कला

मालामा नउनिएका फूलहरूका सुवास

पुस्तक

जीवन जिउने क्रममा अनेक किसिमका भोगाइ र अनुभूतिहरू बटुलिन्छन्। विशेष गरी निजी भोगाइ र अनुभूतिहरू आफैमा सीमित हुने गर्छन्। तिनलाई सार्वजनिक गर्दा एक खालको आनन्द र सन्तुष्टि प्राप्त हुन्छ। मन पनि हल्का हुन्छ। तर सबै निजी भोगाइ र अनुभूतिहरू सबैका लागि उत्तिकै उपयोगी र रुचिकर नहुन सक्छन् र सबैबाट प्रशंसा अथवा प्रतिक्रिया प्राप्त नहुन सक्छन्। कसैकसैको भोगाइ र अनुभूति निजी नै भए पनि अरू कसैकसैका लागि उपयोगी र रुचिकर लाग्न सक्छन्।

विशेष गरी कुनै विशेष व्यक्तित्व अथवा कुनै सार्वजनिक पदधारण गरेका व्यक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्दा, भ्रमण अथवा यात्रा गर्दा वा कुनै सभासमारोहमा सम्मिलित हुँदाका भोगाइ र अनुभूतिहरूलाई भाव, संवेदना र शब्दशिल्पले सजाएर सार्वजनिकरूपमा अभिव्यक्त गर्ने हो भने ती भोगाइ र अनुभूतिहरू सबैका लागि र सधैंका लागि उपयोगी र रुचिकर बन्न सक्छन्। यसमा कुनै सन्देह छैन।

डा. खगराज बराल सार्वजनिक पदधारण गरेका व्यक्ति हुन्। यही नाताले उनले देश तथा विदेशमा काम गर्दा, भ्रमण गर्दा, लामो यात्रा गर्दा, सभासमारोहमा सम्मिलित हुँदाका बखतका तितामिठा भोगाइ र सुखद् वा दुःखद् अनुभूतिहरूलाई भाव, संवेदना र शब्दशिल्पले सजाएर प्रस्तुत गरेको गैरआख्यान–अनुभूति (जसलाई हामी आत्मपरक निबन्ध पनि भन्न सक्छौं) हरूको सँगालो (पुस्तक) हो ‘मालामा नउनिएका फूलहरू’।

सार्वजनिक पदधारण गरेको व्यक्तिको रूपमा डा. बरालले देश तथा विदेशमा काम गर्दा, भ्रमण गर्दा, लामो यात्रा गर्दा, सभासमारोहमा सम्मिलित हुँदाका बखतका भोगाइ र अनुभूतिहरूलाई सार्वजनिक सम्पत्तिसरह मान्न सकिएला। तर उनका बाल्यकालदेखि वर्तमान जीवन जिउँदै गर्दासम्मका निजी भोगाइ र अनुभूतिहरूलाई चाहिँ उनको निजी भोगाइ र अनुभूति नै भन्नुपर्ने हुन्छ। यद्यपि सार्वजनिक होऊन् अथवा निजी, उनका सबै भोगाइ र अनुभूतिहरू सबैका लागि र सधैँका लागि रुचिकर छन् र उत्तिकै उपयोगी छन् भन्ने कुरामा चाहिँ कुनै सन्देह छैन। उनका भोगाइ र अनुभूतिहरू पठनका क्रममा पक्कै यस्तो महसुस हुने छ पाठकलाई। साथै पठनकै क्रममा पाठकहरू कतै संवेदित हुने छन् भने कतै रोमाञ्चित पनि हुने छन् अनि कतैचाहिँ विष्मित् पनि हुने छन्। यस्तै मिश्रित गुणले भरिएको छ यो पुस्तक।

विशेष गरी भोगाइ र अनभूतिहरूमा पनि विशेष खालका र सार्वजनिक महत्त्वका भोगाइ र अनुभूतिहरूलाई मात्रै अभिव्यक्त गर्ने प्रवृत्ति छ। यस्तो अभिव्यक्तिले पठन संस्कृतिलाई प्रवर्द्धन गर्ने र नेपाली साहित्य भण्डारको श्रीवृद्धिमा पनि सघाउ पुग्ने गर्छ भन्ने आमविश्वास छ। तर बरालका भोगाइ र अनुभूतिहरू सबै विशेष खालका छैनन्। बाल्यकालका अति सामान्य भोगाइ र अनुभूतिदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशका विशिष्ट भोगाइ र अनुभूतिहरूलाई पनि पुस्तकमा समावेश गरिएका छन्। अति सामान्य भोगाइ र अनुभूतिहरूलाई विशिष्ट भाव, संवेदना र शब्दशिल्पसहित विविध सन्दर्भहरूलाई जोडेर निकै रुचिकर ढंगले प्रस्तुत गरिएकाले ती सामान्य लाग्ने भोगाइ र अनुभूतिहरूले पनि सार्वजनिक महत्त्वको मूल्य बोकेका छन्।

