कला

आयौं है व्यास गुफा!

नियात्रा

त्यसो त म अमेरिकामा बसेर नेपालको ४ महिने यात्राको मेसो मिलाउन क्यालेन्डरका पानामा समय खर्चिंदै थिएँ र गम्दै थिएँ–चैत्रको १५ गते त म नेपाल पुगिहाल्छु। वैशाखको स्रष्टा पदयात्रामा त कसो नपुगिएला हौ गाँठे!

नेपालको भूमि टेकेपछि पनि केको टनटनी टाउको दुखाइ होला मेरो! भनिन्छ नि सुसे धन्दा। नेपाल गए कपालसँगै, बर्मा गए कर्मसँगै। म हराएको छु जीवनका दलदलमा। भसोटमा। तर अचानक उम्दा कथाकार मन्दिरा मधुश्रीको ‘दाजु, स्रष्टा पदयात्रामा जाने होइन?’ भन्ने मधुफोनले झल्याँस्स भएको छु। यात्राको फेहरिस्त बताउँदै छिन् बैनी मन्दिरा–शुक्रबार जाने। आइतबार फर्कने। दुई रात तीन दिन।

त्यसैले त म यो २०७९ सालको नव वर्षको पहिलो रातमा सुखद छटपटीमा छु। रैथानेलाई ‘कौन पुछे खेसडीका दाल’ होला यो यात्रा। जाबो दमौली त होला पुगेकालाई। तर म जस्तो नपुगेको अलमस्त फिरन्तेलाई आएको यो मौका चानचुने भने होइन। पोखराको पृथ्वीनारायण क्याम्पसमा पाँच वर्ष पढाउँदा कैयौं पटक हिंडे हुँला यो दमौलीको बाटो। वेदव्यास गुफाबारे सयौंपल्ट सुने हुँला। तर म अलमस्तताको मान्द्रोमा सुकाइएको बिस्कुन टाइपको जीवन बोकेर त्यही सडक परतिरको वेद व्यास गुफा भने पुगिनँ। यो त मेरो ‘निग्लिेजेन्स’ को पराकाष्ठा नै त हो।

तर, अहिले साहित्यकार शीतल गिरीले नेतृत्व गरेको स्रष्टा पदयात्रा टोलीले आफ्नो यात्राको दुई दिन दमौलीको व्यास गुफालाई दिने सुसूचनाले आह्लादित भएको छु। र त म हौसिएको छु। रौसिएको छु। त्यसमाथि स्रष्टा पदयात्रामा पाइने सत्संग पनि मेरा लागि महत्त्वपूर्ण हो। म जस्तो ठेट्ना साहित्यानुरागीलाई सुखद् अवसर पनि हो। मेरो चेतले पाउने छ यायावरीय आनन्द। साहित्यिक जीवनले ग्रहण गर्ने पक्का छ प्रज्ञापुञ्ज। जीवन बुझाइका दृष्टिले उदात्त विचार राखेर खारिएका स्रष्टासँगको पदयात्रा आफैंमा रोमाञ्चक त हुने नै भयो। त्यसमाथि केही दिन भए पनि कंक्रिटको जंगल छोड्ने र हरिया डाँडापाखामा रमाउने मुहूर्तले मनभित्र उच्छवास छाएको छ। गुफामै बास बस्ने भनेपछि त त्यहाँभन्दा अर्गानिक अनुभूति कहाँ पाउनु?

त्यसो त यात्रा मेरो रहर हो। मुड हो। यात्रा भनेपछि न आगेका चिन्ता न पिछेका। एक बारको जुनी हो। बस हरफन मौला। पिठ्यूँमा एउटा कुम्लो र चलानी थैलीमा केही दाम भए पुग्छ यात्रालाई। तर, कहिलेकाहीं यही कुम्लोको व्यवस्थापन र थैलीको जोहोले मार खाइदिन्छ जिन्दगी। झमेलामा फस्न पुग्छ नियति। जीवनका गल्छेंडामा गोहो मिलायो रह आइदिन्छ र गोहो बगाइदिन्छ। रहलाई कात लगायो, गोहो हराइदिन्छ। यात्राको मेरो मनोविज्ञान यही नै हो।

