरूबाट परिवर्तन र कायापलटको आशा गर्न सकिन्छ? पदभन्दा बाहिरको जीवन कल्पनै गर्न नसक्ने वामदेव प्रवृत्तिकै पुनरावृत्तिले  देशमा कसरी समृद्धि आउला?  

उसो भए विकल्प के त? हो, फेरि पनि विकल्प भनेको विद्रोह नै हो। तर त्यो विद्रोह  संसदलाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोसँग तुलना गर्दै भ्रम फिँजाउने अनि आफू भने त्यहीं गएर भ्रष्टाचार र कुशासनको अभ्यास गर्नाका लागि हुनु हुँदैन। बनेका पुलपुलेसा, सडक, विद्यालय भत्काएर देशलाई क्षतविक्षत पार्ने विद्रोह त झन् हुँदै होइन। चेलीबेटीको सिउँदो पुछ्ने, बालबालिकालाई टुहुरो पारेर रगतको होली खेल्ने विद्रोह त गर्नै हुँदैन। अबको विद्रोह यस्तो प्रवृत्तिबाट सत्तामा पुगेर जनतालाई सास्ती दिनेको विरोधमा हुनुपर्छ। सुशासनका पक्षमा, सचेतना फैलाउन बौद्धिक संघर्ष हुनुपर्छ। भाषण गरेर भ्रम छर्ने कथित नेताको विकल्प खोज्नका लागि हुनुपर्छ। आजीवन पद खोज्नेका विपक्षमा हुनुपर्छ।

जबसम्म वामदेव प्रवृत्तिले जितिरहेनछ, तबसम्म त्याग, इमान्दारिता र वफादारिताले हारिरहनेछ। 

फेरि पनि यी सबका लागि हामी जनताले ‘ब्यालेट’ (मतपत्र) बाटै जवाफ दिन सक्नुपर्छ। वामदेव प्रवृत्ति अन्त्यका लागि पनि हामी आफैं सजग हुनुको विकल्प छैन। हालका  पात्र र प्रवृत्ति परिवर्तन नभएसम्म देशमा समृद्धिको सपना सपनामै सीमित हुनेछ। जुन प्रवृत्तिले देश बिग्रिएको छ, त्यसको पुनरावृत्ति रोक्ने राजनीतिक संस्कार निर्माण गर्न जरुरी छ। जबसम्म वामदेव प्रवृत्तिले जितिरहेनछ, तबसम्म त्याग, इमान्दारिता र वफादारिताले हारिरहनेछ। 

युराेप

प्रकाशित: ८ आश्विन २०७७ १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App