कला

भोर्लेटारको सप्ताहमण्डपमा भानुभक्त आचार्यको अस्तित्व

मुक्तिनाथ घिमिरे

 

नेपालका आदिकवि भानुभक्त आचार्यको जन्म तनहँुको चँुदी, रम्घामा  १८७१ साल असार २९ गते भएको हो । धनञ्जय आचार्यका छोरा, श्रीकृष्ण आचार्यका नाति भानुभक्त आचार्य सानै उमेरदेखि तीक्ष्ण बुद्धिका भएर निस्के । उनले बाजे श्रीकृष्ण आचार्यबाट शिक्षादीक्षा पाएका थिए। उनी श्रीमद्भागवतका ज्ञाता थिए। उनमा ज्योतिषशास्त्रको पनि ज्ञान थियो। लमजुङ, भोर्लेटारका पौडेलहरू उनका मामली हुन्। जयलाल र मणिराम नाम गरेका दुई भाइ पौडेल उनका मामाहरू हुन् । उनी मामाघर जातेआते गर्दा मित्र गजाधर सोतीका घरमा पुगेको कुरा उनकै कविताबाट थाहा हुन्छ । गजाधरका सन्तान अहिले पनि तनहँुको तारुका, सोतीबेंसीमा छँदैछन् । नाटककार बालकृष्ण समले भक्त भानुभक्त नामक नाटकमा भानुभक्त रिस्तीखोलाको नजिक गजाधर सोतीकहाँ गएका थिए भनेर उल्लेख गरेका छन् । त्यसैगरी राष्ट्यि शिक्षा पद्धतिको योजना २०२८ पूर्वको ४  कक्षामा पढाइने ‘महेन्द्रमाला’ नामक पुस्तकमा पनि भानुभक्त रिस्तीखोलाको नजिकै एउटा चौतारामा सुतेका थिए। पछि घाँसीसँग वार्ता भएको थियो भन्ने कुरा उल्लेख छ ।

 मिति २०५५ साल जेष्ठ २ गतेको शनिवारीय गोरखापत्रको पृष्ठ (ग) मा प्रकाशित वास्तविक घाँसीकुवा नामक लेखमा भानुभक्त र घाँसीको संवादमा सोही कुवाबारे गहनतम चर्चा गरेको पाइन्छ। भानुभक्त आचार्य भोर्लेटार मामलीकहाँ जान आउँदा बीच बाटामा घाँसीसँग भेट भएर उसले कुवा खन्ने अवधारणा बनाएको थियो। पछि सोही सेरोफेरोमा उसले आफ्नो हैसियत अनुसारको कुवा खनायो । वास्तविक घाँसीकुवा त्यहीँ हो भनी त्यसै लेखका लेखक मुक्तिनाथ घिमिरेले किटानीसाथ भनेको कुरा त्यसै गोरखापत्रमा उल्लेख छ । वास्तविक घाँसीकुवालाई चिनाउने गरी प्रकाशमा आएको पहिलो लिखित दस्तावेज त्यही लेख हो । सोही लेखको एक उद्धरण यस्तो छः रम्घा गाविस ७ को चौरको चौताराको शीतलमा भानुभक्तले विश्राम गर्ने खड्गे ठाडा चौताराको छपनीको ढुङ्गामा आँसी उध्याउने काम भएर कीर्ति राख्ने कार्यबारे चर्चा हुने कुरा स्वाभाविकै थियो । पछि त्यै खड्गे मगरले क्यामिन ७ को बेँसीमा बाटाका कुनामा कुवा बनाएको हो र वास्तविक घाँसीकुवा पनि त्यहीँ हो । साविक रम्घा गाविस–७ भनेको ठाउँ हाल म.ने.न.पा. वडा नं.४ हो । लमजुङ भोर्लेटारबाट प्रकाशित वर्ष–१६,अङ्क –१३,२०७५ को टरेली नामक साहित्विक पत्रिकामा भानु,घाँसी, चैतारी र कुवा  नामक लेखमा त्यसका लेखक मुकुन्द पथिकले भानुभक्त र घाँसीकै प्रसङ्ग कोट्याएर सोही कुवालाई घाँसीकुवा हो भनी उचित तर्क राखेको पाइन्छ । त्यस कुवालाई मग¥या कुवा पनि भन्दछन् । मगरले खनाएको कुवा भएर त्यसो भनिएको हो । त्यो ठाउँ भनेको  तनहुँ  जिल्लाको व्यास नपा वडा नं. ७ को क्यामिन,पातालमा पर्दछ त्यो ठाउँ दमौलीबाट १६ किलो मिटरको दूरीमा उत्तरपश्चिमतर्फ पर्दछ।  रिस्ती खोलो लमजुङ र  तनहुँको सीमानामा पर्दछ। मध्यनेपाल नपा वडा नं. ४ रम्घा, दुईपिपले र व्यास नपा वडा नं.– ७ क्यामिनको सीमानामा पर्ने रिस्तीखोलाको पुलबाट तनहँुतर्फ त्यो कुवा पर्दछ अनि भानुभक्त र घाँसीले वार्ता गरेको चाहिँ सोही पुलको नजिकै लमजुङतर्फ बुधी रहको किनारमा अवस्थित एक चौतारामा हो । त्यस चौतारालाई भानुघासी संवाद चौतारो भनिन्छ । केही वर्षदेखि यता असार २९ गतेका दिन स्थानीय सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू र स्थानीय बुद्धिजीवीहरू मिलेर सोही चौतारोमा भानुभक्तसँग सम्बन्धित कविता वाचन लगायत विभिन्न कार्यक्रमकासाथ भानुजयन्ती मनाउने गरिएको छ । खड्गबहादुर ठाडा मगरको वंशको सन्तति प्रेमबहादुर ठाडा मगरलाई बिर्केटोपी लगाइदिएर सम्मान गरिएको अभिलेख पनि छ। उक्त कार्यक्रममा मध्यनेपाल नपाका प्रमुख, उपप्रमुख, म.ने.न.पा. वडा नं. ४ का वडाध्यक्ष, व्यास नपा वडा नं. ७ र ८ का वडाअध्यक्षहरू लगायत स्थानीय सामाजिक सङ्घसंस्थाहरूका प्रतिनिधिहरू र स्थानीय साहित्यप्रेमीहरूको समेत उपस्थिति रहन्छ । त्यस ऐतिहासिक ठाउँलाई उजागर गर्नमा मध्यनेपाल नपा लमजुङ, व्यास नपा तनहँु र गण्डकी प्रदेशसमेतको दायित्व रहन्छ ।  

