कला

गाथा लोकतन्त्रका जननीको

आज हामी वैयक्तिक स्वतन्त्रताको अधिकार निर्वाध उपयोग गरिरहेका छौँ। कतैबाट मानव अधिकार उल्लङ्घन भएमा त्यसका लागि खबरदारी गर्ने संयन्त्रहरू निर्माण भएका छन्। सरकारले कुनै सूचना लुकाउन चाह्यो भने त्यसलाई विफल तुल्याउने प्रक्रिया विकास भएको छ। नेताहरूको आलोचना गरेकै कारण कसैले कारागारको यात्रा गर्नुपर्दैन। कुनै पनि दल खोल्ने र रोज्ने स्वतन्त्रता उपयोग गरिरहेका छौँ। मनले रोजेको व्यवसाय गर्न सक्षम छौँ। घुमफिर र शान्तिपूर्वक विरोध गर्ने अधिकारले सुसज्जित छौँ।

खासगरी विक्रम संवत् २०४६ सम्म जान्ने नभइसकेको पुस्ताका लागि यो अवस्था सामान्य लाग्न सक्छ। किनकि यो अवस्था आउनुअघि नेपालीले भोगेका दुर्गतिका दिन कस्ता थिए र ती दिनलाई आजका दिनमा रूपान्तरण गर्न केले भूमिका निर्वाह गर्‍यो भन्ने जानकारी अभाव छ। वास्तवमा मुलुकमा प्रजातन्त्र पुनस्र्थापनाअघि वाक् स्वतन्त्रतामात्र हैन, माथिका प्रायः सबै विषय निषेधित थिए। मन परे पनि नपरे पनि एउटै वंश र दलको वकालत गर्न बाध्य हुनुपथ्र्यो। नत्र ज्यानैसमेत गुमाउनुपर्ने अवस्था थियो। यस्तो अँध्यारो युगबाट मुलुकलाई आजको अवस्थामा ल्याइपुर्‍याउन विशेष भूमिका निर्वाह गर्ने व्यक्तिहरूको त्याग र सङ्घर्षको नालीबेली हो– वीरग्रन्थ।

वीरग्रन्थले विक्रम संवत् १८९१ मा जन्मेका लखन थापादेखि २०२७ सालमा जन्मेका हरिकृष्ण भुजूसमेतले मुलुकका नागरिकको अधिकारका लागि गरेका सङ्घर्षपूर्ण गाथा समेटेको छ। पुस्तकका लेखक तिलकप्रकास कायस्थले यस ग्रन्थमा समेटेका सङ्घर्षशील अन्य व्यक्तित्वमा कृष्णप्रसाद कोइराला, कृष्णलाल अधिकारी, शुक्रराज शास्त्री, चिनियालाल सिंह, नारदमुनि थुलुङ, धर्मभक्त माथेमा, सुवर्णशमशेर, टङ्कप्रसाद आचार्य, सिद्धिचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, केदारमान व्यथित, डिल्लीरमण रेग्मी, धर्मरत्न यमी, सुन्दरराज चालिेस, गङ्गालाल श्रेष्ठ, सुशीलादेवी चालिसे, जगन्नाथ आचार्य, भीमबहादुर तामाङ, गिरिजाप्रसाद कोइराला, दुर्गानन्द झा, सरोजप्रसाद कोइरालालगायत ६० जना छन्।

आफैँ प्रजातन्त्र सेनानी रहेका तिलकप्रकासले ग्रन्थमा उल्लिखित व्यक्तित्वमध्ये धेरैसँग सङ्गतै गरेका थिए। राणा शासनको निशानामा परेपछि भारत पलायन भएका लेखक उतै पनि धेरै क्रान्तिकारीसँग जोडिएका थिए। कतिपयसँग भने पछि भेटेर कुराकानी गरेका थिए भने कतिपयको जानकारीचाहिँ उनीहरूका बारेमा लेखिएका पुस्तक, लेख, अन्तर्वार्ता आदिबाट उतारेका छन्। त्यसैले वीरग्रन्थमा छापिएका व्यक्तिबारेका जानकारी आधिकारिक रहेका अनुमान लगाउन सकिन्छ। भीमदत्त पन्त जस्ता केही व्यक्तित्वका बारेमा यथेष्ठ जानकारी अभाव रहेको तथा झगरु सिंह जस्ता क्रान्तिकारीबारे जानकारी नपाएपछि भेटेरै कुराकानी गरेको लेखकले उल्लेख गरेका छन्। यसबाट थाहा हुन्छ कि लेखकले यो पुस्तक तयारीका क्रममा निकै मेहनत गरेका छन्।

