कला

‘श्रीवल्ली’का लघुकथा

लघुकथा

१) ती बच्चा

ऊ सिनियर गायनो सर्जन होे। हरेकपल्ट अपरेसन थिएटरमा जाँदा भगवान्सँग प्रार्थना गर्छ,‘भगवान्, आज मबाट कुनै बालकको हत्या नहोस्।’

३० वर्षको यो सेवामा कति बालक मारिए, उसैलाई थाहा छैन। कति भ्रूणमै मारिए। कति डेलिभरी सर्जरीमा मारिए। लेखाजोखा नै छैन तर यस्ता घटनाबाट हरेकपल्ट चिन्तित हुन्छ र उसलाई लाग्दछ–म डाक्टर हुँ। जन्म र मृत्यु सत्य हुन् तर म मृत्युको कारण किन बन्ने? म बनाउन सक्दिनँ भने मैले किन मार्ने?

पैसाको अभावमा अपरेसनपछि अस्पतालमै आफ्नो बच्चा छोडेर भागेका सयौं जोडी घटना उसले देखेको छ। ती अपरेसन उसले गरेको छ। अलपत्र पारिएका ती बच्चालाई बालमन्दिरमा सुम्पिने गरेको छ।

ऊ यो मृत्युको प्रश्नमा सधैं अन्योलमा हुन्छ। त्यसैले आज ऊ यही अन्योलमा अनायास बालमन्दिर पुगेको छ। त्यहाँ उसले अपरेसन गरेर बाँचेका अनाथ बालबालिकाहरू धेरै छन्। बालमन्दिर प्रमुखले उसलाई भने, ‘डाक्टर सा‘ब, तपाईं यी बच्चाको भगवान् हुनुहुन्छ। तपाईंका ज्ञानका कारण यी आज जिउँदा छन्।’

ती बालबालिकाहरू आएर उसलाई फूलका गुच्छा दिए र भव्य स्वागत गरे। यो देखेर ऊ झन् अन्योल भयो र बालमन्दिर प्रमुखलाई भन्यो,‘प्रमुखज्यू, मेरै हातबाट कैयौं बालबालिकाको मृत्यु भएको छ। ती क्षणले म ग्लानि महसुस गर्दछु।’

प्रमुखले भने-एकपल्ट यी तपाईंले अपरेसन गरेर बँचाएका बालबालिकाको अनुहार हेर्नुस् र सोच्नुस्–बगैंचामा फूलहरू फुलिरहेका छन्।

२) जेल

बुबा जेल प्रमुख हुनुहुन्थ्यो। हाम्रो ठूलो घर थियो। ठूलो कम्पाउन्ड थियो। पर्खाल निकै अग्लो थियो। पर्खालमाथि तारबार गरिएको थियो। एकदिन मैले बुबालाई सोधेकी थिएँ, ‘बाबा, यत्रो अग्लो पर्खालमाथि किन फेरि तारबार लगाएको?’

बुबाले छोटो उत्तर दिनुभएको थियो-सुरक्षाका लागि।

हाम्रो घरका छोरीहरूले बाहिर कोही पुरुष साथी लिएर मात्र जानुपथ्र्यो। स्कुल जाँदाआउँदा कुनै पुरुषले गाडीमा छोडिदिन्थ्यो। घरमा सबै भौतिक आवश्यकता पउलभन्दा बढी थिए। ट्युसन पढ्न पनि बूढा मास्टर छानेर घरमै बोलाइन्थ्यो।

साथीहरू फुकाफाल भएर हिंड्थे। म परिवारका अनुशासनभित्र रइस ठानिएर बस्थें।

एकदिन मैले जेलबारे बुबालाई सोधें, ‘बाबा, जेलमा पनि घर हुन्छ,हो?’

बाबाले उत्तर दिनुभयो, ‘हो, हुन्छ। घर नभै कहाँ बस्छन् त कैदीहरू?

