ब्लग

विश्व विजेता ‘तीनजुरे टी’ को कथा

जुनसुकै क्षेत्रमा विश्वकै अब्बल दरिन कोही व्यक्ति, संस्था, सरकार र देशकै पनि चानचुने मेहनत पर्याप्त हुँदैन। अझ रासायनिक मल र विषादीले बालीनाली मात्र नभई खेतबारीको माटोसमेत बिगारिरहेका बेला कृषि उत्पादनमा विश्व विजेता बन्नु चाहिँ ‘फलामको चिउरा चपाउनु’ सरह हुनसक्छ।

तर, इलामको फाकफोकथुम गाउँपालिका–६ स्थित तीनजुरे चिया उद्योगले महिना दिनअघि चियाको गुणस्तरमा विश्वमै नामी र ‘ब्रान्ड’ बनिसकेका देशलाई समेत उछिन्यो। र, सर्वोत्कृष्ट गुणस्तरीय चिया उत्पादकका रूपमा आफूलाई दर्जा दिलायो। किसानकै प्रयासबाट करिब ३० वर्षअघि चिया खेती सुरु भएको तीनजुरे अब विश्वमा चियाको क्षेत्रमा चिनाइरहनुपर्ने नाम रहेन।

टी मार्केटिङ एसोसिएसन अफ् चाइनाले गत महिना गरेको तयारी 'ब्ल्याक टी' को गुणस्तर परीक्षणमा तीनजुरेको पर्ल गोल्डेन टी पहिलो नम्बरमा आयो। राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा संकलित चियाका ४० मध्ये उत्कृष्ट १६ नमुना चीन पठाइएको थियो। तीमध्ये तीनजुरेको पर्ल गोल्डेनले ‘ग्रान्ड गोल्ड मेडल’ पाएको हो। नेपालसहित चिया उत्पादनमा मुख्य मानिने केन्या, श्रीलंका, चीन र भारतका अरू चियाभन्दा तीनजुरेको चिया सर्वोत्कृष्ट गुणस्तरको देखिएको हो। तीनजुरेले पर्ल गोल्डेन, नर्मल गोल्डेन र कर्ली गोल्डेन चियाको नमुना पठाएकामा नर्मल गोल्डेनले पनि सिल्भर मेडल पाएको छ।

त्यसबेला नेपालका विभिन्न उद्योगका १० खाले चियाले सर्वोत्कृष्ट सहित उत्कृष्ट स्थान पाए। एउटा नमुनाले ग्रान्ड गोल्ड मेडल, ५ वटाले गोल्ड मेडल र ४ नमुनाले सिल्भर मेडल पाएका थिए।

२०५० सालतिर तीनजुरेको ‘बाख्रा लड्ने’ भिरमा चिया उत्पादन होला भनेर सोच्ने मानिस नगन्य थिए। इलाम र नजिकैको पाँचथरमा चिया उत्पादन भएको देखेका स्थानीय किसानले तीनजुरेको फुपट्ट डाँडो चियाले हराभरा बनाउने प्रयत्न गरे। १ हजार ९ सय २५ मिटर उचाईको डाँडा वरिपरि र नजिकैका किसानको बारीमा चिया खेती सुरु गर्नु ‘जुवा खेलाइ’ नै हुन्थ्यो। तैपनि, स्थानीय ऋतुकान्त खनाल, पदम तामाङलगायत किसानले बाजी हारेनन्। अरू किसानलाई पनि जगाए। चियाको सम्भावना पहिल्याए। र, किसानले २०५१ चैत १९ मा तीनजुरे चिया उत्पादक सहकारी संस्था दर्ता गरे। सम्भवतः नेपालमै चिया खेतीको उद्देश्यले दर्ता भएको यो नै पहिलो सहकारी पनि हो।