पुस्तकमा कृष्णप्रसाद भट्टराईको जन्म काशी पञ्च गङ्गाघाटमा भएको, उनका पुर्खा गोरखाका राजाहरूका पुजारी रहेका, पुष्पलालले धेरै पहिलेदेखि नै कङ्ग्रेस कम्युनिस्ट मिलेर संयुक्त आन्दोलन नगरेसम्म पञ्चायत ढल्दैन भन्ने घोषणा नै गरेका, सुन्दरराज चालिसे नेपालीबाहेक हिन्दी, बङ्गाली, अङ्ग्रेजी र नेपाल भाषाका समेत राम्रो ज्ञाता रहेका, डा. डिल्लीरमण रेग्मीका १२औँ परपिता कृष्णकर कुमाउमा थलहराको रेगम ग्राममा आएर बस्न थालेका र यही ठाउँमा बस्ने भएकाले रेग्मी थर हुन गएको, गणेशमानलाई राणा शासकले माफी माग्न तयार नभएपछि ६ सय कोर्रा हानेर मुर्छा बनाएका, होस खुलेपछि पुनः कोर्रा बर्साउन आदेश दिएका र बाँसमा हातखुट्टा बाँधी झुन्ड्याइएको, श्री ३ महाराजाहरू र राणा परिवारहरू भारत आउजाउ गर्ने गहवा नामको सानो बस्ती विस्तार हुँदै गएपछि वीरशमशेरले अलौमा रहेका सरकारी अड्डाहरू त्यहीँ सार्ने आदेश दिएसँगै उक्त ठाउँ वीरगन्जका रूपमा चिनिन थालेको, थिरबम मल्लले वीरगन्ज बङ्गालाको ढोकामा गई आफू बडाहाकिमको भान्जा भन्दै भित्र छिरी पेस्तोल निकालेर बडाहाकिमलाई नियन्त्रणमा लिएको जस्ता थुप्रै रोमाञ्चक तथा ऐतिहासिक विषयवस्तु उल्लेख छन्।

पुस्तकमा उल्लिखित प्रत्येक क्रान्तिकारीसँग जोडिएका वा उनीहरूले गरेका घटना अहिलेको पुस्ताका लागि सिनेमाका दृश्यझैँ लाग्न सक्छन्। ‘यस्तो पनि हुन्छ र?, यो कसरी सम्भव हुन्छ?, हैन होला, त्यस्ता साहसी पनि हुन्छन् र भन्या?’ जस्ता थुप्रै जिज्ञासा उत्पन्न हुन्छन् ग्रन्थ पढ्दा। कुनै पात्र यस्तो छैन जसको वृत्तान्त पढ्दा आङ सिरिङ्ग नहोस्। त्यसैले यो ग्रन्थ पढ्ने जोसुकैले पनि वर्तमानमा मुलुकले अभ्यास गरिरहेको अधिकार प्राप्तिको सङ्घर्ष चानचुने थिएन भन्ने थाहा पाउँछ। जसरी कुनै बच्चा जन्मनुअघि आमाले प्रसव पीडा बेहोर्छिन् र बच्चा जन्मिसकेपछि त्यसलाई क्रमशः बिर्सदै जान्छिन्, ठीक त्यसैगरी प्राप्त उपलब्धिहरूले त्यतिबेलाका महान् त्यागीहरूको बलिदान ओझेलमा पर्दै गएको भान हुन्छ। तर पनि यो युगौँ बिर्सिन भने सकिँदैन किनकि इतिहास भनेको इतिहासै हो जो चाहेर पनि मेटिँदैन। वीरग्रन्थ यसको ज्वलन्त प्रमाण हो भने यसका लेखक प्रजातन्त्र सेनानी तिलकप्रकास यसका ज्युँदो जाग्दो साक्षी।

