कला

बाँदरहरू

निबन्ध

बोधराज पौडेल

मानिसको पुर्खा बारेमा अनेकौं किम्वदन्ती रहेका छन्। तर, उनीहरूको चकचके स्वभावलाई लिएर मान्छेलाई पनि कहिलेकाहीं बाँदरहरूसँग तुलना गर्ने गरिन्छ।

हामी सबैले नेशनल जोग्राफी त हेर्ने गरेका नै छौ। यही कुरा एनिमल प्लानेटमा पनि देखाउँछ। बाँदरहरूको समूहका बीचमा पनि दर्जा निर्धारण गरिएको हुन्छ। यसबाट सिक्न सकिने एउटा कुरा हो, मान्छेले अहिले गरिरहेको अनुसरण। बाँदरहरूको पनि आफ्नै मन्त्री राजा र सुसारेहरू हुन्छन्। पहिलो दर्जाकी आमाले दोस्रो दर्जाका आमा र अरूलाई दासत्वको व्यवहार गर्छन्। गराउँछन्। अरू बाँदरहरूले पनि उसलाई मालिक अथवा महारानीको रूपमा सम्मान गर्छन्।  

खानेकुरामा पनि पहिला उच्च वर्गकै अधिकार हुन्छ। उनीहरूले खाएपछि मात्र अरूले खान पाउँछन्। यदि खानेकुरा बाँकी रहेको खण्डमा। नत्र उनीहरूले उच्च पदस्थहरूले खाएको हेरेर बस्नुको विकल्प हुँदैन।

मानिसहरूको पुर्खा पनि बाँदर हो भन्ने भनाइ छ। यो कति सत्य हो भन्ने बारेमा यसको अध्ययन अनुसन्धान भइरहेको छ। कतिको अनुसन्धान गरिएको छ र कतिको अझै गरिंदै छ। यी सबै कुराहरू गर्भका कुरा हुन्।

सायद मान्छेले विभेदको नीति, उच्च निचको नीति तिनै बाँदरहरूको संघर्षबाट सिकेको हुनुपर्छ। म कहिलेकाहीं उच्च वर्गका बाँदरहरूले पाउने सम्मान र निम्न स्तरका बाँदरका बच्चाहरूले पाउने कष्टहरूको बारेमा हेर्छु।

कहिलेकाहीं यति कारुणिक चित्रहरू देखिन्छन् अथवा उच्च वर्गका मानिएका बाँदरहरूले निम्न वर्गमा राखिएका बाँदरका बच्चाहरूलाई यसरी टिप्छन्। चिर्थोछन्, टोक्छन् र पर पुग्नेगरी फ्याँकिदिन्छन्। विचराहरू चुँचुँ गरेर कराउनुभन्दा अरू केही गर्न सक्दैनन्। किनभने समूहमा तिनीहरूकै आधिपत्य छ।

उनीहरूले त मात्र तिनीहरूको सुसार गर्नुपर्छ। दुःखसुखमा उनीहरूलाई सघाउनुपर्छ तर आफ्ना दुःखका कुराहरूलाई उनीहरूले लुकाउनुपर्छ। बिर्सनुपर्छ।

यही सभ्यता मानिसले पनि सिकेको छ। जसलाई हामीले संसारकै चतनशील प्राणी भनिरहेको छौ। यही सभ्यताका कारण नै हो कि मानिसको पुर्खा बाँदर थियो भन्ने कथन भएको पनि।

मेरो विचारमा अझै पनि बाँदरमा भएको जिनको अवशेष मानिसको शरीरमा छ। मान्छेले आफूलाई चेतनशील भने पनि, बौद्धिक वर्गको रूपमा राखे पनि आखिर अहिलेसम्म बाँदरले गर्दै आएको सिकोलाई गरिरहेका छन्।

जसरी उच्च वर्गमा रहेका बाँदरहरूले तल्लो वर्गमा रहेका बाँदरहरूलाई गरेको हेपाहा प्रवृत्ति जुन र जस्तो छ मानिसहरूमा पनि त्यस्तै भइरहेको छ। यो हामी हेरिरहेका छौं। भोगिरहेका छौं।

