कला

आकिला र उदासीपन

सन् २००४, म अफगानिस्तानको राष्ट्रपति तथा संसद्को चुनाव गराउने सिलसिलामा बामियान प्रान्त पुगेको थिएँ। त्यही बामियान, जहाँ पहाडी भित्तामा कुँदिएको करिब १७५ फिट अग्लो बुद्धमूर्तिलाई सन् २००१ मा तालिबानले ध्वस्त बनाएको थियो ।

अफगानिस्तानको इतिहासमै त्यो पहिलो निर्वाचन संसारका लागि एउटा आकर्षण थियो भने मानवीय पक्षको अर्को आकर्षण थियो त्यहाँका युवतीको रूप। कुनै पनि आगन्तुकको लोभी नजर किमार्थ हट्ने खालको हुनै सक्दैनथ्यो। हठात् कर्तव्यबोधले मात्र नियन्त्रण गर्थ्यो ।

                                       –                              –                          –    

आकिला नाम गरेकी केटी यति राम्री छ कि डाइकुन्डी, जागोरी र बामियान जिल्लाका स्थानीय फिल्ड संयोजकहरूमध्ये ऊ नै रूपमा अब्बल छे। उसको सौन्दर्य साँच्चै नै बयान गरेर साध्य छैन ।

मैले मेरो सहयोगी मसुदासँग सोधें, ‘यो देशमा कुनै राम्री केटीलाई देखेपछि ’तिमी असाध्यै राम्री छौ’ भन्न मिल्छ कि मिल्दैन, राम्रो मानिन्छ कि मानिँदैन?’ उसले जवाफ दिई, ‘अफिसभित्र ऊ एक्लै भएको अवस्थामा मिल्छ। तर, अरूका सामु नभनेकै राम्रो ।’

मैले भनें, ‘हाम्रो देश र अरू देशमा त यसो भन्दा महिला खुसी पो मान्छन् ।’ उसले जिस्कँदै उत्तर दिई, ‘यहाँ पनि खुसी त हुन्छन्, तर समाजले राम्रो मान्दैन। मलाई त्यसो भन त, म कति मक्ख पर्छु ।’

कुरोको चुरो यो पो रहेछ। खालि मैले चलन मात्र सोधेको थिएँ। रूप त हेर्ने र महसुस गर्ने कुरा हो।  

                                         –                              –                          –    

आकिला निर्विकल्प राम्री छे। झुक्याएर हेर्ने हामी दुवैको बानी छ। दुवैतर्फ हेराइको कुटिलता अवश्य छ तर अफगानिस्तान जस्तो देशमा विदेशीका निम्ति यो जटिलता पनि हो। योभन्दा ठूलो सामाजिक, सांस्कृतिक, पेसागत र उमेरगत भिन्नता छ। यद्यपि अफगानिस्तानको संस्कृतिमा पैसा भएको व्यक्तिले जतिसुकै कम उमेरकी केटीलाई पनि बिहे गर्न सक्छ। यस अर्थमा मजस्ता उमेरकाले उसलाई हेर्नु वा उसले मजस्ता उमेरकालाई हेर्नु भनेको उमेरको कुरा मात्र नभएर सोचाइ वा कुत्कुतीभित्रको आर्थिक क्षमता पनि हो।  

                                                                –                              –                          –    

मलाई यसैबीच जोन एस्र्किकनको भनाइ याद आयो, ‘सुन्दरता र आकर्षणमा फरक छ। सुन्दर केटी त्यो हो, जसलाई मैले ध्यान दिन्छु। तर एउटी आकर्षक केटी त्यो हो, जसले मेरो ध्यान आफूतिर तान्छे’। आकिलाका हकमा यी दुवै कुरा लागु हुन्छन्।  

निली मतदान केन्द्रकी संयोजक मासुमा पनि राम्री छे। तर ऊ दोस्रोमा पर्छे। अकिलासँग धेरै लज्जा छ, विरहभाव छ र समाज छ। यही कारणले ऊ खुल्न सक्दिन। सबैभन्दा ठूलो बाधक हो भाषा, ऊ  अंग्रेजी जान्दिन। ‘यस सर’, ‘नो सर’, ‘थ्यांक यु’, ‘ओके’, ‘आई कम’, ‘आइ गो’ सीमित शब्द एवं आँखैआँखाको भाकाले काम चलाएकी छे। उर्दू पनि जान्दिन, मात्र अफगानदारी भाषा। सबै कुराको अभाव सुन्दरताले पूर्ति गरेको छ ।

काम विशेषले यदाकदा आकिला मेरो कोठामा आउँछे। किनकि म उसको हाकिम हुँ। म दारी भाषामा सोध्छु, ‘सोमा खुब आस्तिद् (तपाईंलाई सन्चै छ) ?’ ऊ भन्छे, ‘खूब आस्तम् (सन्चै छु) ।’ बस्, बोलिचाली खतम। यो भन्दा बढी बोल्ने क्षमता हामीसँग छैन।

