कला

हाँस्न सिक्नुपर्छ पीडा लुकाएर पनि

मुक्तक

 माया उपाध्याय

 

          (१)

अपार खुसीको प्रहर लिएर आउँछ,

भर्दछ हरियाली सुन्दर लिएर आउँछ।

टुट्दैमा सकिँदैन जीवन वा कुनै चिज,

चुनौतीसंगै नयाँ अवसर लिएर आउँछ।

            (२)

बोकेर बच्चा बोकेर भारी आमाले सधैं,

मान्दै नमानेर दिक्दारी आमाले सधैं ।  

भोकमा पटुका कसी रातमा जागै बसी,

पूरा गर्छिन् जिम्मेवारी आमाले सधैं।

           (३)

बगिरहन्छ आँखामा पानी तिम्रै कारणले,

प्रेम छुट्दा बदलियो कहानी तिम्रै कारणले।

भुलिसके यी अधरले मुस्कान दिन पनि,  

हुनेछु  अब  चाँडै  खरानी तिम्रै कारणले।

           (४)

कसरी हुन्छन् सपना पूरा यहीँ दिन देख्नु थियो,

आँटेका काम सबै अधुरा यहीँ दिन देख्नु थियो।

आँखै अगाडि लुटिस् दैव भएका ती सबै खुसी,

पुछियो सिन्दुर,फुटे चुरा यहीँ दिन देख्नु थियो।

          (५)

गरेर त्यसै मरिहत्ते कहाँ हुन्छ र,

भन्ना साथ सबै फत्ते कहाँ हुन्छ र।

हाँस्न सिक्नुपर्छ पीडा लुकाएर पनि,

हाँसो पनि सधैं सत्ते कहाँ हुन्छ र।

प्रकाशित: ३१ असार २०७८ ०४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App