सहकारी गठन भएपछि कन्याम, फिक्कल, पानीटारलगायत स्थानबाट चियाको डाला ल्याइ बिरुवा उत्पादन गरियो। फाकफोक, एकतप्पा र चमैता गाउँमा खेती विस्तार गरियो भने सहकारीमा किसानको संख्या थपिँदै गयो। ४९ रोपनी जमिन सहकारीले खरिद गर्‍यो। तर, किसानले चिया उत्पादन त गरे तर विक्रीमा अर्काे झमेला आइलाग्यो। राम्रो गुणस्तरको हरियो चिया बेच्न सकिएन। यहाँ उत्पादित हरियोपत्ती कि पाँचथरको फिदिम लानुपर्‍यो कि आइतबारेको डाक्टरखोला। तर, सडक सुविधा अभावले ती उद्योगमा हरियो चिया पुर्‍याउनै धेरै समय लाग्ने भएकाले पत्तीको गुणस्तरमा असर पुग्यो। 

‘कति पटक त उद्योगमा पुर्‍याइसकेको हरियोपत्तीसमेत फर्काएर खोल्सामा ल्याएर फ्याँक्नुपरेको थियो,’ सहकारी अध्यक्ष ऋतुकान्त खनाल विगतको पीडा सम्झिन्छन्, ‘उद्योगसम्म पुग्ने बाटो थिएन, किसानले पिठ्युँमा बोकेर उद्योग पुर्‍याएको चिया दर्जनौंपटक फर्काउनुपर्‍यो। फ्याँक्नुपर्‍यो।’

किसानले ज्यादै दुःख पाएपछि सहकारीले टाढाका उद्योगसम्म हरियोपत्ती बेच्ने प्रयाससमेत गरेपनि सम्भव भएन। सहकारीलाई ठूलो ऋण थियो। तर, किसानले अब ऋण तिरेरै भएपनि उद्योग खोल्ने हिम्मत बटुले। सहकारीको जमिनबाट ६४ वटा घडेरी बेचेर ऋण तिरे। हरियो चियाको गुणस्तर राम्रो थियो। किनभने, यहाँ रोपिएको चियामा कुनै रासायनिक मल र विषादी प्रयोग गरिएको थिएन, अहिलेसम्म पनि प्रयोग नभएको सहकारीको दाबी नै छ।

चियामा गुणस्तर कायम भएपछि २०६८ सालतिर अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्था नासाले यहाँका १ सय ९३ किसानले उत्पादन गरेको चियालाई अर्ग्यानिक प्रमाणीकरण गरिदियो। २०७० सालतिर सहकारीले चिया प्रशोधन उद्योग स्थापना गर्‍यो। तर, तयारी चिया बेच्न सहज थिएन।

‘उद्योग स्थापनापछि किसानको हरियोपत्ती त सदुपयोग भयो तर तयारी चिया बेच्न सकिएन त्यति बेला,’ अध्यक्ष खनालले भने, ‘भारत कोलकाता पुर्‍याएर प्रतिकिलो अढाई–३ सयले बेच्नुपर्ने अवस्था थियो। यसबाट किसानको लगानी उठेन।’

उत्पादनमा गुणस्तर पाएपछि चियाका अन्तर्राष्ट्रिय व्यापारी तीनजुरेमा आकर्षित भए। यहाँको तयारी चिया काठमाडौं पुर्‍याइयो। अहिले देशका विभिन्न सहरसहित नेदरल्यान्ड, जर्मनी, फ्रान्स, अमेरिकालगायत देशसम्म पुगिरहेको छ। उद्योगले नेपाली चियाको अन्तर्राष्ट्रिय लोगो ‘नेपाल टी: क्वालिटी फ्रम दि हिमालयाज’ पायो। अर्ग्यानिक उत्पादन निरन्तर भयो भने उद्योगले इन्टरनेसनल मार्केटोलोजी अर्गनाइजेसन (आइएमओ) बाट वातावरण संरक्षणसम्बन्धी रेन फरेस्ट एलायन्स (आरएफए) प्रमाणपत्र पनि पायो। पुनः सेरेस संस्थाले चियालाई अर्ग्यानिक प्रमाणित गर्‍यो। अहिले फ्रान्सबाट चियाको माग आएकाले ‘फेयर ट्रेड सर्टिफिकेट’ लिने प्रक्रियामा रहेको संस्थाले जनाएको छ। अहिले सहकारीमा करिब ९३ लाख रुपैयाँको सेयर जम्मा भइसकेको छ।

