कला

स्वस्थानी व्रतकथामाथिको जनविश्वास

प्रत्येक वर्ष पौष पूर्णिमा दिनदेखि माघ पूर्णिमासम्म साँखुको शालीनदीमा आदि शक्ति श्री स्वस्थानीको व्रत बस्ने र कथा सुन्ने परम्परा रहिआएको छ।

त्यहीँ माधवनारायणको पूजा गर्ने र जात्रा पनि गर्ने गरिन्छ। साँखुको शालीनदीलाई शैलनदी, नालन्दी र नारायणी पनि भन्ने गरिन्छ। यो शाली नदी बोधिसत्व मणिचूड महाराज बसेको स्थान मणिचूड दह मणिशैलबाट बग्दै आइरहेको हो भनिन्छ।

यो साँखु देश बज्रयोगिनीदेवीको आज्ञाअनुसार राजा शंखदेव र पुजारी जोगदेव बज्राचार्यको संयुक्त प्रयासबाट कलिगत संवत् १८०१ मा नौवटा ग्रह, नौवटा बिहार, नौवटा टोल, नौवटा डबली, नौवटा कुण्ड र चारवटा ढोका समेत निर्माण गराएर स्थापित गरिएको भनिन्छ।

महिनाभरि श्री स्वस्थानी माताको कथा भन्ने र सुन्ने क्रममा श्री स्वस्थानीको पूजा गरेर श्री सत्यनारायणको व्रत बसेर महादेव र माधवनारायणको पूजा गर्ने गरिन्छ। महिलाले महिनाभरि व्रत बस्दा नुन नखाई दिनको एक छाक फलाहार मात्र खाएर त्यहीँ बस्ने गर्छन्। पुस–माघजस्तो जाडो समयमा दिनहुँ बिहान सबेरै शालीनदीमै नुहाएर एक दिन त्यहीँ स्वस्थानीको भक्तिभाव गरेर कथा सुन्ने गर्दछन्, व्रतालु महिलाले रातो सारी लगाएर बस्छन्।

स्वस्थानीको कथामा यो संसारको सृष्टि हुँदादेखिको साथै मधुकैटभ दैत्यको वध विष्णु भगवान्ले गरिसकेपछि तिनै दैत्यको शरीरबाट पहाड र जमिन बनेको ब्रह्माले दक्ष प्रजापतिको सृष्टि गरेर मानिसको सृष्टिको सुरुआत गरेको आदि कुरा समावेश गरिएको छ। दक्ष प्रजापतिकी ठूली छोरी सतीदेवीका साथै धेरै छोरी भएकाले सबै छोरीको विवाह विष्णु भगवानलगायत ३३ कोटि देवतासँग गरिदिएका थिए।

ठूली छोरी सतीदेवीको भने दक्ष प्रजापतिलाई मन नपर्ने महादेवसँग विवाह भएको थियो। भाङधतुर खाने, नन्दीभृंगी, भूतप्रेत, पिशाच अघिपछि लगाएर हिँड्ने, बाघको छाला बेरेर जथाभावी हिँड्ने, हेर्दै अधंगीझैँ देखिने महादेवले छलकपट गरेर सतीदेवी विवाह गरेकाले दक्ष प्रजापतिलाई सबैभन्दा मन नपर्ने ज्वाइँ महादेव भएको कुरा स्वस्थानीको कथामा उल्लेख गरेको पाइन्छ।

दक्ष प्रजापतिले कोटि होम गर्दा मन नपर्ने ज्वाइँ महादेव र छोरी सतीदेवीलाई मात्र निम्ता नगरी अरू सबै छोरी ज्वाइँका साथै ३३ कोटि देवता, नागनागिनी, यक्षकिन्नर आदि सम्पूर्णलाई निम्ता गरी बोलाएका थिए। यो कुरा थाहा पाएर सतीदेवीले आफ्नो र महादेवको अपमान गरेको सम्झी माइतीमा गएर होम गरिरहेको स्थानमा अत्यन्तै रिसाएर आदि शक्तिस्वरूप उग्ररूप लिँदा देवताको त के कुरा कोही पनि सो उग्र रूपका अगाडि बस्नै सकेनन्, सबै भागाभाग गर्न थाले। भयंकर प्रलयजस्तै भइरहेको त्यो समयमा स्वयं महादेव पनि सतीदेवीको सो उग्र रूपको अगाडि बस्न नसकेर भाग्न थाले। महादेव जहाँ–जहाँ भाग्थे, त्यहीँ विभिन्न रूप लिँदै सतीदेवीले महादेवको बाटो छेक्न थालिन्। यसरी बाटो छेक्दाछेक्दै १० ठाउँमा अर्थात् १० दिशामा १० वटा रूप काली, तारा, छिन्नमस्ता, धूमावती, बंगलामुखी, कमला, त्रिपुराभैरवी, भुवनेश्वरी, त्रिपुरासुन्दरी र मातंगी हुन गयो। यसैलाई १० महाविद्या भनिन्छ।

यो कुरा महाभागवतको कथामा उल्लेख गरिएको पाइन्छ। जब सतीदेवी नियन्त्रणमा आउनुभयो, तब यज्ञकुण्डमा गई आफैँले अग्निज्वाला प्रकट गरी त्यही ज्वालामा आफ्नो प्राण त्याग गरिन्। आगोले पनि छुन नसकेको सतीदेवीको मृत देह बोकेर महादेव विभिन्न स्थानमा भ्रमण गरिरहँदा सतीदेवीका विभिन्न शक्तिपीठ बनेका हुन् भन्ने मान्यता छ।

श्री स्वस्थानीको कथामा उल्लेख भएअनुसार ५१ शक्तिपीठमध्ये काठमाडौंको गुहयेश्वरी शक्तिपीठ एउटा हो। पछि सतीदेवीले पर्वतराज हिमालय र मेनकाको गर्भबाट छोरीका रूपमा पार्वती भएर जन्म लिएकी महादेव नै पति पाऊँ भनी श्री स्वस्थानी व्रत बसेर महादेव पति पाउन सफल भएकी हुन् भन्ने श्री स्वस्थानी व्रत कथामा उल्लेख गरिएको छ। त्यसैको सम्झनास्वरूप यो स्वस्थानीको व्रत बस्ने र कथा सुन्ने परम्परा चलिआएको हो भनिन्छ।

साँखुमा व्रत बसिरहेका व्रतालु भक्तपुरको चाँगुनारायण, पनौतीको त्रिवेणीघाट, काठमाडौंको पशुपति र फर्पिङको शेषनारायणसम्म नांगै खुट्टाले हिँडेर गई ती स्थानमा एक–एक दिन बास बस्ने गर्छन्। यसरी भ्रमण गर्न जानुलाई परदेश जाने भनिन्छ। देशका विभिन्न स्थानमा विभिन्न किसिमले स्वस्थानीको व्रत बस्ने गरिन्छ। यसरी व्रत बस्ने अविवाहित महिलाले आफूले चिताएको जस्तो राम्रो असल पति पाउने र मनका सम्पूर्ण इच्छा पूरा हुने विश्वास गरिन्छ भने बिहे भइसकेका महिलाको पति र आफ्नो परिवारको शुभमंगल भई घरमा राम्रो हुने जनविश्वास छ। 

देशभरि यसरी स्वस्थानीको व्रत बसेर कथा सुनेर मनाएमा सबैका घर घरमा शान्ति हुन्छ भन्ने पनि जनविश्वास रहिआएको छ।

प्रकाशित: २२ माघ २०७८ ०५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App