तर यो पल्ट समयले मलाई न कुम्लोको चिन्ता दिएको छ न थैलीको। त्रिविले दिएको पेन्सन खप्टिएर बसेको छ। पोटिलो भएको छ मेरो पेटारो। यद्यपि बेलाबेलामा उराल्ने नेता प्रवृत्तिका कन्जरभेटिभ राष्ट्रवादीहरूको कोपभाजनमा मेरै बबुरो पेन्सन पर्ने गरेको छ। ठट्टा कुरा होइन, जिन्दगीभरिका उर्वर बैंस र सीप सुम्पिएको हुनाले त्रिविले पेन्सन दिएको हो। बुढ्यौलीमा बाँच्ने सहारा दिएको हो। तर कन्जरभेटिभ राष्ट्रवाद त्यही पेन्सन नै नेपाल राष्ट्रको विकासको प्रमुख बाधक हो भन्ने ठान्छ। तर पनि न्यायमा अदालत नमरिसकेकाले हाललाई पेन्सनको ‘प’ भन्न पाइएको छ। फेरि पनि यो ‘प’ कुनचाहिं अनुदार क्रान्तिकारी अग्रगामीको कोपभाजनमा पर्ने हो भन्ने कुराले भने मुटु ढुकढुक गरिरहेको छ। आ जे होस्, यो रोइलोको पनि के काम र? जसरी आउला त्यसरी नै टर्ला। त्यसैले यति बेला म हरफन मौला रवाफमा मानसिक उडान भर्दै छु र स्रष्टा पदयात्रामा सरिक हुन मानसिक, शारीरिक तथा भौतिक रूपमा तयार भएको छु।

२०७९ वैशाख २ गते शुक्रबार बिहान हामी स्रष्टा यात्राको कखराको ‘क’ कलंकीबाट शुरू भएको छ। क्लंकीको पेट्रोल पम्प कि मकालु बसपार्क भन्ने फजगजबाट शुरू भएको छ यात्रा। तर अन्त्यमा पेट्रोल पम्पले जितेको छ र भेला भएका छौं वरिष्ठ साहित्यकार तथा टोली नेता शीतल गिरीको संयोजकत्वमा उम्दा कथाकार मन्दिरा मधुश्री, साहित्यकार तथा साहित्यिक पत्रकार नवराज रिजाल, गजलकार सुमन पुडासैनी, कवि वसन्त रिजाल, छन्द कवि खोलाघरे साइँलो उर्फ गंगाप्रसाद अधिकारी, आख्यानकार ऋचा, नाटककार समीर पाख्रिन, कवि तथा मेडिकल साइन्सकी विद्यार्थी स्मृता श्रेष्ठ, कवि डिल्लीराज अर्याल र आख्यान रुचाउने म खेमराज पोखरेल गरी ११ जना। बिहान ८ बजेको उर्दी भए पनि ९ः३० मा सार्वजनिक गाडी चढेका छौँ दमौली जाने।

बाटो हजारौं पल्टको पूर्व परिचित छ। नौबिसे, मुग्लिङ, खैरिनी र दमौली। बस घुइँकिएको छ। बससँगै हाम्रो यात्रा पनि घुइँकिएको छ। पूर्व परिचित भएकाले ‘जङ्गे साना’ भएको छ बाटो। नत्र त यही बाटोमा पनि के कम छ र प्रकृति? इरोटिक टुरिज्म मान्दा पनि हुन्छ यो बाटालाई। भिरपाखा, नदी, पहिरो, वनजंगल, गरिब बस्ती, नवधनाढ्य बस्ती सबैका सबै त पार गर्नुपर्छ नि।

सिटमा साथी बैनी मन्दिरा मधुश्री छिन्। त्यसैले यात्रा बोझिलो छैन। किनकि जीवन दृष्टिबारे उनको उदात्त विचारको म प्रशंसक हुँ। जीवनको व्याख्यामा म जस्तै उनी पनि ‘कम्मल ओढेर घिउ खाने’ मार्काकी साहित्यकार होइनन्।

उनीसँग बात मार्दा जीवनको अन्तर्यसम्म पस्न पाइन्छ। अन्तर्यमा पस्नुको मजा खोल बोकेकालाई थाहा हुने कुरा पनि भएन।

बाटामा कुनै एउटा लाइन होटलमा म तारेको माछा र चना बुक्याउँदै छु। किनकि बिनाबित्थामा उकासिएको यो गणेश भुँडीले अघाउँजी भात खाने मेरो नेपाली सौभाग्यमा टुट्टा लाइदिएको छ।

