पदमा होउन्जेलको शान सौकत पदसँगै जान्छ। त्यसले गर्दा उनीहरुको जीवन रिटायर्डपछि साह्रै पट्यारलाग्दो हुन्छ। यद्यपि उनीहरुसँग जीवनका ३०/४० बर्ष कृषि क्षेत्रमा गरेको योगदान, त्यसबाट पाएको अनुभवलाई सदुपयोग गर्न जान्ने हो भने सायद रिटायर्डपछिको जीवन पनि त्यत्तिकै व्यस्त, उपलब्धिमूलक र मानिसले भोज भतेरको लागि पनि नभुल्ने हुनसक्छ।
धान वैज्ञानिक भोलामान सिंहले एक वर्षअघि नार्कबाट रिटायर्ड हुने बेलामा भनेका थिए,-'म रिटायर्ड भएँ, तर टायर्ड (थकित) भएको छैन।' उनको भनाइले लाग्थ्यो लगत्तै तराई वा पहाडतिर गएर आफ्नो विशेषज्ञता देश र समाजलाई देखाउनेछन्। अरुलाई रिटायर्ड भएपछि पनि आफूलाई सक्रिय राखेर उदाहरण बन्नेछन्। तर, उनी पनि राजधानीको चार भञ्ज्याङ कटेरबाहिर जान सकेका छैनन्। नत उनीमाथि राष्ट्रले गरेको करोडौंको लगानीको उनले उपयोग नै गरेर समाजलाई थप केही दिननै सके।
कृषिबाट रिटायर्ड भएका प्राविधिकहरु मिलेर सिप्रेड नामको एनजिओ खोलेका छन्। तर उनीहरुको भूमिका त्यहाँ पनि जागिरेको भन्दा माथि छैन। अरुलाई कृषि क्षेत्र व्यावसायिक भएन, यो क्षेत्रलाई व्यावसायिक बनाउनुपर्यो भनेर अर्ति दिने कृषि विज्ञहरु आफैले व्यावसायिक रुपमा कुनै काम गरे हुँदैन र?
गोलभेंडामा पिएचडी गरेका केदार बुढाथोकी नार्कबाट रिटायर्ड भएपछि अहिले पूरै समय गोलभेंडाको हाइब्रिड बीउ उत्पादन, अर्गानिक खेतीमा दिइरहेका छन्। जग्गा भाडामा लिएर नेपालमै पहिलो हाइब्रिड गोलभेडाको बीउ उत्पादन गरेर उनले गरिबलाई धनी बनाउने अभियान थालेका छन्। एउटा बोटबाट ३० किलो गोलभेंडा फलाउने अभियानमा उनी तल्लीन छन्। ६४ वर्षको उमेरमा पनि कृषि क्षेत्रमा उनको सक्रियताले उनलाई सरकार, निजी क्षेत्र देखि किसानले समेत कार्यक्रम, भोजभतेर, गोष्ठीमा बोलाउन बिर्सदैनन्। बुढाथोकीको सक्रियता देख्दा लाग्छ, उनी जस्ता ५० जना विज्ञहरुले आ-आफ्नो क्षेत्रमा केही गरिदिने हो भने यो देशमा कृषि ह्वात्तै अघि जान्छ। पेन्सनको भरमा नपरी उनले आफ्नै पहलमा गोलभेंडाको हाइब्रिड बीउ उत्पादन, अर्गानिक तरकारी खेतीले एक दर्जन बेरोजगारलाई रोजगारी पनि दिएका छन्। उनको सिको गरेर अहिले राजधानीकै धर्मस्थलीदेखि लेलेसम्म, भक्तपुरदेखि कीर्तिपुरसम्म बाह्रै महिना गोलभेंडा खेती हुन थालेको छ। यसले केही वर्षअघिसम्म वर्षामा देख्न दुर्लभ हुने गोलभेंडा अहिले वर्षभरि नै देख्न होइन खानै पाइन्छ।