बाँदरहरूमा ज्ञान छैन तर पनि उनीहरू समूहमा नै बस्छन्। कुनै बाँदरले त्यो समूहमा एक रात बिताएन भने भोलिपल्ट त्यो बाँदरलाई उनीहरूले आफ्नो समूहमा मिसाउँदैनन्। उसलाई आफ्नो समूहबाट तिरस्कार गर्छन्। अथवा भनौँ त्यसलाई बहिष्कार गर्छन्।

त्यसरी समूह वा हुलबाट छुट्टिएको बाँदर नै अन्त्यमा गएर एक्ले बाँदरमा परिणत हुन्छ। उसले आफ्नै बासस्थान बनाउँछ। आफ्नै तौरतरीका हुन्छ। छुट्टै रहनसहन हुन्छ। उसको कोही साथी, इष्टमित्र हुँदैन। ऊ एक्लै आफ्नो निर्वाह गर्छ। जीवन बिताउँछ। किनकि ऊ समाजबाट लखेटिएको हो। उसले समाजले बनाएको नियम तोडेबापत पाएको सजाए हो यो।

मानिसहरूले पनि यस्ता विभेदहरू गर्छन्। छुट्याउँछन्। हुत्याउँछन्। जगल्ट्याउछन्। चेतनशीलमा पनि यो प्रवृति बारम्बार देखिन्छ। र त हामी सुन्छौ। मलमूत्र खुवाएका कुराहरू। यी कुनै बिम्व, अलंकार वा भनौं उपमाको कुरा होइन। यी सबै कुरा यर्थाथतामा भोगिएका तर नलेखिएका कुराहरू हुन्।

तुलनात्मक रूपमा एउटा कुरालाई जोड्ने हो भने हात्ती पनि समूहमा नै बस्छ। सबै कुरा समूहमा गर्छ। साथीभाइको मायाममता र आमाहरूको स्नेह यहाँ पनि हुन्छ। तसर्थ हात्तीहरूका बथानमा दुःखसुख सबै बराबर हुन्छ। उनीहरूको एउटा आमा रोगी भयो भने र आफ्नो बच्चालाई दुध खुवाइरहेकी छ भने दुबै बच्चालाई बराबर दुध खुवाउँछे।

समूहमा कुनै आमाको मृत्यु भयो भने अर्की आमाले त्यस बच्चाको पालनपोषणको जिम्मा लिन्छे। अरूले मिलेर त्यसमा सहयोग गर्छन्। सबै मिलेर त्यसलाई हुर्काउँछन्, बढाउँछन् र समूहको एक हिस्सा बनाउँछन्। त्यहाँ उच्चता र नीचताको विभेद छैन्। सायद उनीहरूमा दर्जा हुँदैन होला र त यो सबै हुन्छ।

समूहको कुनै एक हात्ती म¥यो भने समूहमा रुने गर्छन्। कुनै नयाँ बच्चाको जन्म भयो भने खुसीयाली भनाउँदै उसको संरक्षण गर्छन् र हुर्काउँछन्।

बाँदरका बथानमा जस्तै एक अर्कामा चिथोराचिथोर पनि त्यहाँ हुँदैन। समूहको एक सदस्य कमजोर भयो भने वा कुनै नवजात शिशु छ भने यसलाई आमाले आफ्नो पेटको तल राखेर हिडाउँछे।

अरूले वरिपरिबाट उसलार्ई पहरा दिन्छन्। कुनै हात्ती बिरामी भयो भने त्यो बसेपछि उठ्दैन भन्ने तिनीहरूलाई थाहा छ। यसो हुनाले त्यो कमजोर हात्तीलाई चारैतिरबाट थेगेर उभ्याइराख्छन्। उसलाई सान्त्वना दिंदै चलाइरहन्छन्। माया गरिरहन्छन्।