६ घण्टासम्मको गाडी यात्राले अन्तत: दिउँसोको ३ः३० मा दमौली पुर्‍याएको छ। घामका तीक्ष्ण तप्ततामा सेकिंदै वेदव्यास गुफातिर हाम्रा पाइलाहरू अगाडि बढिरहेछन्। बाटैमा सुन्दर र चिटिक्कको बालउद्यान छ। ब्रह्मा कुमारी राजयोग प्रशिक्षण केन्द्रले सञ्चालन गरेको यो उद्यान सुन्दर पनि छ। नत्र त नेपाली मानसिकता भनेको खाली सार्वजनिक जग्गा भेट्यो कि एउटा ढुंगाका थाप्लामा सिन्दूर अक्षता लगाइदिएर देउता बनाइदिने र सो स्थानमा गाउँपालिका वा नगरपालिकाबाट पैसा झारेर ‘आफ्नो गाउँ,आफैं बनाऊँ’ नारालाई अघि सार्दै ‘आफैं ल्याऊँ, आफैं खाऊँ’ विचारलाई चरितार्थ पार्ने हो।

एउटा अति सामान्य तर महँगो मन्दिर निर्माण गर्ने नै हो। तर, यहाँ त बालउद्यान देख्दा मेरो मन गदगद भएको छ। बालउद्यानकै समीपबाट ओरालो लागेको खुट्किला छिचोल्दै  तलतल झर्दै छौं। आजको विश्राम व्यास गुफामा रहेको शैवी आश्रममा रहेको कुरा सुनाइएको छ।

अन्तत: महर्षि व्यास गुफा क्षेत्रमा प्रवेश गरेका छौं। गुफाकै अगाडि व्यासका २४ वटा मूर्ति स्थापना गरिएको छ। साइन बोर्डले वेदव्यास गुफा, महर्षि वेदव्यास अन्न क्षेत्र, आश्रम तथा शान्ति स्वरूपानन्द दामोदर बाबाको बारेमा बताइरहेका छन्।

व्यास गुफाबाहिर हामीलाई स्वागत गर्न बसेका गेरुवस्त्र धारण गरेका श्वेतवर्णी बाबा शान्ति स्वरूपानन्द दामोदर बाबा वानप्रस्थी रहेछन्। मैले बुझेको कुरा हिन्दू वर्णाश्रम धर्म अनुसार गृहस्थीको विषयबन्धनबाट मुक्ति खोज्दै, पछिल्लो पुस्तालाई विषयबन्धन जिम्मा लगाउँदै सन्यास धारणको पृष्ठभूमि बनाउने कृत्य गर्नु वानप्रस्थ हो। गृहस्थी जीवन त्याग गर्नुपर्ने अपरिहार्य हुँदैन वानप्रस्थमा। त्यसकारण बाबा पटकपटक आफू वानप्रस्थी भएको कुरा दोहोर्‍याइरहेका छन्। किनभने उनी त्यहीं आश्रममा श्रीमतीसहित बसेका रहेछन्। वानप्रस्थ नबुझेका मैमत्ता मान्छेले लगाएको अप्टीले बाबाको मन कुँडिएको रहेछ। वास्तवमा मैले आफ्ना जीवनमा गेरुवस्त्रधारी वानप्रस्थी बाबा देखेको थिइनँ। जति पनि देखेको थिएँ ती विचारले जे भए पनि रूपमा सन्यासी थिए।

हाम्रो उपस्थितिबारे दामोदर बाबालाई जानकारी नहुने कुरा थिएन। त्यसैले चिसो पानी र चियापछि बाबाले आफ्ना ज्ञानगुनका कुराको पोटरी खोलेका छन्। वेदव्यास गुफाबारे तथा वेदव्यासबारे प्रवचन दिन थालेका छन्। हाम्रा पदयात्राका टोली नेता शीतल गिरी सो प्रवचनका बिचबिचमा कुरा मिसाउँदै छन्। अन्य हामी चूपचाप प्रवचन सुन्दै छौं । कार्पेटमुनि फोम राखेर बनाइएको भुईमा हामी बसेका छौं। केही उँचा आसनमा बसेर बाबा प्रवचनमा व्यस्त देखिन्छन्। बाबा छिटोछिटो प्रवचन दिइरहेका छन्। के ठेगान यी मान्छे फेरि नआउलान्! बाबाको प्रवचन सुरु भएको छ। गर्वका साथ भनिंदैछ, १०८ फिटको व्यास मूर्तिको निर्माण आरम्भ भएको छ। ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ व्यास अन्न क्षेत्र। सेती र मादीको संगम किनारमा वारिपट्टि अवस्थित छ व्यास गुफा। पारिपट्टि छ पराशर आश्रम।

