कला

सम्झनामा शताब्दी पुरुष

घाम उदाएसँगै लट्ठीको सहारामा बखुःबहालमा एक चक्कर लगाउने वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी सधैंका लागि अस्ताएका छन्। जोशीको १०३ वर्षको उमेरमा आइतबार ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा निधन भएको हो।  

पछिल्लो समय डेंगी संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। असोज ७ गतेदेखि किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मुटु र फोक्सो रोगका पनि दीर्घरोगी उनको शुक्रबारदेखि आइसियुमा उपचार हुँदै आएको थियो। उनको मुटुको चालमा समस्या देखिएपछि बिहीबारदेखि तुलनात्मक रूपमा धेरै अक्सिजन दिनुपरेको थियो।  

संस्कृतिविद् जोशीको पछिल्लो पटक गत चैतमा ‘सत्यमोहन’ नामक आत्मकथा सार्वजनिक भएको थियो। पत्रकार तथा लेखक गिरीश गिरीले लेखेको उनको आत्मकथामा जीवनका विविध कालखण्ड समेटिएको छ। उक्त पुस्तक सार्वजनिक समारोहमा उनले लोकसंस्कृति नेपालीलाई एकतामा जोड्ने कडी भएको तर्क राखेका थिए। ‘उहाँको स्वभाव अध्ययन वा अनुसन्धान गरिरहनुपर्ने खालको थियो,’ पत्रकार गिरीले स्मरण गरे, ‘उहाँ देशलाई असाध्यै माया गर्ने एक कर्मयोगी व्यक्ति हुनुहुन्थ्यो। बाँचुन्जेल कहिल्यै थाक्नुभएन। केही न केही गरिरहनुहुन्थ्यो। हाम्रा लागि जीवित इतिहास हुनुहुन्थ्यो। स्मरण शक्ति तेज भएको हुँदा उहाँ हामीलाई इतिहासका विभिन्न पाटो बताउने व्यक्ति हुनुहुन्थ्यो। मेरा लागि मेन्टर तथा अभिभावक हुनहुन्थ्यो। म उहाँकोमा गइरहने हुँदा परिवारको सदस्यजस्तै भइसकेको थिएँ।’

बाबु शंकरदास जोशी र आमा राजकुमारीका पुत्रका रूपमा १९७७ वैशाख ३० गते पाटनको बखुःबहालमा उनी जन्मिएका थिए। १९९७ सालमा दरबार हाईस्कुलबाट एसएलसी उत्तीर्ण उनले त्रिचन्द्र कलेजबाट बिए गरेका थिए। २००१ सालमा उनी जागिरमा लागेका थिए। उनी नेवार समुदायको सांस्कृतिक सम्पदाको अभिलेखीकरणमा पनि जुटेका थिए।

बहुआयामिक व्यक्तित्वका धनी उनी जीवनभर अध्ययन र अनुसन्धानमा लागिपरे। नेपालबाट न्युजिल्यान्ड जाने पहिलो नेपालीसमेत रहेका उनी इतिहासको अनुसन्धान किंवदन्तीमा नभई प्रमाणमा आधारित हुनुपर्ने तर्क गर्थे। उनी २०१० सालमा न्युजिल्यान्ड गएका थिए। उनले २०१३ सालमा ‘हाम्रो लोकसंस्कृति’ कृतिमा मदन पुरस्कार प्राप्त गरेका थिए। औद्योगिक सर्वेक्षणका निम्ति विभिन्न गाउँमा पुग्दा उनले त्यहाँ हुने मेला, पर्वमा खेताला, गोठाला र तन्नेरीले गाउने गीतहरूको संकलन गरेका थिए। उनले संकलन गरेका ती गीत र भाकालाई आधार मानेर ‘हाम्रो लोकसंस्कृति’ नामक पुस्तक प्रकाशित गरेका थिए। उनले २०१७ सालमा पाँचौ शताब्दीदेखि २०औं शताब्दीसम्मको मुद्राको विस्तृत विवरणसहितको ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थका लागि दोस्रोपटक र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि संयुक्त रूपमा तेस्रोपटक २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए। नेपाली इतिहास र संस्कृतिबारे बृहत् अनुसन्धान गरेका उनको ‘कर्णालीको लोकसंस्कृति’ नामक पुस्तक २०२६ सालमा प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको थियो। त्यसपछि प्रज्ञा प्रतिष्ठानको सदस्यसचिव हुँदा उनको नेतृत्वमा प्रतिष्ठानले विविध संस्कृतिको अनुसन्धान र प्रकाशन गर्न सुरू गरेको थियो।

उनले २००२ सालदेखि २००६ सम्म राणाकालीन इन्डस्ट्रियल सर्भे अफिसमा औद्योगिक सर्वेक्षण अधिकारीको रूपमा काम गरेका थिए। त्यसपछि उनले २०१६ सालसम्म डिपार्टमेन्ट अफ स्टाटिस्टिकमा सुपरिटेन्डेन्ट भएर तथ्यांक संकलनको काम गरे। २०१६ सालमा बिपी कोइराला नेतृत्वको सरकारले पुरातत्व तथा संस्कृति विभागको स्थापना गरेर उनलाई निर्देशक (प्रमुख) मा नियुक्त गरेको थियो। त्यसपछि उनी राजधानीको घन्टाघरस्थित तल्लो कोठामा रहेको वीर पुस्तकालयमा संगृहीत पुराना ग्रन्थहरूको अध्ययनमा तल्लीन भएका थिए। त्यहाँ गाग्रीमा राखिएका पुराना मुद्रा (रुपैयाँ, मोहर, आना, पैसा र दाम आदि सिक्का) को अध्ययन गरी उनले ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक पुस्तक निकालेका थिए।

