ज्ञानेन्द्र शाहा बहालवाला राजाकै ठाँटमा देखिन्छन्। अघिपछि सयौं मानिस र सवारीको ताँतीले स्कर्टिंङ गरेका हुन्छन्। माइकिंग गर्दै श्री ५ महाराजधिराज नै सम्बोधन गरेर राजतन्त्रभक्ति र गणतन्त्र विरोधका स्वरहरु गुन्जायमान गरिएको हुन्छ। माइकमा दलहरुले देश बिगारे अब जनता जाग्नु पर्छ, राजतन्त्र ल्याउनै पर्छ खुलस्त भनिएको छ। ४७ सालको संविधान व्यूँताउनु पर्ने, राजसंस्था कायम रहनु पर्ने, हिन्दु राज्य हुनुपर्ने बुलन्द आवाज घन्काइएको छ ।
सवारी सिंगारेर त्यसमा राजाको पूर्ण कदको पुत्ला बनाइको छ र त्यसलाई माल्यार्पण र अविरार्पण गरिएको छ। सवारीमा श्री ५ महाराजधिराज सरकार ज्ञानेन्द्रवीरविक्रम शाहादेव लेखेर जयजयकार गरिएको छ। सरकार नै भनेर फलाक्ने र जिन्दावाद अनि जयजयकार गर्ने गरिएको छ। यो जयजयकारमा दिन दुईगुना रात चौगुना नागरिकहरुको सहभागिता बृद्धि भैरहेको छ। त्यो नागरिक पंक्तिमा राजनीतिक दलका जिम्मेवार तहका टाउकाहरु पनि थपिदै गएका छन्। वाग्लुङमा त जिल्ला नेता राजालाई दर्शन दिएको भन्दै पार्टी कारबाहीमै परे। चर्चामा नआए पनि स्याङ्जामा पनि दलको जिम्मेवारीमा रहेका कतिपय नेताकार्यकर्ताहरु शाहाको खातिरदारीमा खटिएका देखिन्थे।
समय धेरै भएको छैन। यिनै शाहा गणतन्त्र बहाली भएपश्चातका सुरुवाती वर्षमा राजधानीका गल्लीमा निस्कँदा नागरिकहरुले सवारीमा ढुंगा हान्थे। उनको बाटो छेक्थे र मुर्दावाद भन्दै दुत्कार्थे। अचेल त्यो स्वर मलिन बनेको मात्रै हैन फेरिएर जयजयकारमा परिणत भएको छ। उनको सवारीमा अवरोध गर्र्ने प्रचण्ड पक्षधरका माओवादी कार्यकर्ता मात्रै देखिएका छन्। उग्र क्रान्तिकारी मानिएका बैद्य पक्षधरहरु राजाको सवारीमा मौन समर्थक बनेका छन्। पहिले राजामाथि खनिने मुर्दावादको स्वर अचेल राजनीतिक दलका नेताहरुमा पोखिन थालेको छ। पासा पल्टेको छ।
नेताहरुलाई चड्कन हान्न नागरिकहरु मञ्चमै पुग्न थालेका छन्। नेताको बाटो कुरेर कालो झण्डा देखाउन र ढुंगामुढा गर्न नागरिकहरु बाध्यताबस आकर्षित देखिन्छन्। यस्तो किन ? यसको सोझो उत्तर छ जनता राजनीतिक दल र नेताहरुसँग वाक्क भएर विकल्प खोज्दैछन्। विकल्पको नाममा जनताले ज्ञानेन्द्र पुकार्न थालेका छन्। नेताहरुलाई चेतना भया !!!
प्रकाशित: ८ आश्विन २०६९ २३:३३ सोमबार