कला

रहेनन् नेपाली रंगमञ्चका हस्ती

नेपाली रंगमञ्चलाई चलायमान बनाउन विशेष भूमिका निर्वाह गरेका रंगकर्मी तथा लेखक प्रचण्ड मल्ल अस्ताएका छन्। दम रोगबाट ग्रसित उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा शुक्रबार ८५ वर्षको उमेरमा निधन भएको थियो।

पछिल्लो समय श्वासप्रश्वासमा समस्या देखिएपछि मीनभवनस्थित निवासमा अक्सिजन दिएर उपचार भइरहेको थियो। १९९६ सालमा बारा जिल्लाका कलैया, बरेवामा जन्मिएका मल्लले रंगमञ्चमा अभिनयदेखि निर्देशन, लेखन, सज्जा र लाइटलगायत विधामा सक्रिय रहेका थिए।

रंगकर्मी मल्लको बाल्यकालका वीरगञ्जमा बित्यो। राजधानीको गुच्चाटोलका स्थायी बासिन्दा उनका बुबा वीरगञ्जस्थित परवानीपुर सेन्टर फार्ममा हाकिम भएपछि सपरिवार उता लागेका थिए। वीरगञ्जको त्रिजुद्ध हाइस्कुलमा अध्ययन सुरू गरेका थिए।

१० वर्षको उमेर वीरगञ्जमा रामलीला देखेपछि अभिनयमा लोभिएका मल्लले तीन सय हाराहारीका नाटकमा अभिनय, लेखन तथा निर्देशन गरेका छन्। उनका आधा दर्जन बढी रंगमञ्चसम्बन्धी पुस्तक पनि प्रकाशित छन्।

भारतबाट रामलीला देखाउन आएको टोलीले हिन्दी र उर्दू भाषामा नाटक मञ्चन गर्न थालेको थियो। वीरगञ्जको त्रिजुद्ध स्कुलमा रामलीला हेर्न पुगेपछि उनी नाटकतर्फ आकर्षित भएका थिए। बुबाको जागिर सरूवा भएपछि सरेर उनको परिवार काठमाडौं आएको थियो।

रंगकर्ममा लागि परेका उनको संगत नातिकाजी, शिवशंकर र जनार्दन शर्मालगायतसँग हुन थालेको थियो। पढाईमा भन्दा बढी रुचि अभिनयमा देखाएपछि दाजु सुरेन्द्र मल्लले उनलाई बालकृष्ण समसँग भेट गराएका थिए। बसाई सरेर उनको परिवारका राजधानी आएपछि उनको संगत नातिकाजी, शिवशंकर र जनार्दन शर्मालगायतसँग हुन थालेको थियो।

१९९० सालमा ‘प्रेम’ एकांकी नाटक लेखेर आफ्नै निर्देशन गरी दरबार हाइस्कुलमा मञ्चन गरेका थिए। उनले ०९५ सालमा ‘मुकुन्द इन्दिरा’ लेखे र मञ्चन समेत गरे। समले निर्देशन गरेको ‘अमरसिंह’ नाटकमा पहिलो पटक विसं. २००९ सालमा रंगकर्मी मल्लले अभिनय गर्ने अवसर पाएका थिए। 

२०११ सालमा नेपाल कला मण्डल स्थापना गरी रंगकर्ममा सक्रिय भइरहेका सममार्फत् उनको अभिनयको यात्रा अघि बढेको थियो। त्यसपछि समको निर्देशनमा ‘भीमसेनको अन्त्य’, ‘प्रल्हाद’ र ‘राजेन्द्रलक्ष्मी’ लगायत नाटकमा उनले अभिनय गरेका थिए। उनका ‘नेपाली रंगमञ्च’, ‘भातृप्रेम’, ‘तिलगंगाः ऐतिहासिक नाटक संग्रह’ र ‘पश्चाताप’ लगायत कृति प्रकाशित छन्।

२०२४ सालमा रुसबाट आर्ट एन्ड थिएटरको अध्ययन सिध्याएर फर्किएपछि उनी नेपाली रंगमञ्चलाई उकास्न लागि परेका थिए। २०२६ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा नाट्य संगीत विभागको नाट्य संगीत प्राविधिकका रूपमा जागिर सुरू गरेका उनले २०३० देखि २०५३ सालमा नाट्य प्रमुख रंगमञ्च प्रबन्धक भएर काम गरेका थिए।

रंगकर्मी सम, कृष्णप्रसाद रिमाल र गोपीनाथ अर्यालको सहनिर्देशक भएर नाटक निर्देशन गर्न थालेका उनले समदेखि भीमनिधि तिवारी, गोपालप्रसाद रिमाल, गोविन्दबहादुर मल्ल, सत्यमोहन जोशी र रमेश विकललगायतका नाटकको निर्देशन समेत गरेका थिए। २०५७ सालदेखि विसं. २०५९ सालसम्म प्रतिष्ठानको संगीत नाट्य विभागको व्यवस्थापक रहेका उनी २०६७ सालमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपति भएर काम गरेका थिए।

नेपाली रंगमञ्चको सज्जामा सक्रिय भएका उनले २०१८ सालमा नाचघरको मञ्च बनाउने जिम्मा पाएका थिए। त्यसपछि उनले महेन्द्र पुलिस क्लब र आर्मीको थिएटर हलको समेत स्टेज बनाएका थिए।

नेपाली रंगमञ्चको विकासको निम्ति महत्वपूर्ण योगदान गरेबापत उनी इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार (अभिनय), बालकृष्ण सम सम्मान र डबली पुरस्कारलगायतबाट सम्मानित भइसकेका छन्। उनको एक छोरी छन्।

प्रकाशित: ५ पुस २०७८ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App