अम्बिका खरेल उप्रेती
मङ्गलमय माविको महिला कोटाको पद खाली भएपछि रमालाई त्यहीँ शिक्षक हुने चासो बढ्यो । उनले आफू निजी विद्यालयमा लामो समय काम गरेको अनुभव र प्रथम श्रेणीका शैक्षिक योग्यताका प्रमाणपत्रका आधारमा आफूलाई शिक्षक हुनुमा सक्षम ठानेकी थिइन्। बार, गते र अन्तिम म्याद सकिदै थियोे। विज्ञापनमा लिखित र मौखिक दुबै परीक्षा हुने जनाएको थियोे।
मङ्गलमय मावि शान्त वातावरण, सुन्दर फूलबारी र वरिपरि दिवालले घेरेको आकर्षक भवन रहेछ। उनले विद्यालय प्रवेश गर्नासाथ आफ्नो उज्ज्वल भविष्य देख्न थालिन्। त्यहाँ निवेदन दर्ता गर्नेहरूको भिड थियो। सबै प्रमाणपत्रका साथ पन्ध्र सय तिरेर बायोडाटा पेश गरिन्।
– मेरो त पक्का हुन्छ । विद्यालयका संचालक समितिको अध्यक्ष काका हुनुहुन्छ। फारम भर्न समेत अरूलाई लगाउने एक महिला बोलिन्।
– वडाध्यक्ष मेरो मामा हुनुहुन्छ। मलाई यो सिट नदिएर अरूलाई दिनुहुन्छ त ? अर्कीले गर्वका साथ बोलिन्।
– प्रदेश मन्त्री मित बुबा हो। मलाई कुनै समस्य छैन। म त ढुक्क छु। यी महिलाहरूको कुरा सुन्दा यहाँ भतिजी, भान्जी, छोरी, साली,बहिनी राख्ने प्रतियोगिता भएझैँ लाग्यो।
टिङटिङ घन्टी लाग्यो। सबै महिला परीक्षाहलमा प्रवेश गरे। धेरैले परीक्षामा सामेल हुँदैमा आफ्नो जागिर निश्चित ठानी कलम टोकेर तीन घण्टा बिताए।
हप्ता दिनमा लिखितको रिजल्ट आयो। लिखितमा २ सय जनामध्ये तीस जनाको नाम निकालिएको रहेछ। जम्मा २ जनाको सिट तीसजनामध्ये छान्नुपर्ने स्थानीयलाई विशेष प्राथमिकता भनिएको छ।
लिखितमा नाम निकाले पनि मौखिकमा आफ्नो नाम नपर्ने छाँट देखेपछि रमाले त्यहीँ वाडमा घर किनेर मन्त्री, स्थानीय नेता, अध्यक्ष र प्रधानाध्यापकलाई फोन गरिन् । मेरो त आफ्नो भन्ने र सोर्स लगाउने हजुरबाहेक कोही हुनुहुन्न।
प्रकाशित: १ श्रावण २०७८ ०२:४० शुक्रबार