रिटायर्डपछि आफूमा भएको सीप र ज्ञानलाई उपयोग गरेर समाजलाई प्रेरणा दिनेहरु निकै थोरै छन्। कसैले गोष्ठीमा बोलाइदिए हुन्थ्यो। कार्यपत्र पेस गर्न पाए २/४ हजार आइहाल्थ्यो कि भनेर आशा गर्ने पनि छन्। रिटायर्ड हुँदा हात लागेको पैसाबाट आफ्नो सीपलाई उदाहरणीय काम गरेर देखाउँ भन्नेहरु नगण्य छन्। बरु हातमा परेको पैसाबाट घडेरी किन्ने, घरको तल्ला थप्नेभन्दाबाहेक अधिकांशको सोचाइ हुँदैन।
वर्षभरि सयौं कृषि प्राविधिकहरु रिटायर्ड हुन्छन्। तर, उनीहरु त्यसपछि गुमनाम हुन्छन्। कसैले सम्झने गरि उनीहरुले आफूले कमाएको सीपलाई व्यबहारमा उतारेको पाइदैन। पेन्सनले गर्दा कतिपयले यस्ता कुराहरुमा आफूलाई अद्यावधिकनै राख्दैनन्। ‘यति पेन्सन आइहाल्छ किन दुःख गर्नु?' यस्तै धारणा अधिकांशमा छ। पेन्सनले प्राविधिकलाई निष्त्रि्कय बनाइरहेको छ। उनीहरुलाई रचनात्मक र सिर्जनशील होइन पेन्सनले परनिर्भर बनाइरहेको छ।
सरकारले साँच्चै देशमा कृषिलाई अघि बढाउने हो भने बर्षेनी रिटायर्ड हुने यस्ता कृषि विज्ञ, प्राविधिकलाई गाउँगाउँमा पुर्याउनुपर्छ। पेन्सन होइन रिटायर्ड हुनुभन्दा एक वर्षअघिदेखि आफ्नो भावी कार्यक्रमसहितको प्रपोजल बनाएर त्यसको निश्चित रकम एकमुष्ठ अनुदान दिनुपर्छ। जसको जुन क्षेत्रमा विशेषज्ञता हो त्यही क्षेत्रलाई कसरी अघि बढाउने भन्ने विषयमा प्रस्ताव मागेर कार्यक्रम अघि बढाउने हो भने मात्र कृषिबाट केही हुनसक्छ।
यस्तो नीति ल्याउने हो भने रिटायर्डपछि पनि सक्रिय बुढाथोकी जस्ता सयौं प्राविधिहरु निस्कनेछन्। जस्तो कि, कोही कृषि प्राविधिकको गहुँको क्षेत्रमा लामो अध्ययन अनुसन्धान छ र रिटायर्ड हुन लागेको छ भने उसलाई गहुँको उत्पादन बढाउन, रोग प्रतिरोधक जात विकास गर्न, गहुँको बीउ उत्पादन गर्नको लागि प्रपोजल पेस गर्न लगाएर रिटायर्डसँगै सरकारले अनुदान दिने नीति ल्याउन जरुरी छ।
कसैको तरकारीको क्षेत्रमा विशेषज्ञता छ भने उसलाई बीउ उत्पादन, ताजा तरकारी उत्पादनमा सक्रिय राख्न सकिन्छ। उसको प्रपोजल अनुसार रकम दिएर काठमाडौं बाहिर जाने वातावरण मिलाउने हो भने तरकारीको बीउ र ताजा तरकारीमै पनि देशलाई आत्मनिर्भर बनाउन सकिन्छ।
कम्तिमा एउटा जिल्लामा एक जना यस्ता प्राविधिकलाई जाने वातावरण मिलाइदिने, उनीहरुलाई अध्ययन, अनुसन्धानको लागि जग्गा सरकारले दिने हो भनेमात्र कृषिमा क्रान्ति आउनसक्छ। यसको निम्ति खेर गैरहेका सरकारी जग्गा, बागबानी फार्मनै उपलव्ध गराउने नीति लिनु उपयुक्त हुन्छ। अहिले सयौं सरकारी बागबानी फार्महरु घाँसे चौरमा परिणत भएका छन्। तिनीहरुमा सरकारले गरेको लगानी बालुवामा पानी जस्तो भैरहेको छ। विज्ञहरुलाई यस्ता बागबानी फार्म उपलव्ध गराउने हो भने कृषिमा ठूलै उथलपुथल हुनेछ।
प्रकाशित: २० असार २०६७ ००:२० आइतबार