कला

गोटी

लघुकथा

इन्दिरा प्रसाई

 

’बुबा यो त अत्याचारै भएन र ? देश र जनताको हीतमा केही काम हुँदैन।  पचास अरब रुपियाँ कोरोनाको समस्या समाधानका लागि जनताका नाउँमा खर्च गरेर सकियो भनियो । कहाँ खर्च भयो ? जनताका घरदैलोमा त सबैतिर हाहाकारै हाहाकार छ ! सबै जनतालाई त्यो रुपियै दामासाहीले बाँढी नै दिउँ न त भन्दा पनि हरेकका भागमा झन्नै पन्ध्र हजार रुपियाँ भाग लाग्छ । आखिर किन हाम्रै पार्टीको सरकार हुँदा पनि हामीले चाहेजस्तो केही काम भइरहेको छैन ? मलाई त हिजोआज साथीभाइसँग भेटघाट गर्न पनि लाज लाग्न थालिसक्यो। यस्तै हो भने म त यो राजनीति – साजनीति गर्दिन बुबा।’ छोरा नेताले बाबु अध्यक्षसँग उत्तेजित हुँदै आक्रोशका साथ भनेको थियो।

‘त्यस्तो कुरा नगर्न छोरा, नेपालको राजनीति बुझ्ने कोसिस गर । यहाँ देश र जनताको भलोका लागि हामीले काम गर्ने नै होइन् ।’  

अध्यक्ष बाबु चाहिँले छोराको अनुहारमा हेर्दै नरम स्वरमा भनेको थियो।

‘मैले होस् सम्हालेदेखि नै तपाईँले राजनीति गरिरहनुभएको देखेको छु । अनि त्यसो हो भने तपाईँले कसका लागि र किन राजनीति गर्नुभयो त ?’

छोरोको आक्रोश अझ चुलिएको थियो।  

’बाबू, यो कुरा अर्कै छ, भन्नू पनि हुन्न, सुन्नु पनि हुन्न ।’  

अध्यक्ष बाबुले शयनकक्षको चारैतिर सन्त्रस्त नजर डुलाएर आश्वस्त हुन खोज्दै साउतीकै स्वरमा भनेको थियो । ढोकासम्म पुगेको आफ्नो दृष्टि फर्काउँदै पिताले पुनः पुत्रकै अनुहारमा पुर्याएर अड्याएको थियो।

‘मैले राजनीतिमै लाग्नुपर्छ भने मलाई यो सत्य जान्नबाट आज तपाईँले वञ्चित पार्नु हुँदैन, बुबा !’

छोरो नेताको दृढ र हठी आवाज कोठैभरि घन्किएको थियो।

‘छोरा जिद्धी नगर्, राजनीति गर्दैनस् भने तँ पढेकै देशमा फर्केर जा र सुरक्षित बाँच बाबू !’  

अध्यक्ष पिताको थप मधुर र गलित स्वर सुनिएको थियो।

‘बुबा, राजनीति गरे पनि नगरे पनि म तपाईँको छोरो हुँ, त्यसैले पनि मैले यो सत्य आज सुन्नै पर्छ । भन्नुस् तपाईँले कसका लागि र किन यस्तो बेइमान  राजनीतिका लागि ज्यानकै बाजी थाप्नुभयो त ?’

छोरो नेता अध्यक्ष पिताको नैतिक गर्दनै समात्ने गरी बलियो भएर बोलेको थियो।  

एकैछिन समय भारी भएर कोठाभरि फैलिएको थियो। बाबुछोरा बीच पनि त्यहाँ सन्त्रासपूर्ण सन्नाटा नै फैलिँदो थियो।

‘हामीले पनि देश र जनताका लागि नै भनेर राजनीति प्रारम्भ गरेका हौँ। सोही लक्ष्य लिएर हिँड्दाहिँड्दै केके भयो केके ? हामी त आफैँले पनि थाहै नपाउने गरी अर्कै भइसकेछौँ।

‘अब हामीले चाहेरै पनि केही नहुने भइसक्यो।अहिले हामी त गोटीमात्र भएका छौँ, छोरा ! हामीलाई चाल्ने अर्कै छ बाबू !’  

अध्यक्ष पिताको आद्र स्वर पुनः साउतीकै भाकामा तर विषाक्त धुवाँझैँ कोठैभरि फैलिएको थियो।  

छोरो नेताका आँखामा वितृष्णाका आँसु डम्म भरिएका थिए। बाबुका अनुहारमा पुगेको उसको दृष्टि प्रिय पनि थिएन। पुत्रले आफ्नो अनुहारको भाव असाध्यै बिगारेर टाउको हल्लाउँदै अध्यक्ष पिताको मुहारमा एकैछिन हेरिरह्यो। छोरा नेताका गालाबाट खुर्र दौडँदै भुईँतिर ओर्लेको एक ढिक्का आँसु अध्यक्ष पिताबाट पनि लुकेको थिएन।  

’अब यस राजनीतिबाट बाहिर निस्किन पनि सकिँदैन। यसैमा बसेर रमाउन पनि सकिँदैन। त्यसैले तँलाई मैले उतै बस्, यता के आउँछस् भनेको पनि थिएँ तर तैँले मानिनस् ।’ बाबुको गला पनि भरिएको थियो।

भोलिपल्टको अखबारको पहिलो पानामा अध्यक्षको एकमात्र पुत्रको आत्महत्याको समाचार छापिएको थियो।  

प्रकाशित: ३० असार २०७८ ०७:०१ बुधबार

अक्षर