शिक्षा र सन्देश हरेक विषय र सन्दर्भका भोगाइ र अनुभूतिबाट प्राप्त गर्न सकिन्छ। पठनलाई रुचिकर बनाउने गुनले भरिएका आलेखहरूमा पाठकलाई निरन्तर आकर्षित गरिराख्ने सामथ्र्य छन्। त्यसैले पठनको गति कतै अवरुद्ध हुँदैनन्। पुस्तक आद्योपान्त नपढी छोड्न मनले मान्दैन। कुनैकुनै आलेखहरू तुलनात्मकरूपमा लामा भइकन पनि पाठकलाई आकर्षित गरिराख्न सक्नु बरालको लेखनशैलीको एउटा मुख्य विशेषता हो।

बरालले आफ्ना भोगाइ र अनुभूतिहरूलाई मस्तिष्कले होइन; मनले लेखेको प्रतीत हुन्छ। त्यसैले उनको लेखाइ मथिङ्गल हल्लाउने होइन; मर्मस्पर्शी छन्। लेखनमा कुनै किसिमको बढाइचढाइ छैन। उनका भोगाइ र अनुभूतिहरू कतै कथाजस्तो भएर आएका छन् भने कतै निबन्धजस्तो। लेखनमा साँच्चै इमानदारी छ। सामान्य घरपरिवारदेखि विश्वपरिवेशसम्म, देशदेखि विदेशसम्म, सामान्य मानवीय व्यवहारदेखि दार्शनिक चिन्तनसम्म, मानवदेखि मानवेत्तर प्राणी र वनस्पतिसम्मका विषयमा उनका भोगाइ र अनुभूतिहरू यो पुस्तकभित्र विभिन्न शीर्षकमा समेटिएका छन्।

विषयवस्तुमा विविधता छ। सामाजिक, आर्थिक, पर्यावरण, प्राणी, वनस्पतिदेखि वैदिक दर्शन एवम् शिक्षा र राजनीतिसम्मका विषय–सन्दर्भका भोगाइ र अनुभूतिहरूले पुस्तकमा प्रवेश पाएको छ। गाउँघरमा प्रचलित अति सामान्य विषयमा लेखिएका आलेखहरू असामान्य मूल्य र महत्त्वका छन्। अरूले लेख्न र उठाउन नचाहेको र त्यति वास्ता नगरेको मिहिन विषयलाई पनि डा. बरालले अति महत्त्वका साथ उठाएका छन् र त्यस्तै महत्त्व दिएर लेखेका छन्। जस्तैः ‘आमाबाबुका कुरा’, ‘बिहेका कुरा’, ‘खाना सबैका लागि’, ‘वर, पिपल, समी र सुगा’, ‘कृष्णसारका कुरा’, ‘कुकुर’ ‘मृगसँग बातचित’ आदि। जटिल विषयमा लेख्दैमा कोही ठूलो लेखक बन्छ भन्ने भ्रमबाट डा. बराल मुक्त छन्। त्यसैले उनले सामान्य विषयलाई नै लेखनको विषय छानेका छन्। विषय सामान्य भइकन पनि ओजपूर्ण छन् र आयतन विशाल छन्। विषयको उठान सूक्ष्म र सामान्य भईकन पनि यसको बिसौनी बृहत् र विशिष्ट छन्।

सङ्ग्रहको एउटा सामान्य तर सशक्त निबन्ध ‘आमाबाबुका कुरा’ ले समाजको गैरजिम्मेवार प्रवृत्तिप्रति कठोर व्यङ्ग्य प्रहार गर्दै त्यो जिम्मेवारीबोध गर्न सन्देश पनि दिएको छ। आमाबाबु पाल्ने अथवा फाल्ने बस्तु होइनन् भन्ने मूलसन्देश यो आलेखमा छ। यसै सन्दर्भमा पङ्तिकारलाई आफैले लेखेको एउटा छोटो आलेख ‘के बाबुआमा कसिङ्गर हुन् ?’ को स्मरण हुन्छ। यो आलेख २०७४ साल जेठ ६ गतेको अन्नपूर्ण पोस्टको शनिवारीय परिशिष्टाङ्क ‘फुर्सद’ मा प्रकाशित छ। आफू आमाबाबुसँग बसेको छु भन्न नसकेर मैले आमाबाबुलाई पालेको छु भनेर गर्व गर्ने छोराछोरीप्रति बराल र स्वयम् यो पङ्तिकारको छोटो आलेखले पनि झटारो हान्दै जन्म र कर्म दुवै दिने आमाबाबुप्रति जिम्मेवार र उत्तरदायी बन्ने सन्देश पनि दिएको छ।