एकसरो त्यहाँको भौगोलिक अवस्थाको वर्णन सकेर बाबा एकछिन सुस्ताएका छन्। र, फेरि वेद तथा व्यासबारे प्रवचन दिंदै छन्-वेद भन्नु भगवानले बनाएको विधान हो। सृष्टिको विधान हो। प्रकृतिको विधान हो। व्यास भनेको व्यक्ति होइन, पदवी हो। चिनारी हो। वेदको प्रचारप्रसार गर्ने हुनाले व्यास भनिएको हो। वेदको सहाराबाट मानवमा चैतन्यको प्रकटीकरण गर्ने र चैतन्यको सहाराबाट मोक्ष प्राप्त गर्ने सनातनीय प्रक्रिया हो। वेदको हेतु मानव उपकार हो। मानव उपकार भन्नाले आफूलाई आफैंबाट उपकार गर्ने अवस्था हो। यसको साधन वेद हो। आफूलाई दुःखी ठानेर, विपन्न ठानेर, कमजोर ठानेर आफ्नै हिंसा नगर भन्ने वेद वाणी हो। वेद भनेको फैलावट हो। ईश्वरीय श्रुति हो। सेती मादीको संगम द्वीपमा जन्मेकाले र जन्मदा कालो वर्णको जन्मेकाले नाम कृष्ण द्वैपायन व्यास रह्यो। व्यासले वेदको प्रचारप्रसार गरेर मानव जगत्मा ज्ञान प्रक्षेपण गरे।

बाबा आफ्ना प्रवचनमा व्यस्त छन्–वास्तवमा भन्ने हो भने भौतिक विषय मात्र होइन, अभौतिक इतिहास पनि एक दिन मर्छ। नाम पनि मर्छ। यी नाशवान् हुन्। इतिहास निर्माण तथा नामको पनि लालचा नगर। त्यसैले साधु बन। साधु भनेको असल सोच्ने र असल काम मात्र गर्ने व्यक्ति हो।

बाबाका यी विचारहरू मेरा लागि कति त पुराना छन्। बनिबनाउ छन् वा मैले थाहा पाएका कुरा छन् भने कति कुरा त मैले भेउ नपाएका विचारहरू पनि छन्। म बिनाप्रश्न आज्ञाकारी बालकजस्तै सुनिरहेको छु। एकातिर थकान, गर्मी र भुईको बसाइ छ भने अर्कोतिर त्यस विषयमा आफ्नो ज्ञान पनि बहसका लागि पर्याप्त छैन।

बाबा आफ्ना विचार व्यक्त गर्दैछन्-संसारमा अहिलेसम्म जम्मा २८ व्यास जन्मेका छन्। त्यसमध्ये २ व्यास नेपालमा जन्मेका छन्। यो ब्रह्माण्डमा सत्य, त्रेता, द्वापर तथा कलि गरी चार युगले परिक्रमा गर्छ। यही परिक्रमाका क्रममा द्वापर युगको समाप्तिपछि एउटा व्यास जन्मन्छ।

यो विषय पनि मेरा लागि नौलो लागिरहेको छ। इतिहास पनि मर्छ भन्ने कुरा पनि मैले सोचेको थिइनँ। र, यति बेला मेरो मथिंगल इतिहासको मृत्युका बारेमा घुमिरहेको छ। धनसम्पत्ति, सौर्य, आफन्त मात्र होइन, आफूले निर्माण गरेको इतिहास पनि समयका कालखण्डमा मर्छ भन्ने बोध भएको छ। जीवनको परिभाषा नयाँ तरीकाले गर्न सिकाएको छ।