गुणस्तरको राज

यहाँको चिया कसरी उच्च गुणस्तरको प्रमाणित भयो त ? सहकारीले किसानको इमान्दारी र प्राविधिकको मेहनतकै कारण यहाँको चिया विश्वले चिन्न पाएको जनाएको छ।

उच्च भौगोलिक क्षेत्रमा रहेको चियाबारी हिमालको प्रत्यक्ष हावापानीको सामुन्ने छ। भौगोलिक हिसाबले वरपरका स्थानभन्दा यो अग्लो ठाउँमा रहेकाले त्यसभन्दा माथिल्लो भेगबाट कुनै रासायनिक मल र विषादी यहाँको चियासम्म आउने सम्भावना नरहेको अध्यक्ष खनाल बताउँछन्।

‘यहाँको चियामा अहिलेसम्म गाई–भैँसीको गोबरबाहेक अरू मल हालेको छैन,’ उनी भन्छन्, ‘विषादीका रूपमा पनि गाई–भैँसीको गहुँत नै प्रयोग गरिरहेका छौं।’ 

किसानले उद्योगलाई उच्च गुणस्तरको हरियोपत्ती ल्याइदिने गरेको र यहाँका प्राविधिक पनि स्थानीय नै रहेको उनले जनाए। उद्योगको व्यवस्थापन पक्ष राम्रो भएकाले पनि चियामा गुणस्तर कायम गर्न सघाएको उनको भनाइ छ। 

उद्योगले २ पात १ सुइरो भएको पत्तीमात्रै खरिद गर्ने गरेको छ। तयारी चियामा गुणस्तर कायम गर्न अरू पत्ती नलिने गरेको उद्योगले जनाएको छ।

‘मेसिनले टिपेको चिया पनि हामी लिँदैनौँ,’ सहकारी व्यवस्थापक पदम तामाङले भने, ‘किसानलाई पनि हरियोपत्ती गुणस्तरीय बनाउनेबारे तालिम दिएका छौं। चिया गुणस्तरीय बनाउनेमा ८० प्रतिशत हात चाहिँ किसानकै हुन्छ।’ यहाँ 'ब्याक टी' र 'ग्रिन टी' अन्तर्गत ३/३ खाले तयारी चिया उत्पादन हुन्छन्।

चिया गुणस्तरीय बनाउन चिया विज्ञ र विश्वका विभिन्न देशबाट आएका व्यापारीले समेत सहयोग गरेका छन्। किसानलाई तालिम दिएका छन् भने प्रोत्साहन पनि गरिरहेका छन्। चिया प्रशोधनमा मौलिक प्रविधि नै प्रयोग भइरहेको उद्योगका प्राविधिक दिनेश श्रेष्ठ बताउँछन्।

‘म पनि चिया किसान नै हुँ, उद्योगमा प्रशोधनको काम गर्न थालेको करिब दशक भयो,’ उनले भने, ‘मैले चिया प्रशोधनको सीप यही उद्योगमा सिकेको हुँ, अहिलेसम्म यहीँ कार्यरत छु।’ 

उनले कतै–कुनै कलेजमा पढेर नभई सामान्य तालिम लिएर चिया प्रशोधन गरिरहेको जनाए।

२०७५ सालमा रुसमा भएको गुणस्तर परीक्षणमा पनि यहाँको चियाले ‘बेस्ट क्वालिटी’ को प्रशंसा पाएको थियो। उद्योगमा यो वर्ष ११ हजार किलो तयारी चिया उत्पादन भयो। पोहोर ९ हजार र परार ८ हजार किलो उत्पादन भएको व्यवस्थापक तामाङले जानकारी दिए।

यो वर्ष सहकारीले किसानलाई हरियो पत्तीको मूल्य प्रतिकिलो १ सय २० रुपैयाँ दिने निर्णय गरेको छ। पोहोर प्रतिकिलो सय रुपैयाँ रहेको यो दर परार साल ९५ रुपैयाँ थियो। सहकारीले एक पटक तोकेकै मूल्य सिजन अनुसार फरक नगरी वर्षभर दिने गरेको छ।

प्रकाशित: १५ चैत्र २०७९ १४:२६ बुधबार