‘उनीहरूले काम पनि गर्नु पर्दैन हो?’ मैले थप जिज्ञासा राखेकी थिएँ।

‘जेलमा परेको अपराधीले पनि के काम गर्नु त?’ बुबाले मतिर नहेरी उत्तर दिनुभएथ्यो।

मेरो जिज्ञासा अझै शान्त भएको थिएन।

सोधें, ‘अनि खान कसले दिन्छ?’

बुबाले अलि झर्केर जवाफ दिनुभएथ्यो–सरकारले नि, कसले दिने?

मैले बुबालाई थप सोधें,‘अनि लत्ताकपडा पनि सरकारले नै दिन्छ?’

बुबाले मतिर फर्किर अलि रिसाएरै भन्नुभयो, ‘कति चाहिएको यसलाई नालीबेली! दिन्छ नि, थुनेपछि नदिएर भो?’

‘उनीहरूले पढ्न पाउँदैनन् हो बाबा?’ मैले अनायासै सोेधेंछु।

बुबाले अचम्म मानेर मेरा आँखामा ट्वाल्ल परेर हेरेर भन्नुभयो, ‘आज कत्ति कुरा चाहिएको तँलाई? जेलभित्रै मास्टर गएर पढाउँछन् नि।’

अनि मैले बाबाको अनुहारमा हेरेरै भनेकी थिएँ, ‘त्यसो भए त हाम्रो घर र जेल भन्नु त एउटै हो रहेछ हगि बाबा।’

 ३) उसको प्रश्न

म सम्झिरहेको छु कि मेरा बुबा र आमामा निकै घनिष्ठ प्रेम थियो। दुवै जना बाहिर काम गर्नुहुन्थ्यो। घरको काम पनि मिलेर गर्नुहुन्थ्यो तर कुसंयोग बुबालाई क्षयरोग भयो। त्यो बेलामा क्षयरोगको कुनै एलोपेथिक औषधि थिएन। आमाले वैद्य देखाएर जडिबुटी खुवाएर भाग्यले ठीक भयो। त्यो बेला आमाले बुबाको यति धेरै सेवा गर्नुभयो कि त्यसको बयान छैन।

त्यो बेला आमाले बुबालाई सोध्नुभएको थियो, ‘बाबा, म अशक्त बिरामी परें भने हजुरले पनि मलाई यस्तै सेवा गर्नुहुन्छ?’

बुबाले भन्नुभएको थियो, ‘कस्तो कुरा गरेकी, तिमी र म त दुइटा शरीर एउटा ज्यान हो।’

फेरि कुसंयोग आमा निकै बिरामी हुनुभयो। पक्षघात भयो। बुबाले आमाको हेरविचार गर्नुभयो। तर, बिस्तारैबिस्तारै आमाले थाहा पाउने गरी आमाप्रतिको लगाब कम हुँदै गयो। आमा दुःखी बन्दै जानुभयो। एकदिन आमा बित्नुभयो। बुबाले अर्को बिहे गर्नुभयो।

समय बितेर गयो। म बिरामी परेको छु। मेरी श्रीमतीले मेरो हुनसम्मको स्याहारसुसार गरेकी छिन्। आफ्नो ख्याल नराखी मलाई बँचाइन्। दुई वर्ष थलिएर म तङ्ग्रिएँ। बिस्तारैबिस्तारै काममा जान थालेको छु। एकदिन मेरी श्रीमतीले मलाई ख्यालख्याल गर्दागर्दै भनिन्, ‘म हजुर जस्तै बेरामी भएँ भने हजुरले मेरो सेवा गर्नुहुन्छ?’

