कला

आनन्द

लघुकथा

डा. रामेश्वर अधिकारी

 

“यो निर्जन र शून्यताको गर्भमा अवस्थित एकान्त चौतारीमा एक्लै धुम्धुम्ती के गरेर बसिरहनुभएको बुढा बा ?”

“पर्खेर बसेको बाबु।  आउन बरु तिमी पनि सुस्ताउ एकछिन।”

“कस्लाई पर्खनुभएको?”

“आनन्दलाई।”

“आनन्द? को आनन्द?”

“छोरो मेरो।”

“कहाँ छ त?”

“खै भित्र कता–कता लुकी बस्छ?  उसलाई खोजेर निकाल्न धेरै नै मेहनत गर्नुपर्छ।  उसको देउता बुझेपछि मात्र ऊ बाहिर निस्किन्छ।”

“अनि आएपछि त फर्कदैन होला नि?”

“किन हुन्थ्यो?  त्यसो भए त भइहाल्थ्यो नि।  उ त आउँछ – अनि तत्कालै गइहाल्छ।  कहिलेकाहीँ त आफ्नो छायाँ मात्र देखाएर भाग्छ।  स्थिर आसन त छँदै छैन त्येसको। ”

“बाँधेर पो राख्नुपर्ने त्यसलाई त।  हैन र बा?”

“त्यही त चाहिएको बाबु।  जसरी भए पनि उसलाई आफूसँगै राख्न खोज्छु।  फकाएर राख्न पाए त बेसै हो।  नसके चुर्मुर्याएर राख्न सके पनि ठिकै हुन्थ्यो।तर कस्ले सक्ने र?”

“त्येस्तो जब्बर छ र?“

“ओहो !  चिनेकै छैन तिमीले उसलाई।  म जहिले पनि उसलाई पक्रिन खोजि रहेको छु।  कहिले कहिँ त च्याप्प समात्छु पनि।  तर नदीमा माछो चिप्लिए झैं सुलुत्त चिप्लिहाल्छ।  फेरी गाएब।“

“कुनै बलियो मानिसलाई लगाउनुहोस् न त समात्न?”

“कस्को पिताम् पुग्ने?  धेरैले कोशिस गरिसकेका छन्, तर क्षणिक नियन्त्रण बाहेक अरु उपलब्धि कसैले प्राप्त गर्न सकेका छैनन्।  ऋषि–मुनिहरूलाई पनि गुहारें।  उनीहरुले उसको खोजीमा बन–पाखा चाहारे।  केहि नलागेपछि घुर्क्याएर अनशन पनि बसे।  तर आजसम्म उसलाई पूर्ण रुपले कसैले पनि अठ्याउन सकेको छैन।”

“बुढो भएको बाबुलाई एक्लै छोडेर जान्छ त त्यसरी?

“हैन, उसको अनुपस्थितिमा मसँग बस्न आफ्नो साथि चिन्तालाई छोडेर जान्छ।“

“कति दुःख गर्नुहुन्छ त? माया मार्नोस उसलाई र ढुक्कसँग बस्नोस।“

“उसको अनुपस्थितिमा कसरी बस्ने ढुक्कसँग।  उ नै त हो मेरो जीवनको एकमात्र सहारा – जिउने बाटो। ”

२०३२ साल, जेठ ९ गते,धरान

(संयुक्त राज्य अमेरिकाको हार्वार्ड विश्वविद्यालयबाट कानून संकायमा स्नातकोत्तर र एरिजोना राज्य विश्वविद्यालयबाट विद्यावारिधि प्राप्त गर्नुभएका डा. अधिकारी हाल एरिजोना राज्यमा कानूनी विश्लेषकको हैसियतमा कार्यरत हुनुहुन्छ।)

प्रकाशित: ३० असार २०७८ ०७:२९ बुधबार

अक्षर