अब भोर्लेटारतर्फ लागौँ । भानुभक्त आचार्य पढेर पण्डित भएपछि सबभन्दा पहिले भोर्लेटार मामाघरमा गएर श्रीमद्भागवत वाचन गरेकाथिए। यो कुरा उनकै मामली पौडेलहरूबाट खुलासा हुन्छ। भानुभक्तका मामाहरू जयलाल र मणिराम दुई भाइ थिए । ती दुई मामा कर्ता बनेर कुशपानी लिएर बसेका थिए भने भान्जा भानुभक्त व्यासासनमा बसेर कथा वाचन गरेका थिए। सो ठाउँ अहिले भग्नावशेषका रूपमा छ। भानुभक्तले भागवत वाचन गरेको ठाउँ यही हो भनेर स्थानीय पौडेलहरू तथा घिमिरेहरू बताउँछन् । त्यो सप्ताहमण्डपको क्षेत्रमा एउटा सानो आँपको रुख छ। त्योबाहेक अरू केराघारी छ। त्यस ठाउँलाई सप्ताहमण्डप भनिन्छ । त्यस मण्डपलाई सुरक्षित राखेर वरिपरि अन्न खेती गर्ने गरेको अवस्था देखिन्छ। भानुभक्तका मामली खलकले त्यस ठाउँलाई सुरक्षासाथ राख्नु र हाम्रा भान्जा हजुरबा भानुभक्तले कथा वाचन गरेको ठाउँ यहीँ हो भनेर चिनाउन सक्नु पनि ठूलो उपलब्धि मान्नुपर्दछ।  

 भानुभक्तले कथा भनेको सप्ताह मण्डप

 

