कला

जीवन सञ्चालनको आध्यात्मिक विज्ञानः धर्म विज्ञान

धृति क्षमा दमोस्तेयं शौचं इन्द्रिय निग्रह ।

धीर्विधा सत्यम क्रोधो दशकं धर्म लक्षणम् ।

जीवन, समाज र परिवारको व्यवस्था चलाउनका लागि एउटा नियमको आवश्यकता हुन्छ। यसलाई विधान वा कानुन पनि भनिन्छ।

जसरी कुनै पनि देशको विधान हुन्छ, त्यसरी नै धर्म पनि एक प्रकारको प्राचीन कालको विधान नै हो। देशको संविधानको काम समाजमा समानता, एकता र भौतिकताको रक्षा गर्नु हो। यसबाहेक सुरक्षा, शान्ति, सामाजिक स्वास्थ्य र भाइचाराका लागि पनि सरकारले बेलाबेलामा कानुन बनाएको हुन्छ। आज भोलि कानुनविज्ञहरू कानुन बनाउछन् तर प्राचीन कालमा ऋषिमुनिहरूले यो काम गर्ने गर्थे।

प्राचीनकालमा सामाजिक संरचना सुव्यवस्थित गर्नका लागि लागिपरेका महाज्ञानीहरूलाई ऋषिमुनि भनिन्थ्यो। उनीहरूले पनि धर्मरूपको एउटा विधान मानव जातिका लागि दिएका थिए। हुन त सृष्टिलाई बनाउने एउटै शक्ति छ तर पछि यससम्बन्धी धेरै समूह भए। यस समूहका प्रमुख गुरुहरूद्वारा सृष्टि बनाउने शक्तिको नाम छुटटै राखियो। यसका अनुयायीहरूले आफ्नो एउटा खास पहिचान बनाउनका लागि त्यसलाई धर्मको नाम दिए ।

सबैभन्दा पहिला वैदिक काल, त्यस पछि रामायण काल अनि महाभारत कालको समयावधि रह्यो। त्यसपछि पुराण काल आयो। वैदिक कालमा नै ज्ञानीहरूले बडो राम्रो र सुदृढ धर्म संहिता बनाए। जसको नाम मनु संहिता रहेको छ। मनु संहितामा धर्मका दशवटा नियम उल्लेख गरिएको छ। यी दशवटा सिद्धान्त कुनै पनि समाजलाई व्यवस्थित गर्नका लागि बनेको देखिन्छ।

धैर्य 

धैर्य प्राचीन व्यवस्थाको पहिलो कानुन थियो, जुन आज पनि त्यतिकै उपयोगी र लाभकारी छ। धैर्य मानसिक उत्तेजनालाई नियन्त्रित पार्ने उपाय हो। मानसिक क्षमताको साँचो धैर्यतामा छ। धैर्यता छैन भने विवेकहीनताको स्थिति सृजना हुन्छ। मान्छे विकृत हुन थाल्छ। भौतिक जगत्को कार्य होस् वा आध्यात्मिक साधना, धैर्यताबिना पूरा हुँदैन। क्रोध नियन्त्रण, शक्ति सन्तुलन, उच्च व्यवस्थापन, सुखद् सम्बन्ध र प्रभाव वृद्धिका लागि पनि धैर्यको आवश्यकता हुन्छ। धैर्य जीवनको आधार हो। धैर्य न भएको व्यक्ति विवेकहीन हुन्छ। हामी सबैले अनुभव पनि गरेको छौँ कि जीवनमा धैर्यताको धेरै योगदान छ।

मनमाथि नियन्त्रण

धर्मको दोस्रो महत्वपूर्ण नियम हो मनमाथि नियन्त्रण। हुन त हाम्रो अनुभव भन्छ कि मनमाथि नियन्त्रण गर्न गाह्रो हुन्छ; तर यस्तो छैन। मनको विज्ञान भन्नाले वाणी र स्वभाव बुझ्यौँ भने हामी सजिलैसित मनमाथि नियन्त्रण राख्न सक्छौँ भन्ने बुझिन्छ। यस सिद्धान्तलाई संयम पनि भनिन्छ। संयम नभएको मान्छेको जीवनमा सुख र शान्ति आउन सक्दैन। संयमबिना समाजमा गलत कार्य पनि हुन थाल्छ ।

चोरी नगर्नु

धर्ममा चोरी गर्नु महापाप भने छ। प्राचीन कालमा मान्छेको मनमा डर बसाउनका लागि यस कुरालाई प्रचारित गरिन्थ्यो। तपाइँ आफै सोच्नुहोस्, कसैले तपार्इंको सामान चो¥यो भने कस्तो दुःख र पीडा हुन्छ। त्यस्तै सबैलाई हुन्छ। अर्काको समस्यालाई ध्यानमा राखेर तथा आफ्नो इज्जत र प्रतिष्ठाको ख्याल गरेर हामी कुनै पनि स्थितिमा चोर्नु हुँदैन।

तनमनको पवित्रता

तन र मनको पवित्रता धर्मको चौथो नियम हो। मान्छेले जबसम्म दिशा निर्देश पाउँदैन, तबसम्म जीवन जिउने ज्ञान आउँदैन। हुन त मान्छेहरू ठूलाठूला कुरा गर्छन् तर तनमनको पवित्रताको ख्यालबिना कोही महान बन्न सक्दैन।