बाबाको प्रवचन सकिएपछि हाम्रो टोली मादी र सेतीको सङ्गम द्वीपमा रहेको पराशर आश्रम हेर्न जाँदै छ। मादी नदीको झोलुङे पुलपारि दृश्यमा पराशर आश्रम देखिंदै छ। पराशर ऋषिले तपस्या गरेको ठाउँ भनिन्छ यो द्वीपलाई। भगवानले पराशर ऋषिलाई नयाँ व्यास निर्माण गर्ने आदेश दिए। बोटेकी छोरीले डुङ्गा चलाइन् रे अनि ऋषि पराशर आशक्त भएर वीर्य पतन गरे। सो वीर्य माछाले खायो र गर्भधारण गर्‍यो। ती बोटेकी छोरीले पालनपोषण गरिन्।

यसरी मत्स्यगन्धा नामले ती किशोरी व्यास ऋषिकी आमा बन्न पुगिन्। यो वा यस्तै कथा छ व्यास उत्पत्तिको।

हामी मादीको झोलुङे पुलमा हिंड्दै छौं। मादी र सेती खोलाको पानी एकदम धमिलो छ। त्यही धमिलो पानीमा ससाना भुराभुरीहरू पौडी खेलिरहेका छन्। कोही त नांगै पनि छन्। मलाई यो क्षणले आफ्नो बाल्यकालमा पुर्यायो। स्कुल जाँदा, गोठालो जाँदा सर्वांग नांगो भएर नहर तथा रहमा बेफिक्री पौडी खेलेको अलमस्त स्वादको याद आयो। याद आएपछि आयो आयो। म के गरूँ?

पुलबाट पारिपट्टि पाखामा यामानको डढेलो लागिरहेको छ। धुवाँको मुस्लो आकाशमार्गमा विचरण गर्दै छ। त्यो डढेलो निभाउन कोही पनि लागि परिरहेका छैनन्। सायद सामान्य कुरा होला यो।

तर मलाई भने आफैंले केटाकेटीमा गोठाला जाँदा डढेलो लगाएको कुराको याद आयो।आफ्नो बालबुद्धिका बारेमा एकछिन दिक्क र रमाइलो मानेर घोत्लिएको छु। अहो, बिताएको जीवन!

झोलुङे पुल तरेपछि पराशर मन्दिर क्षेत्रमा प्रवेश गरेका छौं। मन्दिरकै पाटीमा बसेर केही नवयौवना नृत्यसहितको टिकटक बनाइरहेका छन्। मैले उनीहरूको ध्यानभंग गर्न प्रयत्न गरेको छु। तर तिनीहरू टिकटकीय ध्यानमा यति मस्त छन् कि तिनलाई कुनै आकर्षणले पनि खिच्न सक्दैन। ध्यानभंग गर्न सकिन्न। ती बाह्र तथा ब्याचलरमा पढ्ने यौवनाहरूलाई त्यो धर्म क्षेत्रको पनि कुनै परवाह छैन।

सायद थाहा पनि छैन। आउनेजानेको पनि केही मतलब छैन। बस, सेती र मादी नदी तिनका क्यामरामा कैद हुनुपर्छ। सेती मादीपारिका हरिया पाखा तथा त्योमाथि उडिरहेको कुहिरो र बादललाई टिकटकमा खँदारेर भिवर बढाउने अभिप्राय छ सायद। त्योभन्दा पनि गजबको दृश्य त यो छ कि ती नवयौवनाहरू अंग हल्लाईहल्लाई नाचिरहेका छन् भने तिनकै सामुन्नेमा बसेर एक गेरुवस्त्री साधु त्यो दृश्य पान पनि गरिरहेका छन्। अहा! मान्छेको अप्रकटीकरण भएको विषयसन्दर्भ।

अर्कोतिर मन्दिरकै प्रांगणमा महर्षि वेदव्यास गुरुकुल संस्कृतवेद विद्यालय छ, जहाँ बटुकहरू पूर्वीय वाङ्मय अध्ययन गरेर सभ्यता जोगाइरहेका छन्। गुरुकुलीय शिक्षाको ज्योति बलिरहेको छ।

