कला

संघर्षशील नारीको कथा ‘मायाको संसार’

प्रसव पीडामा छटपटाइरहँदा अस्पतालबाटै पति बेपत्ता हुँदा पीडामा परेकी माया भण्डारी (भट्टराई) को जीवनमा आधारित वृत्तचित्र हो ‘मायाको संसार’। सशस्त्र द्वन्द्वको प्रभावले पति लोकेन्द्र भट्टराई पत्नी मायाले भागेको पीडा समेटेर वृत्तचित्र समृद्धि भिडियो सेन्टरले दर्शकमाझ ल्याएको हो।

ताप्लेजुङमा जन्मिएकी मायाको इलाम शान्तिपुरका लोकेन्द्रसँग बिहे भयो। यतिखेर उनको उमेर ४० वर्ष हो। सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही माओवादीबाट ससुरा चन्द्रकान्त भट्टराईको हत्या गरिएको, प्रसवपीडाले अस्पतालमा छटपटाइरहँदा पति बेपत्ता भएको र त्यसपछि मायाले गर्नुपरेको संघर्षको कथा वृत्तचित्रले बोलेको छ।

अनेकौं जटिलता छिचोलेर सफलताको मार्ग पछ्याएकी मायाको मार्मिक कथा र संघर्षबाट शिक्षा लिने धेरै ठाउँ रहेको वृत्तचित्रका परिकल्पनाकार रामप्रसाद ढुंगेल बताउँछन्। भन्छन्, ‘माया भट्टराईको जीवन संघर्षबाट अरूलाई पनि उत्प्रेरणा र ऊर्जा मिल्छ।’ निकै दुःख झेलेर सफलताका पाइला चालिरहेकी माया धेरैका लागि दृष्टान्त बन्न सक्ने उनको भनाइ छ।

वृत्तचित्रको उनको जीवनलाई इमानदार ढंगले झल्काएको छ। ताप्लेजुङको पेदाङ गाउँमा २०३८ वैशाख ७ मा जन्मिएकी मायाको परिवार २०४६ सालको राजनीतिक परिवर्तनपछि इलाममा बसाइँ सरेको थियो। २०५५ वैशाख १५ मा लोकेन्द्रसँग बिहे गरेकी मायाका दुई छोरी र एक छोरा छन्। २०६४ वैशाख ७ मा कान्छी छोरी जन्मिने क्रममा प्रसवपीडामा रहेकी मायालाई अस्पतालबाटै बेपत्ता भएका लोकेन्द्रको अहिलेसम्म अत्तोपत्तो छैन। धरानस्थित बिपी प्रतिष्ठानमा शल्यक्रिया गर्ने तयारी हुँदै गर्दा औषधि किन्न निस्केका लोकेन्द्र अहिलेसम्म बेखबर छन्। त्यसपछि मायाले निकै कष्ट झेल्नुपर्‍यो। ‘मलाई जीवनमै सबैभन्दा दुःख लागेको क्षण थियो त्यो,’ माया भन्छिन्, ‘पटकपटक आत्महत्या गर्न डोरी लिएर घरबाट निस्किएँ तर छोराछोरीको मायाले फर्कायो।’ 

ससुरा चन्द्रकान्त तत्कालीन शान्तिपुर गाविसका प्रधानपञ्च थिए। देशमा सशस्त्र द्वन्द्व चलेका बेला २०५६ कात्तिकमा माओवादीले उनको हत्या गर्‍यो। नेपाल विद्युत् प्राधिकरणका जागिरे लोकेन्द्रमाथि पनि पटकपटक धम्की दिइयो। ‘ससुराको हत्यापछि श्रीमान् राति कहिल्यै घर बस्नुभएन, कहिले जंगल र कहिले गोठ,’ माया सम्झिन्छिन्, ‘उहाँलाई धम्की आइरहन्थ्यो, हामी अस्पतालमा हुँदा कसैले उहाँलाई बेपत्ता बनायो।’

गाउँ तथा जिल्ला तहका सरकारी निकायले लोकेन्द्रलाई बेपत्ताको सूचीमा राख्न सिफारिस गरे। तर २०६३ मंसिर ५ को विस्तृत शान्ति सम्झौतापछि उपल्लो सरकारी निकायले लोकेन्द्रलाई बेपत्ताको सूचीमा राख्न अस्वीकार गर्‍यो। मायाले लोकेन्द्रलाई सशस्त्र द्वन्द्वमा बेपत्ता भएका व्यक्तिको सूचीमा राख्न धेरैपटक आग्रह गरिन्, त्यो क्रम अझै जारी छ। ‘आयोगले आश्वासन नदिएको होइन तर कार्यान्वयन भएन,’ माया दुखेसो पोख्छिन्, ‘मेरा श्रीमान्माथि सयौंपटक धम्की आए, उहाँ बेपत्ता हुनुभयो तर राज्यले किन बेपत्ता मान्दैन ?’ 

आयोगले द्वन्द्वका बेला बेपत्ता भएका व्यक्तिका परिवारलाई निधन भएकै व्यक्तिसरह राहत रकम दियो। तर, लोकेन्द्रको नाम बेपत्ताको सूचीमा समेत राखिएन। मायाले एकल महिलाका रूपमा सामाजिक सुरक्षा भत्तासम्म पाएकी छन्। स्वयं माओवादीका जिल्ला नेतासमेतले औपचारिक कार्यक्रमहरूमा लोकेन्द्रलाई बेपत्ताकै सूचीमा राख्नुपर्ने बताउँदै आएका छन्।

पति बेपत्ता भएपछि घरमा कमाएर ल्याउने बाटो हरायो। सुत्केरी मायालाई तीन छोराछोरी हुर्काउन निकै गाह्रो भयो। उनी सदरमुकाम आइन्। पोल्ट्री सप्लायर्स, तरकारी खेती र किराना पसल सञ्चालन गरी बिहान–बेलुकाको छाक टार्न सक्ने भइन्। छोराछोरीलाई शिक्षादीक्षा दिइन्। अहिले उनका छोरा रेबन सिड्नीको केम्स ओन विश्वविद्यालयमा इन्फर्मेसन टेक्नोलोजी अध्ययन गर्दैछन्। सानी छोरी रेजिना कक्षा ९ मा पढ्छिन्। ‘जति पीडा खप्नुपरे पनि तयार छु तर मेरा श्रीमान्लाई कसले, किन, कता पु¥यायो भन्ने थाहा पाउन पाए सन्तोष मिल्थ्यो,’ उनी भन्छिन्, ‘अहिले आउनुहुन्छ कि भरे आउनुहुन्छ भन्ने लाग्छ।’ 

प्रकाशित: ५ भाद्र २०७८ ०२:५९ शनिबार

शान्ति सम्झौता सशस्त्र द्वन्द्वको प्रभाव द्वन्द्वमा बेपत्ता भएका व्यक्तिको सूची संघर्षशील नारीको कथा ‘मायाको संसार’