ब्लग

पृथक शैलीको तिज

महिलाको महान् पर्व हरितालिका तिज आँगनमै आइसकेको छ । त्यसैले यतिबेला महिला पोते, चुरा र नयाँ कपडा आदि किन्न व्यस्त देखिन्छन् । लामो समयदेखि कोरोनाको डरका कारण घरभित्रै पिल्सिएका महिलामा कोरोनाको त्रास कायमै भए पनि केही उत्साह भने देखिएको छ ।

खासमा तिज आफ्नै नन्द÷आमाजू, आमा, भाउजू, बुहारी र साथीसंगीसँग मनाउने हो । दर खाने हो र नाचगान पनि गर्ने हो । खासमा तिजको मुख्य आकर्षण नै यसैमा छ तर विडम्बना नै भन्नुपर्छ, यसपटकको तिज कोरोनाका कारण यस्तो हुने छैन । जसले तिजसँगै उकासिएको उत्साहमा केही अवरोध पक्कै सिर्जना गरेको छ ।

हिजोका दिनमा अलि तडकभडक पनि हुन्थ्यो । कैयौँ दिनअघिदेखि पार्टी प्यालेसहरूमा भोजभतेर नै चल्थ्यो । तर अहिले अवस्था फेरिएको छ । जुटेर भन्दा पनि छुटेर मनाउनेहरूको संख्या बढिरहेको छ । एकातिर संस्कृति जोगाइराख्नुपर्ने अर्कोतिर भिडभाड पनि गर्न नहुने बाध्यता यतिखेर नेपाली महिलासामु तेर्सिएको छ ।  

तिज महान् पर्व हो भन्नेमा शंकै छैन । त्यसैले यस्ता परम्पराले हाम्रो जीवनमा ऊर्जा थपेको छ । सोझै भन्ने हो भने हाम्रा पर्वहरूले हामीसँग मितेरी नै लगाएका छन् । जसबाट हामी अलग हुनै सक्दैनौँ । अझ तिज त झन् त्यस्तो पर्व हो जो विशेष महिलाकै लागि आउने गर्छ । मीठो खाने, राम्रो लगाउने, भेटघाट गराउने माहोलसमेत सिर्जना गर्ने भएकाले पनि तिजको महत्व निकै छ ।

गीत तिजको अर्को आकर्षण हो । यतिबेला एल्बमहरू निकाल्नेको भिडै लाग्छ भने स्टेज सोहरू पनि उत्तिकै आयोजना हुन्छन् । विकृति र विसंगतिलाई घोचपेच गरिएका गीतले निकै स्थान पाउने गरेको छ । तर अब यो पनि थियो भन्नुपर्ने अवस्था सिर्जना भएको छ किनकि यसपटक हामी यसरी तिज मनाउने अवस्थामा छैनौँ ।

पहिलेका गीत सासू बुहारीसँग, नन्द आमाजूसँग जोडिएका हुन्थे भने अहिलेका तिज गीत समयसँगै फेरिएका छन् । विकृति नंग्याउन उद्यत छन् । यो राम्रो पाटो हो । महिलाको आत्मविश्वास बढाउने र अधिकार लिन उत्साहित गर्नेखालका छन् । यो झनै उज्यालो पक्ष हो । त्यसैले तिजले विकृतिमात्रै भित्र्याएको छैन, राम्रा पक्ष पनि अंगाल्दै गएको छ ।

हाम्रा पर्वका मौलिकतालाई जीवन्त राख्नुपर्छ । भड्किलो बनाउनु हुँदैन । केही समयदेखि तिजले विकृति निम्त्यायो भन्नेहरू धेरै छन् । तर यसका सकारात्मक पाटातिर भने ध्यान दिइएको पाइन्न । एकाध छाडा गीत हेरेर तिजको मूल्यांकन गर्नु उचित होइन । उत्प्रेरणा जगाउने गीत पनि त छन् नि । तिनलाई पनि हेर्नुपर्छ । नत्र तिजप्रति गरिने टिकाटिप्पणी हल्का हुनेछन् ।

व्रत तिजको अर्को आकर्षण हो । कतिले यसलाई नचाहिने कामका रूपमा व्याख्या गर्दै आएका छन् । कतिले भने सही ठानेका छन् । तर स्वास्थ्यलाई असर नपर्ने गरी  कोही बस्छ भने अरूको टाउको दुखाइ नहुनु पर्ने हो । धेरै महिला आफैँ बुझ्छन् । त्यसैले उनीहरूका लागि शिक्षा पनि आवश्यक नपर्ला कि ? जे होस्, व्यक्तिगत चाहना र अधिकारमाथि हस्तक्षेप पनि उचित होइन भन्ने लाग्छ ।

कतिपयलाई श्रीमान्का नाममा व्रत बसेको मन पर्दैन । कतिपयका लागि भने यो निजी मामिला हो । आफ्नो संरक्षक, परिवारको मूली तथा जीवनसाथीप्रति श्रद्धाभाव दर्शाउँदा केही बिग्रेला जस्तो लाग्दैन । तर यो व्यक्तिको स्वविवेकमा भर पर्ने कुरा भएकाले अरूले त्यति चासो नदिएकै उचित होला ।

पहिलो कुरा त धर्मकर्म आफ्नै लागि गर्ने हो । दोस्रो कुरा आफूले रीतिरिवाजअनुसार गर्दा भावी पुस्ताले पनि अंगाल्छन् । त्यसैले आधुनिकताका नाममा संस्कृति छाड्ने काम सही हैन । हो, अहिले कोरोनाको संक्रमण बढी छ । त्यसैले भनेजसरी, सोचेजसरी गर्न नसकिएला तर पुर्खौँदेखि गर्दै आएको काम छाड्नु मनासिव हुन्न । यसो भयो भने त केही वर्षभित्र हाम्रा सबै पर्व, चाड समाप्त भएर जानेछन् । यसतर्फ विचार पु¥याउनु आवश्यक छ ।

पर्व अवश्य मनाउनुपर्छ । तिज पनि नमाउने कुरै भएन । तर यसपटकको तिज भने अलि फरक तरिकाले मनाउँ । पहिले पहिले जुटथ्यौँ अब केही समयका लागि अलिक टाढै बसौँ । ज्यान रहे तिज त अर्को पटक फेरि आइहाल्छ नि । मुख्य कुरा ज्यानको ख्याल राखौँ । जुटेर भन्दा पनि छुटेर तिज मनाउँ । कोरोना भाइरसलाई परास्त गरौँ ।

प्रकाशित: ४ भाद्र २०७७ १२:०९ बिहीबार