पराशर आश्रमको घुमाइसकेपछि फेरि वेदव्यास अन्न क्षेत्र आएका छौं। आश्रमको प्रमुख विशेषता भनेको अन्न क्षेत्र रहेछ। यो भनेको चाहिं त्यो क्षेत्रमा पुगेपछि राजादेखि रंकसम्म कोही भोका नरहून् भन्ने रहेछ। यो आदर्श वाक्यले मलाई निकै प्रभावित पारेको छ। मान्छेको एकपल्टको जुनीमा गरिने सत्कार्यमध्ये यो सबैभन्दा महत्त्वपूर्ण लागिरहेको छ मलाई। पूर्वीय वाङ्मयको यो एउटा अब्बल गहना हो। यही गहनालाई सदुपयोग गर्दै यहाँ आज गाँस पनि टिप्नु छ, बास पनि बस्नु छ। गर्मीको तप्तताले ओइल्याएको शरीरको जोसलाई फिर्ता गर्नु पनि छ। त्यसैले आश्रमको आँगनमा बेञ्च र टेबुल राखेर भोजन ग्रहण गर्ने उपक्रममा छौं। भोजन अर्गानिक छ। भोजनभन्दा पनि आतिथ्य बेजोडको छ। शहरी कृत्रिमता छैन। सायद धर्म छ। सभ्यता छ। सौहार्द छ। अतिथि देवो भवः भन्ने दर्शन छ। यस्तो परिवेशमा खाएको भोजनको महिमा जति गाए पनि हुन्छ।

सुत्न गयौं। सुत्ने ठाउँ त्यही फोम राखिएको कार्पेट छ। विजुली पंखा बिजुलीका तालमा फनफनी घुमेको छ। साथीहरू सुतिसकेका छन्। मेरा आँखामा भने निद छैन। म बिलकुल सुत्न सकिरहेको छैन। म पनि कस्तो हुस्सू! यात्रा हो, एउटा अन्डीको खास्टो त खुसुक्क बोक्नुपर्छ नि यार!

बिहानै उठेको छु। शरीरलाई मूलको पानीले चिस्याएपछि निद भागेको छ। चिया खाजाको तलतल लागेको छ। त्यसैले म खुड्किला चढेर चढेर एक्लै दमौली बजारतिर हानिएको छु। मेरा खुट्टाले दमौलीको दायरा नाप्दै छन्। बाटोमा बृहत विज्ञान योग शिविर चलिरहेको छ। हजारौं मान्छे आफ्नो चलानी चकटी बोकेर भाग लिइरहेका छन्।

यो बेला मेरा मनमा कुरा आएको छ, यी सयौं मान्छे स्वास्थ्यको चेतले भेला भएका हुन् कि धर्मका चैतन्यले। बुझ्न भने सकिनँ। म एक्लै  दमौली बजारमा लखरलखर हिंडिरहेको छु। घुम्दै फेरि हाइ वेको ३७० मिटर लामो मादी नदी पुल तरेको छु। बाटोमा दमौली चर्च छ। हाइवेमा ट्रक ड्राइभर हात बाहिर झिकेर नै गाडी चलाइरहेछ। खोला किनारमा निस्फिक्री बस्ती छ। मेरा चेतले एकैपल्ट भन्यो-उफ,नेपाली मान्छे!

म फेरि फर्केको छु। दमौली बजार खुल्न थालेको छ। सडकमा फर्सीका लोभलाग्दा आला मुन्टा बेच्न बसेका छन्। शिव, बुद्धका मूर्ति बनाएर सडकका बिचमा पार्क बनाइएको छ। शहर सफा गर्न कामदार खटिएका छन् र सारमा दमौली बजार नेपालका शहरमध्येमा निकै सफा छ। सफा भएपछि सुन्दर पनि छ। नत्र त नेपाली बहादुर मान्छे आफैं सडकमा फोहोर फाल्छ र त्यही फोहोरमा उभिएर सरकारलाई गाली गर्छ। फोहोर सफा गर्न पैसा झार्छ र फेरि फोहोर गर्छ।

दमौली बजारमा खाजा खाएर म फेरि फर्केको छु। वेदव्यास क्षेत्रमै बिहान एउटा साहित्यिक कार्यक्रम छ। एकदम हतार छ। सबैलाई हतार छ। चुनावको याम छ-प्रमुख अतिथि मेयर वैकुण्ठ न्यौपानेलाई हतार छ। पोखरादेखि आएका साहित्यकार तुलसी खनाल प्रभासलाई पोखरा फिर्न हतार छ। हामीलाई छाब्दी बाराही हुँदै बन्दीपुर पुग्न हतार छ।

