कला

अब हुम्ला कहिले गाडी पुग्ला?

जुम्ला–रारा म्याराथनमा सहभागी हुन आएका गायक तथा गीतकार बुद्धवीर लामा गीत गाउँदै। तस्बिरः नगेन्द्र उपाध्याय/नागरिक

मनको माया हजुरले कहिले पाउने हो?

हुम्ला जुम्ला गाडीमा कहिले जाने हो?

डुंगो तरी रारा ताल कहिले घुम्ने हो?

गायक बुद्धवीर लामाले ५० को दशकमा गाएको यो गीत कर्णालीमा खुबै चर्चित थियो। उनले यो गीत सार्वजनिक गर्दासम्म दैलेखदेखि माथि सडक पुगेको थिएन्। यस्तोमा हुम्ला–जुम्लामा गाडी चढेर जाने र नेपालकै ठूलो रारा तालमा डुंगा तर्ने कल्पना उनले गरेका थिए।

गायक लामाको जुम्लासम्म गाडीमा आउने र मुगुको राराताल पुगेर डुंगा चलाउने सपना करिव तीन दशकपछि पूरा भएको छ। कर्णाली स्टोट्र्स क्लवले आयोजना गरेको जुम्ला–रारा अल्ट्रा म्याराथनमा सहभागी हुन आएका लामाले कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिर अघाडिबाट ५० को दशकमा तयार पारेको गीतलाई फेरि सम्झे।

‘नेपाली भाषाको उत्पत्ती भएको जुम्लामा गाडीबाट आउने र रारातालमा पुगेर डुंगा खियाउने कल्पना गरेर गीत लेखेको थिएँ,’ लामाले भने, ‘ढिलै भएपनि कल्पना साकार हुँदा खुशी लागेको छ।’ उनी सुर्खेत हुँदै स्थलमार्गबाट जुम्ला आइपुगे। शनिबार जुम्ला सदरमुकाम खलंगाबाट ४९ किलोमिटर लामो जुम्ला–रारा अल्ट्राम्याराथनमा सहभागी छन्।

‘अब दौडेर रारा पुग्छु र डुंगा खियाउँछु,’ गायक तथा गीतकार लामाले भने, ‘गीतका शब्द गुनगुनाउँदै डौदिनेछु।’ लामाले जुम्ला–रारा अल्ट्रा म्याराथनले कर्णालीलाई चिनाउन सघाउ पुग्ने बताए। ‘जुम्लादेखि रारासम्म दौडिन हजारौं मानिसहरु जुम्लामा भेला भएको देख्दा औधि शुखी लागेको छ,’ उनले भने, ‘यसको प्रचार–प्रसारका लागि सक्दो सहयोग गर्नेछु।’

राजधानी काठमाडौंबाट जुम्लासम्म गाढी चढेर आउने र रारामा डुंगा खियाउने सपना पूरा भएपनि हुम्लासम्म गाडी चढ्ने धोको भने अधुरै छ। हुम्ला अहिले पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन्। ‘चाँडै हुम्ला हुँदै चीनको सीमासम्म गाडी चढेर पुग्ने धोको छ,’ उनले भने, ‘हुम्लाकै मुख्यमन्त्री भएकाले मैले गीतमा व्यक्त गरेका शब्दहरु साकार हुने विश्वास लिएको छु।’

२०६४ सालमा पहिलो पटक जुम्लामा गाडी पुगेको हो। सुर्खेत हुँदै जुम्लासम्मको २३२ किलोमिटर सडकको स्तरोन्नति नहुँदा यात्रा कठिन र चुनौतिपूर्ण छ। जुम्लादेखि रारातालसम्मको ९२ किलोमिटर सडकको पनि स्तरोन्नति हुन सकेको छैन्। राराताल जति सुन्दर छ, बाटोको अवस्था त्यतिनै खराब छ।

‘सडक पहुँच राम्रो भइदिए कर्णालीको विकास र समृद्धिका लागि ठूलो टेवा पुग्थ्यो,’ उनले भने, ‘यसतर्फ अहिलेका तीन वटै सरकारको ध्यान जान आवश्यक छ।’

प्रकाशित: २६ चैत्र २०७८ ०५:५९ शनिबार

जुम्ला रारा म्याराथन गायक बुद्धवीर लामा