हाम्रो शरीरमा तीनवटा कुराको समन्वय छ। मन, शरीर र आत्मा। आत्मा एकदमै शुद्ध छ। यसलाई केही गर्न पर्दैन। शरीर जति सफा गरे पनि अशुद्ध रहन्छ; तर मनको पवित्रतालाई विशेष ध्यान दिनुपर्छ। नत्र विभिन्न प्रकारका रोगहरू जन्मिन्छन्। सबैभन्दा आवश्यक छ मनको पवित्रता। तपाईं जस्तो सोच्नुहुन्छ, त्यस्तै हुने गर्छ। यसकारण हामीले जहिले पनि शुद्ध विचार राख्नु पर्छ। सर्वकल्याणको भाव तथा सहयोग गर्ने वाणी हुनुपर्छ।

गलत, अशुद्ध वा अशुभ भाव र विचारले अर्कालाई कम आफूलाई धेरै नोक्सानी गर्छ। यसका लागि आफ्नो लाभको चाहना र कामना नराखेर अर्काको लाभको पनि ख्याल राख्नु पर्छ। मनको पवित्रता हाम्रो व्यक्तित्व विकासका लागि तथा समाज कल्याणका लागि पनि आवश्यक हुन्छ।

इन्द्रियहरूलाई निग्रह

धर्मको पाँचोँ नियम हो– इन्द्रिय निग्रह। इन्द्रिय निग्रह भन्नाले इन्द्रियहरूमाथि नियन्त्रण गर्नु हो। हाम्रा सबै इन्द्रियहरूले कुनै पनि नियम कानुन जान्दैनन्। यसकारण त्यसमाथि विवेक र बुद्धिको अङ्कुश लगाउनु पर्छ। नत्र यिनीहरूले हाम्रो जीवनलाई पतनतिर लान्छन्। आयुर्वेदमा भनिएको छ कि विषलाई पनि मात्राको अनुसार उपयोग गर्नु भयो भने औषधिको काम गर्छ।

ठाक्यै त्यस्तै अमृतलाई पनि बिना मात्राको उपयोग गरियो भने विषजस्तो काम गर्छ। यसैलाई इन्द्रियहरू जनित कामनाहरूमाथि हामीले नियन्त्रण राखेनौँ भने जीवन असन्तुलित हुन्छ अनि मान्छेको नाश हुन्छ। आध्यात्मिक ज्ञान प्राप्ति, व्यक्तित्व विकास र सुखी जीवनका लागि पनि इन्द्रियहरूको कामना र चाहनालाई नियन्त्रणमा राख्नु जरुरी छ।

बुद्धि

एउटा असल नागरिक बन्नका लागि बुद्धिको आवश्यकता हुन्छ। सभ्य समाजका लागि असल नागरिकको आवश्यकता हुन्छ। हामी सबैसँग बुद्धि छ। हाम्रो अनुभव पनि सधैँ बढिरहेको छ। उद्यपि जबसम्म बुद्धि र अनुभवको उपयोग गर्दैनौँ तबसम्म अनुभवको कुनै मतलब हुँदैन। प्राचीन कालमा व्यक्तिलाई बुद्धिमान बनाउनु नै समाजको कर्तव्य थियो। वर्तमान समाजमा यस्तो कुनै प्रकारको नैतिक व्यवस्था छैन। ज्ञानी कुन हो? भन्ने प्रश्न उठ्ने गर्छ। जो ज्ञानको उपयोग गर्छ, त्यो ज्ञानी हो।

सामाजिक र पारिवारिक रूपमा अनुशासिन बन्नका लागि पनि बुद्धिको विशेष योगदान छ। हुन त महाज्ञानीहरू भन्नुहुन्छ– शरीरको विकासको साथसाथ बुद्धिको विकास हुँदैन। यो कुरा सत्य हो किनकि समझ, ज्ञान र बुद्धिको उपयोगले नै हामीलाई असल नागरिक बनाउँछ।

विद्या

हामीले विद्या वा शिक्षा दुई प्रकारले प्राप्त गर्छांै। एउटा किताबी विद्या हो भने दोस्रो व्यावहारिक विद्या हो। किताबी विद्या स्कुलकलेजमा प्राप्त गरिन्छ। व्यावहारिक विद्या दैनिक जीवनका व्यवहार र अनुभवबाट प्राप्त हुन्छ। आफ्नो कल्याण, पारिवारिक सम्बन्ध, सामाजिक विकास तथा चारित्रिक विकासका लागि पनि विद्या नै सर्वश्रेष्ठ माध्यम हो। यसकारण नियम बनाएर नै प्रत्येक व्यक्तिलाई उच्च विधा प्राप्त गराउने व्यवस्था गर्नुपर्छ।

सत्यको पालना

हाम्रो जीवनमा सत्यको धेरै महत्व छ। समाजमा शान्ति, समानता र न्याय स्थापित गर्नका लागि सत्यको पालना गर्न धेरै जरुरी छ। हामी सबै चाहन्छौँ कि सबै सत्यवादी बनून्। असत्य कुनै पनि मान्छेलाई मन पर्दैन। व्यक्तित्व विकास तथा आत्मकल्याणका लागि पनि सत्यको आवश्यकता हुन्छ ।

क्रोध नगर्नु 

क्रोध पापको कारण हो। कुनै पनि मान्छेलाई क्रोध मन पर्दैन। यहाँसम्म कि आफूलाई पनि मन पर्दैन। भएको काम पनि रिसले गर्दा खराब हुन्छ। क्रोधले गर्दा स्वास्थ्य खराब हुन्छ; तनाव पैदा हुन्छ। यो दशवटा धर्मको लक्षण वा नियम राम्रो तरिकाले पालन गरियो भने निश्चित रूपमा लोक कल्याणकारी राजको स्थापना हुन सक्छ।

प्रकाशित: १० वैशाख २०७९ ०४:३९ शनिबार

अक्षर