                                                      –                              –                          –    

यहाँ आएर हिन्दुस्तानी वातावरण पनि पाइएको छ। जागोरी जिल्लाको अन्तर्राष्ट्रिय हाकिम हनुमन्था बाबुले भारतीय सिनेमाका सिडी थुप्रो ल्याएको छ। त्यति मात्रै कहाँ हो र ? अचार, करी पाउडर, चाउचाउ र भान्सामा चाहिने दक्षिण भारतीय खानेकुरा। पूरा हिन्दुस्तानी खाद्य नै उल्टाएको छ यहाँ। काबुलमा पनि हिन्दी फिल्मका सिडीहरू भारतमा भन्दा सस्तो मोलमा पाइँदा रहेछन् ।

पुरानो हिन्दी फिल्म ‘गाइड’को सिडी रहेछ। धेरै वर्ष पहिले काठमाडौँमा हेरिएथ्यो। गुफाहरूमा पुगी सधैं पुरातात्विक अन्वेषण गर्ने विशेषज्ञ, धनी लोग्ने (किशोर साहु) ले स्वास्नी अर्थात् नायिका (वहिदा रहमान) को शृंगारिक आवश्यकतालाई बिल्कुलै ध्यान दिएको हुँदैन। एक प्रसंगमा उसबाट बच्चा नहुने कुरा पनि नायिकाले नायक (देवानन्द) लाई बताउँछे। लोग्नेसँग पटकपटक चर्काचर्की परिराख्छ। दुईबीचको यस्तो असमझदारी नायकले देखेको हुन्छ।

एकपटक कुरै कुरामा नायकले भन्छ, ‘म त बिहा गरेपछि मेरी पत्नीलाई खाना बनाउन, खेतबारीमा काम गर्न र गोडा मिच्न पनि लगाउँछु। हिजो तिमीले आफ्नो लोग्नेसँग गरेको व्यवहार यदि मेरी पत्नीले गरी भने उसले झापड पनि खान्छे ।’ यो सुने पछि हामी दर्शकलाई लाग्छ, नायकप्रति नायिकामा घृणा पैदा हुन्छ। तर नायिकाले अचम्मको प्रतिप्रश्न गर्छे, ‘जे जस्तो भए पनि तिमीले प्रेम त गर्छौ होला नि !’ बाफ रे ! बल्ल पो थाहा हुन्छ प्रेमको स्थान कहाँ रहेछ। यसको तुलना धनसँग कहिल्यै नहुने रहेछ।

यो संवादले यौटा अचम्मको संवेदनशीलता दर्शकमा भरिदिन्छ। प्रेम जहाँसुकै होस्, जोसुकैसँग होस्, यसको तुलनामा अन्य कुराको कुनै मोल छैन। हाम्रै तिजको गीत ‘ठूलो घरको सम्पत्ति नखाई नलाई सकियो, बाटुलपाते लहराले कम्मर कसियो’ ले एउटा मर्मस्पर्शी कथा बकिरहेको छ। छोरीले राम्रोसँग खाली, लाउली, सुख पाउली भनेर नेपालमा ठूलो घरमा बिहे गरिदिने चलन छ। तर त्यस कुलको अदप र अनुशासनले गर्दा त्यहाँ प्रेमानुभूतिका प्रसंग त्यसै बिलाएर जान्छन्। यौटा यन्त्रवत् साहचर्यको अर्थ के रह्यो र ?  

                                                  –                              –                          –    

आकिला सधैं उदासउदास किन देखिन्छे ? मलाई भित्र मनमा यस कुराले घोचिरहेथ्यो। यसैबीच मसुदाले सबै कुरा भनी। वास्तवमा आकिला विवाहित रहिछे। यौटी छोरीकी आमा। तर लोग्नेले अर्को बिहा गरेर यसलाई छाडेको। जवानीको उकुसमुकुस र प्रेमाभावबीचको गल्छी सानोतिनो पुलले जोड्न सक्ने खालको थिएन। त्यसैले त उदासउदास देखिन्थी। उसको उदासीपनलाई प्रतिनिधित्व गर्ने खालको यौटा मार्मिक हिन्दी फिल्मी गीत मलाई पुनः सम्झना भयो  –   

मुझे गले से लगा लो बहुत उदास हुँ मैं  

गम–ए–जहाँ से उठा लो बहुत उदास हुँ मैं...  

(फिल्म आज और कल, गायिका आशा भोंसले)।  

जवानीको एक्लोपन यौटा विचित्रको अवस्था हो। माया न त किन्न पाइन्छ, न मागेर लिने हो। न कतै चिच्याएर आउने हो। कस्तो अपहत्ते, कस्तो कारुणिकता, कस्तो आवश्यकता र कस्तो फिलिङ्स ! पाठकले यो गाना सचित्र हेर्नुहोला, गजबको स्वाद भेट्नुहुनेछ।  

                                         –                              –                          –  

आकिला ! मेरो एकतर्फी प्रेम, करुणा र दृष्टि–स्पन्दनले तिम्रो भौतिक आवश्यकता त पूरा गर्न सक्तैन। तर तिम्रै कारणबाट म यति कलम चलाउन सक्षम भएँ। तिम्रो रूपले मलाई लगाएको गुन यही हो।

(अफगान डायरीबाट)  

प्रकाशित: ५ भाद्र २०७८ ०२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App