नेपाल भाषामा योमरी, धनमाया, यौन ज्ञान, नुगः जः, वयागु हाथ्या, ख्वबि झसुका, उत्सर्ग, कमला, जीवन दर्शन जस्ता कृति लेखिसकेका तिलकप्रकासले नेपाली भाषामा परिवार नियोजन ः के, किन र कसरी?, यौन ज्ञान ः मनोविज्ञान, शारदा, लक्ष्मण रेखा, झुक्न नजानेको राष्ट्रवादी नेता बिपी कोइराला जस्ता पुस्तक लेखेका छन्। आधा दर्जन पुरस्कार पाइसकेका तिलकप्रकाश ८७ वर्षको उमेरमा पनि लेखन क्षेत्रमा उत्तिकै सक्रिय रहनु अन्यका लागि पनि प्रेरणा हुन सक्छ। राजनीतिक चेतले पूर्ण भए पनि उनका कृति राजनीतिसँग मात्र सम्बन्धित छैनन्। एकातिर राजनीतिक कृति छन् भने अर्कोतर्फ विशुद्ध साहित्यिक। साहित्यिक कृतिमा राजनीति नमिसाउनु र राजनीतिक कृतिमा साहित्य घुलमिल नहुनु उनको लेखकीय विशेषता मान्न सकिन्छ।

नेपालीमा एउटा उखान प्रसिद्ध छ– खोलो तर्‍यो, लौरो बिस्र्यो। हाम्रो सन्दर्भमा पनि अहिले हामी जुन सन्दर्भमा बाँचिरहेका छौँ, त्यो अवस्था कसरी आयो भन्नेबारे धेरै अनविज्ञ छन्। जति विज्ञ छन्, तिनलाई पनि यो अवस्था ल्याउन जीवन उत्सर्ग गर्नेदेखि जेलनेल भोग गर्ने र चरम यातना बेहोर्नेसम्मका योगदानको कुनै मतलव छैन। अर्थात दुनियाँ झन् पछि झन् स्वार्थी बन्दै गएको छ। यस्तो अवस्थामा वर्तमान र भावी पुस्ताको जीवनलाई अधिकारले परिपूर्ण बनाइदिने अमूल्य निधिहरूको योगदान स्मरण गराउने सङ्ग्रह निकालेर भक्तपुर टिबुक्छे निवासी तिलकप्रकासले झनै महŒवपूर्ण योगदान दिएका छन्। जसका कारण इतिहासका विद्यार्थी मात्र हैन, अनुसन्धान गर्नेहरू, नेपालको लोकतान्त्रिक आन्दोलनलाई बुझ्न चाहनेहरू तथा विशेष व्यक्तिहरूका बारेमा जानकारी राख्न चाहनेहरूलाई अमूल्य गुन लाग्न पुगेको छ। सबैभन्दा मुख्य कुरा त मुलुकमा अहिले विद्यमान व्यवस्था कसरी प्राप्त भएको थियो भन्नेबारे नयाँ पुस्तालाई बुझाउने गतिलो सामग्री बन्न सकेको छ वीरग्रन्थ। जसका लागि यो पुस्ता तिलकप्रकाशप्रति आभारी नभइरहन सक्दैन।

ग्रन्थ समेटिएको कागज र छपाइ ठीकैखालको छ। उल्लिखित व्यक्तिहरूको तस्बिर राखिएकाले चिन्न सहज हुन्छ भने सन्दर्भ सामग्रीले उल्लिखित विषयवस्तुलाई पत्याउने बनाएको छ। ग्रन्थ पढ्दा लेखकले निकै मेहनत गरेका, धेरैसँग भेटघाट गरेका तथा पठनीय बनाउन कुनै कसर बाँकी नराखेका लाग्छ। तर पनि पढ्ने क्रममा कहीँ वाक्य लामा, कहीँ दोहोरिएका, अनि कहीँचाहिँ प्रसङ्ग फड्केका वा नमिलेका, व्याकरणगत अशुद्धि जस्ता समस्या ‘भातमा ढुङ्गा’ का रूपमा आइपुग्छन्। अर्थात यति महŒवको सामग्री भएपछि सम्पादनमा अलि ध्यान पुगेको भए ग्रन्थ सुनमा सुगन्ध हुन्थ्यो भन्ने लाग्छ। जे होस्, लेखक कायस्थको अथक मेहनतलाई जति नमन गरे पनि कम हुन्छ।  

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति नवीनप्रकाशजङ्ग शाहको भूमिका रहेको यो ग्रन्थ ललितपुरस्थित सुवर्ण स्मृति परिषद्ले प्रकाशन गरेको हो। साधारण कभरको ६ सय र हार्ड कभरको ८ सय रुपियाँ मूल्य छ भने ग्रन्थ ५७५ पेजमा विभक्त छ। 

प्रकाशित: ५ कार्तिक २०७९ ०२:०८ शनिबार

अक्षर