कला

स्वतन्त्रताको मूल्य

लघुकथा

१) देशभक्त पार्टी

चुनाव आएको थियो। देशभक्त पार्टीले उसलाई फकायो। प्रयोग गर्‍यो। पार्टीले उसलाई भनेको थियो- हाम्रो सरकार मात्र बनोस्, हामी जनताका सारा समस्या समाधान गर्छौं। खाडी मुलुकको तातोमा गएर काम गर्नुपर्ने परिवेशको अन्त्य गर्छौं। सरकार बन्नेबित्तिकै तिमीलाई जागिर पक्का दिन्छौं।

संयोग देशभक्त पार्टीले चुनाव जित्यो र सरकार बनायो। ऊ कतिपल्ट काठमाडौं गयो। नेतालाई भेट्यो तर जागिर भने पाएन।

समय बित्यो। सधैंझैं बेरोजगार बिहान उठ्यो। उसका आँखा बन्जड बारीमा परे। खडेरीले तुलफूल सबै मरेका थिए। बालीनाली स्वाहा भएका थिए। आफ्नो घरको भित्तामा हेर्‍यो। देशभक्त पार्टीको ‘स्वदेशमा सबैलाई रोजगार’ भन्ने नारा लेखिएको तुल थियो।
पल्लो खाटमा बाबु खोकिरहेका थिए। घरीघरी ऐया भनेको आवाज आइरहेथ्यो। रोगी आमाको अनुहार चाउरी परेको थियो। भर्खरकी श्रीमती बैंसमै झोल्लिएकी थिई। ऊ भन्थी-काल नआउञ्जेल त बाँच्नुपर्छ नि। केही इलम खोज न।

उसले त्यही सरकार चलाइरहेको पार्टीको तुललाई एकटकले हेर्‍यो र सोध्यो-सरकार म भोकले मर्ने भएँ। मेरा बाआमा औषधि नपाएर मर्ने भए। श्रीमती शोकले मर्ने भई। केही उपाय बताऊ न सरकार। भोट मात्र हालेको थिइनँ, आफ्नै पैसा खर्च गरेर खटेको पनि थिएँ। लौन गुहार।

त्यो देशभक्त पार्टीको तुललेकुटिल मुस्कुरायो र भन्यो-यस्तो दुर्दशा खेपेर कति बस्छस्? तँ पनि जा। हामीलाई पनि रेमिट्यान्स पठा। सरकारले संसारका कतिपय देशमा सम्झौता गरेर नै कामदार पठाउने व्यवस्था गरेको छ त। अब सरकारले के मात्र गर्नु?

२) पुनर्जन्म

सडकपेटीमा अधबैंसे मान्छे बसेको थियो। मैलो थियो। थोत्रे झोला थियो। साथमा एउटा कुकुर थियो। कुकुर उसलाई नै ट्वाल्ल परेर हेरिरहेको थियो। कुकुरको ढाडमा सुम्सुम्याइरहेको थियो।

यो दृश्यले मेरो मन कस्तोकस्तो भयो। मैले ऊनजिक गएर १ सय रूपियाँको नोट दिंदै भनें-केही किन्नुस्। खानुस्। यसलाई पनि खुवाउनुस्।

उसले नोटलाई एकटकले हेर्‍यो र खल्तीमा हाल्यो। अनि भन्यो-म त यसलाई नखुवाई खाँदै खान्नँ। यो जेडी पनि मैले नखाई खाँदैन।

मैले उसको परिचय मागें। उसले भन्यो-यति थोरै पैसामा मेरो र जेडीको कथा भन्दिनँ।

उसको जवाफ सुनेर म अचम्ममा परें अनि फेरि सोधें-कति पैसा दियो भने भन्नुहुन्छ त?

५ सय रुपैयाँ पाएपछि बोल्यो:

-सा’ब, जन्मन त म मान्छेकै कोखमा जन्मेको हुँ।

-यो जेडीकी हजुरआमा थिई, त्योबेला। म ऊसँग खुब मिल्थें। खेल्थें। हजुरआमा मरेपछि,यसकी आमा थिई साथी।

-म कुलतमा लागू पदार्थ सेवन गर्थे। जति म सेवन गर्थें उति परिवार तथा समाज मलाई ‘कुकुर’ भनेर अपहेलना गर्थे।

-जेडीकी आमा योजेडी जन्मेको १५ दिनपछि नै मरी। मैले घर छोडेर अर्कै शहरमा भाग्ने विचार गरें। मैले हिंड्न थालेको परिवारका कुनै सदस्यले थाहा पाएनन्। तर यही १५ दिनको जेडी मेरो पछिपछि लुरुलुरु आयो।

- यो शहरमा पनि मैले पाउने केही थिएन। यही जेडी थियो। म थिएँ।

-यो जेडी म जे खान्छु, त्यही खान्छ। म सडकपेटीमा सुत्छु, ऊ पनि मसँगै सुत्छ। म बिरामी पर्दा ऊ रुन्छ। ऊ बिरामी पर्दा म रुन्छु।