सायद आश्रमलाई पनि हामीलाई बिदा गर्न हतार छ। यही चौतर्फी हतारका बिचमा तुलसी प्रभासको उद्घोषणमा एउटा साहित्यिक कार्यक्रम भइरहेको छ। हतारमै बाँचेको छ मान्छेको जात। त्यसैले जाहिर छ कार्यक्रम ‘हतारमा पकाएको काँचोकचिलो तिहुन’ भन्ने आहानअनुरूप छ। मेयर वैकुण्ठ न्यौपाने मन्त्व्य सकेर बाहिरिएका छन्। वेदव्यासबारे अनुसन्धान गरेर पुस्तक लेखेका काशीनाथ न्यौपानेले छोटो समयमा वेदव्यास गुफाबारे गुढ प्रवचन दिएका छन्। बिहानको सौहार्द भोजनपछि हामी एउटा मिनी बस रिजर्भ गरेर छाब्दी बाराहीतिर लागेका छौं। धन्य छन् आश्रमका कर्मयोगी। धन्य छ वेदव्यासको फैलावट।

हामीले रिजर्व गरेको बसले छाब्दी पुर्‍याएर हामीलाई कुर्दैछ। किनकि उसलाई खेला खत्तम गरेर पैसा हजम पार्न हामीलाई डुम्रे पुर्‍याउनु  छ। बसबाट झर्नेबित्तिकै ‘छाब्दी बाराही रासीभञ्ज्याङ टोल विकास संस्था’ नामक गेटले स्वागत गरेको छ। ठाउँ कोच्याप्रो, तर मान्छे कुँडुलो परेर आइरहेका छन्। गइरहेका छन्। मूर्ति दर्शन गर्ने र बलि दिनेको लाइन नै यति लामो छ कि आज बेलुकासम्म त लाग्छ होला छाब्दी बाराहीको दर्शन गर्न। पुलिसले पहरा दिइरहेको छ। त्यसैले हामीले पुलिससँग अनुरोध गरेका छौं कि हामी टाढाबाट आएको, हामी बलि दिंदैनौं। यसो स्वाट्ट देवीको दर्शन गरेर फर्किहाल्छौं।

हाम्रो पहिरन र बोलीचालीमा सायद पाल्सी कुरा थिएन। त्यसैले पुलिसको मन पग्लियो। हामी लाम छिचोल्दै मन्दिरको भित्री तहसम्म पुग्यौं। मन्दिरभित्र प्रवेश गर्ने र बाहिर निस्कने हाम्रो दौड अश्वधावनलाई मात गर्ने खालको थियो। नबुझ न बुझारथ। छाब्दीबारे केही पनि बुझिएन। तर पनि आँखाले छाब्दीको छाया देखिहाल्यो। देवीको दर्शनले रक्खे हुन्छ भन्नेका लागि त्यो कार्य पनि पूरा भयो।

मेरा आँखाले भने देखिरहेका छन् कि छाब्दी नदी सानो छ, तर सुन्दर छ। पानी कञ्चन छ। पानीको धार तेजिलो छ। पोटिला माछाहरू रहभरि यताउति कुदिरहेका छन्। आध्यात्मिक वैराग्य र भौतिक लालसा दुवै यही ठाउँमा देखिन्छ। मन्दिरको भोग दिने ठाउँमा बलि दिइँदै छ। सो रगत सोही छाब्दी खोलामा पर्छ र माछाले खाइरहेका छन्। मान्छे पशुको रगत सिञ्चन गरेर भाकल पूरा गरिरहेको छ। यो इकोसिस्टम देखेर एकछिन त उदेक पनि लागेको छ मलाई। एउटा प्राणीको हत्या, अर्को प्राणीको आहारा भएको छ। निरपराध एउटा प्राणी काटेर आफ्नो सन्तानको रक्षा मागिरहेको छ अर्को प्राणी। हो यतिबेला यही त्रिकोणात्मक द्वन्द्वमा मेरो मगज फसेको छ।

मैले आफ्नो मगज घुमाउन त्यही छाब्दी नदीमा बलि दिएको बोकाको भित्र्याँस सफा गरिरहेको एकजना मान्छेलाई सोधेको छु-भाइ! यी माछाहरू बिक्री हुन्छन्?

ती भाइले मतिर नहेरी नै जवाफ दिएका छन्–आच्या, ठहरै हुनु छ र? काल आएको छ र यी माछा खानु?