‘अपरिचित परिचित भएपछि’ मा एउटा निकै मर्मस्पर्शी निबन्ध हो। यसमा दृष्टिविहीन शिक्षक एवम् गायक डिबी सर अर्थात् दिलबहादुर चक्रधरसँगको लेखकको कलेज जीवनदेखिको सम्बन्ध र डिबीसरको जीवनको मार्मिक कथा छ। जीवन–सङ्घर्षदेखि नहार्ने र नथाक्ने डिबीसर मिर्गौला रोगसँग चाहिँ हारेको र थाकेको निकै मार्मिक र संवेदनशील कथा छ।

कर्मचारीतन्त्रभित्रको एउटा जल्दोबल्दो बेथितिलाई ‘तीनओटा पोर्टको रहर’ शीर्षकको निबन्धमा देखाइएको छ। यसमा सरकारी कर्मचारीमा व्याप्त विदेश भ्रमणमोह र त्यसका लागि कर्मचारीले गर्ने चाकडी र चाप्लुसीको सोदाहरण वर्णन गरिएको छ। तीनओटा पोर्टको अर्थ हो–पासपोर्ट, एअरपोर्ट र पोर्ट अर्थात् बन्दरगाह। ‘अमेरिकी प्रोफेसरको सरल मन्तव्य’ मा अविकसित मुलुकको खासगरी शिक्षा क्षेत्रमा विद्यमान समस्या र विसङ्गतिप्रति इंगित अमेरिकी प्रोफेसर जोन डेभिड स्निडरको एउटा मन्तव्यको सार प्रस्तुत गरिएको छ।

‘अदावी’ निकै सशक्त निबन्ध हो। यसमा पुराण, रामायण, महाभारतमा वर्णित केही महान् त्यागी र दानी पात्रहरूको त्यागका बारेमा वर्णन गरिएको छ भने विभिन्न देशका उस्तै त्यागी र अदावी गर्ने महान् व्यक्तिहरूका बारेमा चर्चा गरिएको छ। साथै अनावश्यक दावी नगर्ने व्यक्ति नै सच्चा किसिमले सुखी हुन्छ भन्ने सन्देश पनि यसमा छ। आफूलाई प्रस्ताव गरेको प्रधानमन्त्री पद आफ्ना साथीका लागि प्रस्ताव गर्ने महान् नेता गेणशमान सिंहको व्यवहारलाई त्याग र अदावीको महत्त्वपूर्ण दृष्टान्तका रूपमा प्रस्तुत गरिएको छ। यस्ता उदाहरण तथा दृष्टान्तहरूबाट यदि कसैको त्याग र अदावीबाट सिङ्गो समाज लाभान्वित हुन्छ भने त्यस्तो त्याग र अदावीका लागि तयार हुनुपर्छ भन्ने प्रेरणा पाठकले प्राप्त गर्न सक्ने छन्।

सङ्ग्रहका सबै निबन्धहरू उत्तिकै ओजपूर्ण छन् र समयसापेक्ष छन्। सिङ्गै पुस्तकको सार भने यी अनुच्छेदमा पाउन सकिन्छ, ‘आफू, आफ्नो परिवार, समाज, राष्ट्र र समग्र सृष्टिप्रतिका जिम्मेवारी सही तरिकाले निर्वाह गर्न सक्नु असल मानव हुनु रहेछ। वेद, पुराण, उपनिषद्, गीता या आधुनिक जुनसुकै शिक्षा पढे पनि तिनीहरूको सार यही नै रहेछ। हामी मानव बन्न कम र मानवजस्तो देखिन बढी प्रयत्न गर्दा रहेछौँ। हुनेभन्दा देखिन चाहने फर्जी प्रवृत्तिले नै आजको समाज गाँजिएको रहेछ। आजको शिक्षाले सिकाउने दावीले हामीलाई अधोगतितर्फ धकेल्दै गएको रहेछ। हामी यसतर्फ समयमै सचेत हुनुपर्ने हो कि?’  

प्रकाशित: ३१ वैशाख २०७९ ०७:३० शनिबार

अक्षर