त्यो ऐतिहासिक, पुरातात्विक एवम् पवित्र भूमि हो । अब त्यस ठाउँलाई उजागर गर्नुपर्ने अवस्था देखिन्छ । त्यसको क्षेत्र अलिकति बढाएर भानुस्मृति पार्क निर्माण गर्नुपर्ने देखिन्छ। पँलेटी कसेर बसेका अवस्थाको भानुभक्त आचार्यको एउटा सालिक स्थापना गरी श्रीमद्भागवतको पुस्तक फुकाएर पढ्दै गरेको अवस्था देखाउनुपर्ने हुन्छ। स्थानीय पौडेलहरूको चाहना भएमा भानुभक्तका मामाको समेत सालिक खडा गरेर कर्ताको भूमिका निर्वाह गरेको देखाउनुपर्दछ। आफ्ना पुर्खाको इतिहास उजागर गर्नमा पौडेल बन्धु नै अग्रसर हुनुपर्ने देखिन्छ। भानुपार्क निर्माण गरी उनको सालिक स्थापना गर्ने कार्यमा एक नं.मा उनका मामली खलक अघि सर्नुपर्दछ । दुई नं.मा स्थानीय वडा अर्थात् मध्यनेपाल नपा वडा नं. ६ अग्रसर हुनुपर्दछ। यी दुई थरी मिलेर नपामा कार्ययोजना अघि सार्नुपर्दछ। नपाले पनि त्यस कार्यलार्ई सहानुभूतिपूर्वक हेरिदिनुपर्दछ। अहिलेका भोर्लेटारका जल्दाबल्दा पौडेलहरू तथा सम्बन्धित वडाध्यक्ष पनि पौडेल नै भएको समयमा मौकामा चौका नहाने कहिले हान्ने त ?राष्ट्यि विभूतिलाई अघि सार्नु छ । राष्ट्यि विभूतिका नाउँमा आफ्ना इष्टमित्रको सालिक खडा गर्नु छ। साथै आफ्नो क्षेत्रको विकास देखाउन् छ । त्यो नाताले आफूहरू पनि एक कदम अगाडि बढ्नुछ। 

यिनै कुरालाई मध्यनजर राखी कार्यक्रम अगाडि बढाएमा नगरपालिकाले पनि हेर्नुपर्ने अवस्था आउँछ। यो कार्यक्रमलाई अगाडि बढाएको खण्डमा पुरातत्व विभागले पनि सहयोग पु¥याउने अवस्था आउँछ । पहिले भानुपार्क निर्माण समिति गठन गरेर कार्यक्रमलाई अगाडि बढाउनुपर्ने देखिन्छ। समिति जागरूक भएर अगाडि बढेको अवस्थामा यो पङ्क्तिकारले पनि पुरातत्व विभागमा घान लगाउने काम गर्नेछ।

त्यसरी कार्यक्रम सफल गराउन सकेमा यो ठाउँ साहित्यकारहरूका लागि एक नमुनादायक तीर्थस्थल बन्न जानेछ । टाढाटाढाका साहित्यकारहरू यहाँ आउने छन् । त्यति मात्र नभई अन्य पर्यटकहरू प्नि भानुभक्तको सालिक हेर्न भनी अवश्य आउने छन्। मध्य नेपाल नपाका विकास निर्माणका कार्यहरूमध्ये उच्च कोटिका कार्यमा यो पनि पर्न आउनेछ । भोलिका दिनमा हरेक वर्ष असार २९ गतेका दिन म.ने.न.पा.ले त्यसै ठाउँमा साहित्विक कार्यक्रम लगायत विभिन्न कार्यक्रमका साथ भानुजयन्ती मनाउन पनि सक्ने प्रबल सम्भावना देखिन्छ। साथै लमजुङका सञ्चारकर्मीहरूले विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्न पनि त्यसै ठाउँमा आउँछन्। भानुजयन्ती मनाउने घुम्ती कार्यक्रममा पनि उनीहरू संलग्न हुन्छन्। विश्वविख्यात नाटककार विलियम शेक्सपियरको सम्झनामा जसरी बेलायतको ट्नििटी गिर्जाघरले महत्व पाएको छ । ठीक त्यसैगरी लमजुङको भोर्लेटारमा अवस्थित भानुपार्कले पनि त्यस्तै महत्व पाउने कुरामा दुई मत छैन । त्यतिबेला बल्ल मूल्याङ्कन हुनेछ, यस्तो महत्वपूर्ण कार्यको अवधारणा कसले ल्यायो ?, कुन समितिले यो काम ग¥यो  ? त्यतिबेला त्यस नपामा मेयर, उपमेयर तथा सम्बन्धित वडाध्यक्ष कोको थिए ? सहयोगी हातहरू कुनकुन हुन् ?भोलिका पुस्ताले पनि महत्वपूर्ण काम गरेमा नाम रहँदो रहेछ भनेर प्रेरणा पाउने छन् । पुर्खाहरूले इतिहासमा लेख्नलायकको काम गरेका रहेछन् भनेर त्यति बेलाका अध्येताहरूले यस कार्यको सराहना गर्नेछन् । लेख्न योग्य काम गर वा पढ्न योग्य पुस्तक लेख भन्ने कुरा त्यतिखेर चरितार्थ हुनेछ। भोलिका दिनमा यो कार्य इतिहासमा लेखिनेछ । त्यसो हुँदा भोर्लेटारको सप्ताहमण्डपमा भानुभक्त आचार्यको अस्तित्व देखिन्छ ।  

प्रकाशित: ३० असार २०७८ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App