-अचेल त म भगवानसँग प्रार्थना गर्न थालेको छु, पुनर्जन्म हुन्छ भने म जेडीकै साथी हुन पाऊँ। किनभने नि सा‘ब, यो जेडीले मलाई मान्छेले जस्तो  ‘कुकुर’भनेर कहिल्यै अपहेलना गर्दैन।

३) सत्य

यतिबेला भने ती लुकाएर राखेका पेन्टिङहरू एलबमबाट झिकेर हेर्न थालेकी छु। अहिले मलाई रोक्ने कुनै समाज छैन। मेरा जीवनका नांगा सत्यहरू ती पेन्टिङमा जीवन्त बनेका छन्। अहिले महसुस भएको छ कि आफ्नै नांगा पेन्टिङहरूले बोकेको सबै मेरै सत्य हुन्। तर ती फरक आफैमा फरक रहेछन्।

सम्झिरहेकी छु। म केटाकेटी नै थिएँ। महिला सदस्यलाई समाजले मात्र होइन, परिवारभित्र पनि हेपेको देखेर दिक्क लाग्थ्यो। मलाई लाग्दथ्यो कि महिला हुनु नै गल्ती हो। पुरुष भएर जन्मनु सत्य हो। समय क्रममा मेरो छाती बढ्न थाल्यो, म झन् चिन्तित बनें। महिनावारी भयो, झन् दिक्दार बनें। मेरो छाती, महिनावारी, मेरो पहिरन, सब बेकार हुन्, सत्य त केटाहरूको स्वतन्त्रता हो भन्ने लाग्थ्यो।

मैले पेन्टिङ सिकें। मलाई पोर्टेट चित्र बनाउन खुब मनपथ्र्यो तर मलाई शृङ्गारिक देखिने/बुझिने चित्र बनाउन बन्देज थियो। चित्र बनाउँदै गर्दा एकदिन मलाई मेरी आमाले मेरा गालामा म्वाइँ खाएको सम्झना आयो। आमाले मलाई बाथरुममा लगेर नांगै पारेर नुहाइदिएको दिन कल्पना गरें। स्कुलमा छँदा केटा साथीले मेरो अलिकति खुला छाती नजानिंदो किसिमले हेरेको अनुभूति गरें।

बिहे भयो। श्रीमान्ले नंग्याउनु भयो। यसरी मैले देखें कि समाजमा मान्छे नांगो सत्य चाहन्छ। कोही अर्ध नांगो कोही पूर्ण नांगो। त्यसकारण म सोच्न थालें कि नांगो हुनु संसारको सत्य हो।

मलाई नांगो सत्य खोज्न मनलाग्यो। सबै परिवेशको आफ्नै नांगो पेन्टिङ बनाएँ। केटाले हेर्न खोजेको छातीको, यौनाभिमुख हुँदाको, बाथरुमको आफ्नू नांगो तस्वीर बनाएँ र हेरें। म त्यो नांगो तस्विरमा अप्सराझैं सुन्दरी देखिएँ। सत्य देखिएँ र सत्य लुकाएँ।

कोठामा दर्शनशास्त्रमा स्नातक गर्दै गरेको नातिको प्रवेश भएको छ। मैले उसलाई सोधेकी छु-बाबु, संसारमा सत्य के हो?

उसले निमेषमै भन्यो-हजुरआमा, सत्य कहाँ सधैं एउटै हुन्छ र? हामीलाई सत्य लागे सत्य र असत्य लागे असत्य न हो।

४) साथी

दिनेश र म एउटै स्कुलको एउटै कक्षामा पढ्थ्यौं। एउटै बेन्चमा बस्थ्यौं। म एकदम धनी बाउको छोरा थिएँ। ऊ गरिब बाउको छोरा थियो तर स्कुलमा ऊ अब्बल थियो।

एकदिन स्कुल सकेर म घर आएको थिएँ। आमासँग अँगालो हाल्न मन थियो। आमातिर गएर अँगालो हाल्न खोजेको थिएँ। आमाले भन्नुभएथ्यो-पार्टी जान आँटेकी छु। भो झुन्डिन नआइज। सारी सबै खुजमुजिन्छ। मेकअप पनि बिग्रन्छ।

अनि आमाले धाईआमालाई कराएर भन्नुभयो–ए गञ्जे, यसलाई लुगा फेराइ दे। खाजा खान पनि दे।

मलाई नमीठो लाग्यो। एकदिन दिनेशलाई लिएर घर आएको थिएँ। दिनेश गएपछि आमाले मलाई भन्नुभएको थियो-बाबु, तेरा साथी कस्ताकस्ता गरिब, फोहोरी र हेर्दैमा तर्साउने खालका छन् हौ? भोलिदेखि त्यो दिनेशेलाई नल्या घरमा।

त्यसपछि मलाई झन् नरमाइलो लाग्यो। एकदिन दिनेशले मलाई घर लिएर गयो। थोत्रो र पुरानो टिनको घर थियो उसको। ऊ आएको चाल पाएर उसकी आमाले पहिले गेटमै उसलाई अँगालो हाल्नुभयो। मलाई पनि अँगालो हाल्नुभयो अनि उसकी आमाले भन्नुभयो-तिमीहरूलाई भोक लागेको छ। म खाजा बनाउँछु।

खाजा खाएर म घर पुग्दा अलि ढिलो भइसकेको थियो। दिमागमा उसकी आमाको वात्सल्य आइरहेको थियो। यत्ति नै बेला आमाले मलाई गाली गर्नुभयो-कहाँ गएको थिइस्?