 ४) हामी एकै हौं

लैलामजनु सिनेमा हेर्न एक्लै हल गएको थिएँ। संयोग त्यही दिन उनीसँग रोएकै अवस्थामा भेट भएथ्यो। मुटु धडकिएकै बेला प्रेम भएथ्यो। त्यही रन्कामा बिहे भएथ्यो।

म ८० वर्षको भएँ। मेरी श्रीमती मभन्दा छ महिना जेठी थिइन्। उनी ६० वर्षकी हुँदा स्वर्गवास भइन्। त्यस यताका २० वर्ष म विधुर भएर बिताइरहेको छु। उनको सम्झना ताजा भएर आइरहेको छ।

उनी भन्ने गर्थिन्,‘हामी दुई ज्यान होइनौ। आधाआधा पनि होइनौ। एकै हौं।’

म अलि भौतिकवादी मान्छे फिस्स हाँसेर उडाइदिन्थें। लाग्दथ्यो जन्मनु अलगै, मर्नु अलगै अनि कसरी एकै हुनसक्छ ज्यान?

हाम्रो सम्बन्ध यति सुमधुर थियो कि बिहे भएपछिका ४० वर्ष एकै दिन झगडा नगरी सँगै बितायौं। खासमा म उनको मायालु कुराबाट सधैं हार्थे। त्यसैले बाजिगर थिएँ। जीवन सुखद् बितेको थियो।

उनको मृत्युपछि अर्को गर्लफ्रेन्ड वा श्रीमतीको व्यवस्था गर्न मन लागेन। खोई किन लागेन,थाहा नै पाइनँ।

अचेल म युट्युवमा प्राय सधैं लैलामजनु सिनेमा हेर्छु। अनि उनीसँगै सिनेमा हेर्दै रोएको अनुभूति हुन्छ। खाना खान थाल्छु। दुइटा थाल हुन्छ। एउटा उनको, एउटा मेरो। पहिले पनि उनी कम खान्थिन्। उनको भागको मैले नै खानुपथ्र्यो। अहिले पनि म उनको भाग खान्छु। सुत्न जाँदा पहिले पनि मलाई झुक्याउन उनको र मेरो बीचमा तकिया राखिदिन्थिन्। अचेल त पक्का लाग्न थालेको छ कि उनले भनेको हो रहेछ, म र उनी एकै ज्यान रहेछौं। अचेल पनि म उनको ठाउँमा तकिया राखेर सुत्छु अनि कल्पना गर्छु कि त्यो तकिया परतिर उनी अलग्गै मस्त सुतेकी छिन्।

५) जेलकी आमा

म गर्भे टुहुरो हुँ। हाम्रो परिवार सामान्य थियो। आमालाई राजनीतिक कारण देखाएर जेल हालिएको थियो। आमालाई जेल चलान गरेपछि मलाई घरका मान्छेले घरबाट निकाला गरेका थिए।

मैले बालस्याहार केन्द्रमा काम पाएको थिएँ। त्यहाँ भएका केटाकेटीले मलाई पनि लेखपढ गर्न सिकाएका थिए। फरक के थियो भने उनीहरू स्कुल जान्थे। म काम गर्थें। म आमालाई भेट्न बेलाबेलामा जेल गइरहन्थें।

एकदिन आमाले मलाई भन्नुभयो, ‘छोरा, के गर्दैछौ?’

मैले सहज उत्तर दिएको थिएँ, ‘बालस्याहार केन्द्रमा काम गर्छु। फुर्सदमा पढ्छु पनि।’

आमाले गहभरि आँसु पारेर भन्नुभएको थियो, ‘छोरा, तिमीलाई समाजको असल मान्छे बनाउने मन थियो। अनाहकमा मलाई थुनेको छ सरकारले। जीवनसँग हरेस नखाऊ है बाबु।’

मैले भनेको थिएँ, ‘असल कमसल मलाई थाहा छैन तर म अन्यायका विरुद्ध लडिरहन्छु आमा।’

आमाले भन्नुभएको थियो, ‘तर चिन्ता लागिरहेको छ छोरा, त्यो परिवर्तन आउँदासम्म हामी भेटिने हो कि होइन?’

मैले फेरि भनेंछु, ‘खासमा जुगौं जुग जुधिरहने हो नि आमा।’ 

(कथाकार पोखरेलका लघुकथासंग्रह ‘श्रीवल्ली’मा सङगृहीत पाँच लघुकथा।)

प्रकाशित: २८ कार्तिक २०७९ ०७:५८ सोमबार

अक्षर