कला

‘सम्झनामा माधव गुरु’ विमोचित

इलामका शिक्षासेवी तथा साहित्यकार प्राध्यापक माधव भँडारीको जीवनी र योगदानमा आधारित पुस्तक ‘सम्झनामा माधव गुरु’ विमोचन गरिँदै।

इलामका शिक्षासेवी तथा साहित्यकार प्राध्यापक माधव भँडारीको जीवनी र योगदानमा आधारित पुस्तक ‘सम्झनामा माधव गुरु’ विमोचन गरिएको छ। २०९औं भानुजयन्ती अवसरमा इलाम नगरपालिका अन्तर्गतको साहित्य, कला, संगीत प्रतिष्ठानले पुस्तक प्रकाशन र विमोचन गरेको हो।

इलामको सुम्बेकमा १९९३ माघ १६ मा जन्मिएका भँडारीले २०१८ देखि २०३९ सालसम्म सदरमुकामस्थित महेन्द्ररत्न बहुुमुखी क्याम्पसमा प्राध्यापन गरेका थिए। ०३६ देखि ०३९ सालसम्म क्याम्पस प्रमुखसमेत भएका भँडारीको ०७८ साल पुसमा निधन भएको थियो।

भँडारीले नाटक, उपन्यास, कविता, कथा, निबन्ध, समालोचना र साहित्यिक इतिहासका क्षेत्रमा कलम चलाएका छन्। भँडारीका नेपाल कथा साहित्य, गाउँघर, माधव भँडारीका कथा, पार्वती परिणय, क्यालेन्डरका घुम्तीहरू, नबिर्सने कोसेली, घरजम, आमाको आकांक्षा, पूर्णिमा, हाम्रो साहित्य र साहित्यकारहरू, छन्द र अलंकार, इतिवृत्त र सिर्जनालगायत दर्जनौ कृति तथा फुटकर रचना प्रकाशित छन्।

उनले छात्रवाणी, छात्रदूत, जुनेली, सौगात, सूर्याेदयलगायत पत्रपत्रिकाको सम्पादनसमेत गरेका थिए। पूर्वीय दर्शनका ज्ञाता मानिने भँडारीका कृतिमा पाश्चात्य भौतिकवादी दर्शन पाइने साहित्यकार बताउँछन्। महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्रमुख तथा नेपाली विषयका सहप्राध्यापक खगेन्द्र चापागाईंले साहित्यकार भँडारीले नेपाली भाषा र साहित्यमा महत्वपूर्ण योगदान गरेको बताए।

‘साहित्यकार भँडारी पूर्वीय दर्शन र साहित्यका ज्ञाता हुनुहुन्थ्यो, उहाँ ज्यादै प्रतिभाशाली पुराणवाचकका रूपमा पनि चिनिनुुभएको थियो,’ चापागाईंले सम्झिए, ‘इलाम क्याम्पसलाई शिक्षाको केन्द्र बनाउने उहाँको विचारअनुसार नै हामी अनवरत लागिरहेका छौं।’

साहित्यकार तथा विमोचित कृतिका सम्पादक नन्दुु उप्रेतीले साहित्यकार भँडारी मृत्युपछि चिनिएका देशका थोरै व्यक्तित्वमध्ये एक भएको बताए। ‘हुन त भँडारी मृत्युअघि पनि चर्चित व्यक्तित्व हुुनुहुन्थ्यो तर उहाँको बारेमा खोज–अनुसन्धान गर्दा उहाँ अत्यन्त विलक्षण प्रतिभाको व्यक्ति हुनुुहुँदोरहेछ, पढेरभन्दा सुनेकै भरमा धेरै ज्ञान आर्जन गर्नसक्ने व्यक्ति पनि हुनुहुँदोरहेछ। उहाँ साहित्यको एक पाठशाला हुनुहुँदोरहेछ।’

भँडारी आशुकविजस्तो अत्यन्त छिटो साहित्य रचना गर्न सक्ने व्यक्ति पनि भएको उप्रेतीले बताए। ‘क्याम्पसमा पढाउँदा पनि उहाँले निकै प्रभावकारी कक्षा सञ्चालन गर्नुभएको रहेछ,’ उप्रेतीले भने, ‘भँडारीको व्यक्तित्वबारे थाहा पाउँदा आफू ढिलो जन्मिएर उहाँको विद्यार्थी हुुन नपाएकामा चाहिँ अहिले पछुतो लाग्दैछ।’

भँडारीको स्मृतिग्रन्थमा उनका समकालीन साहित्यकारदेखि उनका विद्यार्थी, आफन्तलगायत ७८ जनाले स्मरण लेखेका छन्। यो ग्रन्थमा साहित्यकार भँडारीको साहित्यिक, शैक्षिक, पारिवारिकलगायत सबै क्षेत्रबारे चर्चा गरिएको प्रतिष्ठान सचिव दिवाकर भण्डारीले जनाए।

‘नेपाली साहित्य क्षेत्रमा विराट योगदान गर्नुहुने साहित्यकार भँडारी इलामको गहना हुनुहुन्छ,’ सचिव भण्डारीले भने, ‘नेपाली समाजलाई साहित्य र शिक्षाको माध्यमबाट असल अभ्यासमा डोर्‍याउने प्राध्यापक भँडारीबारे नयाँ र पुरानो पुस्तालाई जानकारी दिन यो पुस्तक प्रकाशित गरिएको हो।’

प्रकाशित: २९ असार २०७९ ०८:२५ बुधबार

सम्झनामा माधव गुरु इलामका शिक्षासेवी तथा साहित्यकार प्राध्यापक माधव भँडारी २०९औं भानुजयन्ती