मैले जवाफ दिएको थिएँ-दिनेशकोमा।

आमा निकै रिसाउनुभयो र भन्नुभयो-त्यो दिनेशेकोमा नजा भनेको होइन? तिनीहरू हाम्रा काँटका होइनन् भन्ने थाहा छैन तँलाई?

अनि मैले भनेको थिएँ-आमा, आज मैले एक थोक ज्ञान पाएँ।

आमाले भन्नुभयो-के ज्ञान पाइस् तँ फुच्चेले?

अनि मैले भने-आमाको माया पाऊँन त गरिब नै हुनुपर्ने रहेछ।

 ५) स्वतन्त्रताको मूल्य

एक दिन १२ बर्से छोरीले मलाई सोधिन्-मामू, सुरक्षा र स्वतन्त्रता कुन ठूलो हो?

प्रत्युत्तरमा म उनलाई आफ्नै कथा सुनाइरहेकी थिएँ-‘छोरी,म सम्भ्रान्त परिवारमा जन्मेकी हुँ। खान्दानी चालचलनको घेराले बाँधिनुपर्ने नै हुन्थ्यो। मलाई एक्लै हाटबजार र पार्क जाने स्वतन्त्रता थिएन। स्कुल सकेर कलेज भर्ना भएकी थिएँ। अरू साथीहरूको स्वतन्त्रता देखेर म लोभिन्थें। उनीहरू रेस्टुरेन्टमा गएर खान सक्थे। रात्रि क्लबमा समेत जान्थे। मसँग सुरक्षा त थियो तर स्वतन्त्रता थिएन।

कलेजमा साथीहरू विपरीत लिंगको आकर्षणमा रौसिन्थे। रमाइलो गर्थे। मलाई पनि सँगै पढ्ने उमेश खुब मनपरेको थियो। ऊ पनि मलाई मन पराउँथ्यो।

कलेजबाट भारतको विभिन्न शहरमा शैक्षिक भ्रमण जाने निधो भएको थियो। मैले मनमनै त्यो भ्रमणमा उमेशसँग बातचित गर्ने, रमाउने र प्रेम साटासाट गर्ने योजना बनाएकी थिएँ।

घरमा आएर बुबाआमालाई भनेकी थिएँ-हाम्रो कलेजबाट भारतका शहरमा शैक्षिक भ्रमण जाने कार्यक्रम छ, म पनि जान्छु है।

बुबाले तत्काल भन्नुभएथ्यो-हुन्न छोरी, म त्यो रिस्क लिन सक्दिनँ।

आमाले थप्नुभएथ्यो-तिमी कुनै हालतमा पनि जान हुँदैन छोरी। यो सब तिम्रो सुरक्षाका लागि हो।

पैसाको त कुनै कमी थिएन। मलाई थाहा थियो, मेरा बाबुआमा मलाई निकै माया गर्नुहुन्थ्यो। तर, उहाँहरू मलाई बुझ्ने कोसिस भने बिलकुल गर्नु हुन्न थियो। खाली मैले नै उहाँहरूका मान्यताहरूलाई बिनासर्त मान्नुपर्थ्यो। र पनि धेरै केटीसाथी, सर र मिसहरू पनि शैक्षिक भ्रमण जाने कुरा बाबुआमालाई बताएकी थिएँ। अलि धेरै ढिपी गरेकी थिएँ। जिद्दी गरेकी थिएँ।

बुबाआमाले रिसाएर मलाई एउटा कोठामा थुनिदिनुभएको थियो। म जान नपाउने  भएपछि उमेशले पनि शैक्षिक भ्रमण जान हापेछ। र एक रात,ऊ सुटुक्क मेरो घरकम्पाउन्डमा आयो। मेरो कोठाको झ्यालको ग्रिल फुकाल्यो र मलाई त्यही झ्यालबाट बाहिर निकाल्यो। त्यसपछि हामीले जीवनको उन्मुक्त यात्रा सुरु गर्‍यौं। तर मैले बाबुआमा, खान्दानी परिवेश तथा सारा समाज गुमाएँ। छोरी मैले आफ्नो कथित सुरक्षाको पर्खाल तोडेर स्वतन्त्रताको बाटो आफैंले तय गरेकी हुँ। अब तिमी नै भन?’ 

(लघुकथाकार खेमराज पोखरेलको लघुकथासंग्रह ‘श्रीवल्ली’ मा सङ्गृहीत।)

प्रकाशित: २४ आश्विन २०७९ ०८:०४ सोमबार

अक्षर