संस्कृतिविद्का रूपमा परिचित उनले तथ्यांक संकलकदेखि पुरातत्व विभागका निर्देशक, नेपाल अमेरिका सांस्कृतिक केन्द्रको कल्चरल सेक्रेटरी र तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवका रूपमा काम गरेका थिए। २०७७ सालमा जोशीको तस्बिर रहेको हुलाक टिकट सरकारले जारी गरेको थियो। उनी जीवित हुँदै सरकारले उनको तस्बिर अंकित एक सय, हजार र २५ सय दरका चाँदीका सिक्का निष्कासन गरेको थियो।

जोशीको इच्छाअनुसार पौभा चित्रकार लोक चित्रकारको नेतृत्वमा चक्र सम्भर पौभा चित्रको काम भइरहेको थियो। कोरोना महामारी सुरु भएपछि उनको स्वास्थ्यमा समस्या देखिएका कारण अस्पताल भर्ना हुने क्रम बढेको थियो। उनी राणा शासन, पञ्चायती व्यवस्था, लोकतन्त्र र गणतन्त्रका साक्षी थिए। नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संवद्र्धन र विकासमा लागिपरेका उनी उज्ज्वल कीर्तिमान राष्ट्रदीप, सुप्रबल गोर्खा दक्षिणबाहु, विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, मानार्थ विद्यावारिधि (काठमाडौं विश्वविद्यालय) लगायतबाट विभूषित थिए।  

तीन पटकसम्म मदन पुरस्कार जित्न सफल उनका ‘नेपालको लोकसंस्कृति’, ‘पुरातत्व एक रोचक कथा’, ‘नेपाली मूर्तिकलाको विकासक्रम’, ‘नेपाली धातु मूर्तिकलाको विकासक्रम’, ‘नेपाली चाड पर्व’, ‘नेपाली राष्ट्रिय मुद्रा’ र ‘कर्णालीको लोकसंस्कृति’ लगायत अनुसन्धानात्मक कृतिहरू प्रकाशित छन्।

नेपाली र नेवारी भाषाका नाटककार तथा कलाकार समेत रहेका जोशीले सन् १९६४ मा नेपाल आर्टस् काउन्सिलको संस्थापक सदस्य हुँदा राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान) को स्थापनामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सन् १९६५ देखि १९६९ सम्म बेइजिङमा बसेर उनले अरनिकोलाई विश्व र नेपालीमाझ परिचित गराएका थिए। उनले रेडियो पेकिङ (चीन) मा करिब ६ वर्ष बिताएका थिए। त्यहाँ बस्दा उनले नेपाली भाषामा समाचार प्रसारण गर्नेदेखि चिनियाँलाई नेपाली भाषा सिकाउने काम गरेका थिए।

उनी नेपाल भाषा एकेडेमीका कुलपतिसमेत भएका थिए। त्यसबेला उनी बखुःबहालस्थित निवासबाट कीर्तिपुरस्थित नेपाल भाषा एकेडेमीसम्मको साता किलोमिटर पैदल हिँडेर जान्थे। प्रज्ञा प्रतिष्ठानले वार्षिक रूपमा आयोजना गर्ने गाईजात्रा कार्यक्रमको सुरूवात जोशीले गरेका थिए। जोशी उच्च विचारसहित सरल जीवन बाँचेका थिए।  

उनले कविता, कथा, नाटकलगायतमा पनि कलम चलाएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानले उनलाई आजीवन प्राज्ञ सदस्यको उपाधि दिएको छ। २०२६ देखि २०३६ सम्म प्रज्ञा प्रतिष्ठानमा हुँदा उनले कला, संस्कृति र इतिहासमा अनुसन्धान गरेका थिए।

जोशीले मरणोपरान्त आफ्नो शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गरेकाले शवलाई अन्तिम श्रद्धाञ्जलीपछि किष्ट मेडिकल कजेज तथा शिक्षण अस्पताललाई प्रदान गरिने उनको परिवारले जनाएको छ। जोशीका पत्नी (राधादेवी) र ६ छोराछोरी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले शतब्दी पुरुष जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री देउवाले शताब्दी पुरुष जोशीको निधनको खबरले आफू दुःखी भएको र उनले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैं सम्झिरहने बताएका छन्। ‘शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु। उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैं सम्झिरहनेछ,’ प्रधानमन्त्री देउवाले भनेका छन्। उनले जोशीको आत्माको चिरशान्तिको कामना गरेका छन्।

प्रकाशित: ३१ आश्विन २०७९ ०१:०४ सोमबार

संस्कृतिविद् सत्यमोहन जोशी