प्रेम राई परीक्षित
आमा !
तिमीले घुरयान बारीमा
कपास रोप्यौ
र
सेताम्मै फुलायौ सपनाहरू
बुवाले तिम्रै सिको गरेर
घरमाथि डिलमा
चिलाउनेको रुख रोपे
र थपियो सपनाको एउटा अडेसो
आमा !
तिमीले कपास फुलायौ
चर्खामा घुमाईघुमाई धागो कात्यौ
परालमा बुट्टा कुँदेर
सुकुल र गुन्द्री सिकुवामा सजायौ
बुवाले तिम्रै सिको गेरेर त
चिलाउनेको काठ खोपेर
कत्ति सुन्दर तान बनाए
अचम्मको धागो कात्ने चर्खा बनाए
परिणाम
जन्मियो एक थान खाँडीको कपडा
कोगटीको दौरा–सुरुवाल
अनि छिटको सुन्दर फरियाहरू
छोपियो परिवारको नाङ्गो शरीर
काटियो निर्दयी माघहरू
छोपियो भुईँ
पराले यति कार्पेटहरूले
अग्लियो स्वाभिमान अनि आत्मनिर्भरता
आमा !
साउँ अक्षर नचिनेका तिम्रा हातहरूले
कसरी भेटाए यी उद्यमशीलता
बुबा!
स्कुल नदेखेका तिम्रा आँखाहरूले
कसरी देखे हलो जुवा दाँदी
अनि लुगा बुन्ने तानहरू
कसरी थप्यौ यति धेरै
इन्जिनियरिङका नयाँ आयामहरू?
आमा !
तिमी नपढेर पनि
भियाई –नभियाई थियौ हिजो
र म पढेर पनि
फुर्सदै फुर्सद छु आज
अझ भनौ बेरोजगार छु
बुबा !
तिमीले स्कुल नदेखेर पनि त
हातमा सीप फुलाएका थियौ हिजो
म स्कुल पढेर पनि
लौरो न हतियार भएको छु आज
आमा !
तिमीले नपढेर पनि संसार पढेकी थियौ
म पढेर पनि
अनपढजस्तै भएको छु आज
बुबा !
तिमीले स्कुल नदेखेर पनि संसार देखायौ
मैले विश्वविद्यालय देखेर पनि
निरक्षरजस्तै भएको छु आज
त्यसैले,
आमा !
तिमी जीवनको परीक्षामा
उत्तीर्ण भयौ
बुबा !
तिमी पनि जीवनको परीक्षामा
अब्बल ठहरियौ
र अफसोस
म अहिले पनि जीवनको
पुरक परीक्षा दिइरहेको छु...!
आमा !
पढ्नु भनेको त
जीवन हलोजस्तै बोसिलाले ताछिनु रहेछ
कपासजस्तै चर्खामा पेलिनु रहेछ
पढ्नु भनेको त
जीवन डल्लेठाले जस्तै डल्ला फुटाउनु रहेछ
दाँदीले जस्तै सम्म पार्नु रहेछ
पराल गुन्द्रीमा जस्तै
हरदम रूपान्तरण हुनु रहेछ
आमा !
त्यसैले म आज
तान र कपास
चर्खा र धागो
बोसिला र हलो
दाँदी र डल्लाहरूमा
जीवनको सार्थकता खोजिरहेछु !
प्रकाशित: ७ श्रावण २०७८ ०२:२५ बिहीबार