कला

आर्थर गनकाे ‘टुबोर्ग होमकमिङ टुर’ बेजोडका साथ सुरु

आर्थर गन् नामले चर्चित गायक दिवेश पोखरेलले शनिबार राति क्लब प्लाटिनममा भरपूर दर्शकमाझ टुबोर्ग होमकमिङ टुरको सुरुवात गरेका छन्। उक्त कार्यक्रम उनले ‘के पिर पर्‍यो तिमीलाई?’ गीतबाट सुरुवात गरेका थिए। ‘लभ इज माई रिडेम्पसन’, ‘न्यानो घर’ जस्ता उनका लोकप्रिय गीतहरूले दर्शकबाट निकै ताली बटुलेको थियो। समग्रमा दर्शकले आर्थरका नेपाली र अंग्रजी गीतको मज्जा लिए भने क्रिडेन्स् क्लियरवाटर रिभाइभल्को ‘ह्याब् यु एभर सिन द रेन’ जस्ता हिट गीतहरूबाट पनि भरपूर आनन्द लिए।

क्लब प्लाटिनममा आफ्नो टुरको उद्घाटनमा दर्शकको अपार माया र समर्थन पाएका आर्थरले पोखरा, चितवन, बुटवल, धरान र बिर्तामोड सहरहरूमा पनि प्रत्यक्ष प्रस्तुति दिने भएका छन्। सन् २०२० मा अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल अठारौं सिजन’ को एक हिस्सा बनेपछि आर्थर गन्को लोकप्रियता निकै बढ्यो। प्रायः दर्शकले उनलाई अमेरिकन आइडल अडिसनबाट चिन्न सक्छन्; जहाँ उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रिडेन्स् क्लियरवाटर रिभाइभल्को ह्याब् यु एभर सिन द रेन नामक गीत गाएका थिए। उनको प्रस्तुतिलाई सबै निर्णायकले धेरै प्रशंसा गरेका थिए भने विश्व प्रसिद्ध गायिका केटी पेरीले ‘ही इज द बेस्ट’ भनी उनको प्रशंसासमेत गरेकी थिइन्।

आर्थर गन् उक्त शोको अठारौं सिजनको उपविजेता रहे। उनको भिन्न र अद्वितीय स्वरलाई धेरै लोकप्रिय अन्तर्राष्ट्रिय गायक तथा कलाकारले समस्त कार्यक्रमभर प्रशंसा गरे। टुबोर्गको संगीतसँग निकै गाढा सम्बन्ध रहेको छ र टुबोर्गले नेपालमा आफ्नो सुरुवातदेखि नै नेपाली संगीत क्षेत्रको उत्थानका लागि समर्थन गर्दै आएको छ। त्यसैले सोही प्रवृत्तिलाई निरन्तरता दिँदै टुबोर्ग यस टुरको शीर्ष प्रायोजक रहेको छ।

गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्ट भन्छन्, ‘टुबोर्गको संगीतसँग लामो सम्बन्ध रहिआएको छ। टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतका विभिन्न विधालाई सधैं समर्थन गर्दै आएको छ। सोही समर्थनलाई निरन्तरता दिँदै आर्थर गन्सँग आबद्ध हुन पाउँदा निकै गर्व महसुस गरेका छौं किनभने उनको संगीतमार्फत नेपाली संगीतप्रेमीले गौरवान्वित भएको महसुस गर्न पाएका छन्।’

प्रकाशित: ६ भाद्र २०७९ ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App