केही समय यसरी राखेपछि आफूलाई त्यो बिरमीले पनि आराम र सुरक्षित महसुस गर्छ र केही समयपछि आफै हिंड्न सक्ने साहस जुटाउँछ। त्यो साहसलाई ऊर्जामा रूपान्तरण गर्दै अरूले बिस्तारै च्यापेर हिँडाउँछन्। यो कुनै सम्यताको पौराणिक कथा होइन। उनीहरूभित्र रहेको एउता नवीनतम बिम्व हो, अनुभूति हो।

तर, बाँदरहरू त्यसो गर्दैनन्। सकेसम्म उच्च वर्ग मानिएकाले तल्लो वर्ग दर्जामा रहेकालाई आफ्नो शरीर कन्याउन लगाउँछन्। जुम्रा हेर्न कर गर्छन्। उनीहरूलाई सुसारेको रूपमा प्रयोग गर्छन्। यो आवश्यकताको कुरा भयो। जब आवश्यकता पूरा हुन्छ तब समूहबाटै तिरस्कार हुन्छ। समूहबाट हटाउँछन्। यदि समूहमा रो भने पनि कडा सजाए दिएर राख्छन्। अझ भनौँ चिथोरेर, नङ्ग्रायाएर, टोकेर कमजोर बनाएर मात्र समूहमा राख्छन्। यो उनीहरूको एउटा परम्परा जस्तै बनिसकेको छ।

म यतिबेला यी दुवै जनावरको तुलना गर्दैछु। हात्ती कति सम्य, सहयोगी र उत्तरदायी छ आफ्नो समूहका लागि। बाँदर कति कमजोर सोचको छ समूह बिस्तारका लागि। उता आफ्नो विरासत र आधिपत्यका लागि आफ्ना सेनापति गुमाउँदै गइरहेको छ। म यस्तै भानमा अल्झिरहेको छु यो एकलापमा। म अझै परपर पुग्छु कल्पनाको गहिराइमा। बास बसेको समयलाई हेर्ने हो भने पनिे उच्च दर्जा बाँदरहरू सजिलो स्थानमा आनन्दले बस्न सक्छन्। उनीहरूका सुसारेहरू कष्टका साथ अलिपर बस्छन्। यो नै उनीहरूको नियति हो। अथवा जीवन भोग्ने र जिउने एउटा रीत हो।

सम्यमता नभएको होइन। यदि सम्यमता नहुँदो हो त बाँडेर खाने पनि थिएनन्तर बाँडेर खानेकुरामा पनि बाँदरहरू हात्तीहरू जस्ता छैनन्। यिनीहरू हात्ती जस्ता सहनशील र धर्यवान् छैनन्। हात्तीहरू कसैले खाइरहदा कसैले पहरा दिइरहन्छन्। कसैले पहरा दिइरहँदा अरूले खाइरहन्छन्। तसर्थ हात्तीहरूलाई हत्पती कसैले आक्रमण गर्न सक्दैन।

तर बाँदरहरू आपसमै झगडालु हुन्छन्। चकचक गर्छन् र त मानवीय स्वभावमा कस्तो बाँदरजस्तो चकचके भन्ने गरिन्छ। हो, यस्तै यस्तै बिम्वमा खेल्दाखेल्दै नदीको वेग जस्तै मेरो जीवन बगिरहेछ। हावाको झोका जस्तै फुटाइदिन्छ उडिरहेका बेलुनका रंगहरू र कहिलेकाहीं फ्याट्ट यसरी झार्छ जहाँबाट मेटिन्छन् जीवनका किरिङमिरिङहरू।

म यतिबेला सभ्यता, परिवेश र विचारको बहसमा बहकिरहेको छु। बहकिंदै जाने हो भने पृथ्वीमा धारो, खोला हुँदै समुद्रसम्म पुग्न सक्छु। तैपनि जीवनको मोल भेट्न निकै कठिन छ। गाह्रो छ संघर्षको मैदानमा एक्लै लड्न। म सक्दिन होला लडे भने उठ्न पनि।

वरपर हेर्छु निर्बोध आँखाहरूले सम्झनामा तैपनि यसरी उडेर आउँछ टोटलाको फूल र झ्याप्प बन्द गर्छ स्वीचले बत्ती निभाए जस्तै मेरो दिमागको चेतना।

प्रकाशित: २० माघ २०७८ ०८:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App