अनि उनले भने यी माछा सनातनीय हुन्। देवीको उत्पत्तिसँगै उत्पत्ति भएका हुन्। त्यसैले त ती माछाहरू मान्छेसँग भाग्दैनन्। पानीमा पसेका मान्छेका खुट्टामा लुटुपुटु गर्छन्। कुनै मान्छेको हिम्मत छैन कि ती माछालाई छाब्दी बाराही क्षेत्रमा खाऊन्।

फर्किंदा म व्यास नामको व्यास नाप्दै छु। मेरा पौराणिक व्यास। धार्मिक व्यास। मनोवैज्ञानिक व्यास। राजनीतिक व्यास। आर्थिक व्यास। पर्यटकीय व्यास। व्यास माने फैलावट। पुराणले व्यासको फैलावटलाई एउटा आधार दिएको छ। धर्मले त्यसमा पुट दिएको छ। विश्वासले डोर्‍याएको छ। नदीका संगम, पानी, हरिया पहाड तथा जंगल अर्गानिक गुफाले परिवेशलाई सुन्दर मात्र बनाएका छैनन्। बरु पर्यटकलाई त त्यसै भित्र्याउँछन्। उसै भित्र्याउँछन्। मान्छेले व्यवस्थापन तथा गोहो निर्माण गरिदिनुपर्छ। धर्म भन्नु पनि राजनीतिको एउटा ज्यादै ठूलो ‘टुल’ हो। यत्तिको ठाउँ पाएपछि राजनीतिले आफ्नो सिकन्जा फैलाइहाल्छ। एउटा हातमा सहयोग र अर्का हातमा सिद्धान्तको सत्ता लिएर पुगिहाल्छ। यो त राजनीतिको धर्म नै हो।

व्यासको फैलावटलाई उच्चता प्रदान गर्न आर्थिक तत्त्व हावी हुने कुरामा दुई मत हुन्न। आर्थिक तत्त्वले प्रवेश पाउनेबित्तिकै त्यहाँ हिसाब, नाफा, नोक्सान, नियमितता, अनियमितता आदि शुरू भइहाल्छ। त्यसलाई नियन्त्रण गर्न बनाइने संयन्त्र पनि सो कुराबाट टाढा हुन सक्दैन। यसपछि आउँछ क्षेत्रको मनोवैज्ञानिक पक्ष। नेपालको विकास मोडेलमा यो मनोवैज्ञानिक पक्ष निकै सशक्त देखिन्छ। दाताले पैसा देवस् र सो पैसाले ठूलाठूला संरचनाहरूको निर्माण गरिहालौं भन्ने मनोविज्ञान देखिन्छ अगुवामा। बनाइएका संरचनाको संरक्षण र सरसफाइतिर त्यति ध्यान गएको पाइन्न।

उदाहरण व्यास गुफालाई नै लिऊँ। व्यास गुफा क्षेत्रमा मूलबाट पानीका धाराहरू छन्। तर, समग्र क्षेत्र सफा छैन। थप पैसा खर्च नगरी गर्न सकिने काममा पनि चेत पुगेको छैन। दाताले ट्वाइलेट बनाइदिएका छन् तर मर्मत-सम्भार छैन। प्रयोगमा सहजता छैन। यद्यपि मान्छेको चेतले सफाइको लेभेल निर्धारण गर्ने होला भन्ने लाग्छ। अर्कोतिर नयाँ भवन भने बनिरहेका छन्। यो सुन्दर पक्ष त हो। तर भएका संरचना सरक्षित हुन नसक्नुचाहिं नेपालीको चेतनाको मनोविज्ञान होला। ध्यान नयाँ संरचनामा छ। यो प्रवृत्ति वेदव्यास गुफाको मात्र होइन, बरु नेपाली विकासको मोडलको हो।

दमौली, व्यास गुफा तथा छाब्दी बाराहीलाई छोडेर हामीलाई बोकेको गाडी अगाडि बढेको छ डुम्रेतिर। म भने वेदव्यास गुफाको भौगोलिक स्थिति, प्राकृतिक सौन्दर्य, बग्दै गरेका मादी र सेती, पारिपट्टि देखिने हरिया वन तथा कृष्ण द्वैपायन व्यासको जन्मस्थललाई सम्झँदै छु। आत्मीयता तथा सौहार्द मिसिएको भोजन, केही बटुक, केही गाई तथा समग्र परिवेशलाई हृदयमा राखेर आह्लादित भएको छु। फेरि कसरी कुन रूपमा भेट हुने होला है वेदव्यास गुफा?

प्रकाशित: २३ श्रावण २०७९ ०९:२० सोमबार

अक्षर