कला

दुरुस्त

लघुकथा

शुभ शर्मा

 

नातिको अनुहार हेर्दै आमा जहिले भन्नुहुन्थ्यो, ‘दुरुस्तै बाबुजस्तै ! म र मेरी श्रीमती सधैँ दङ्ग परेर  मुसुक्क मुस्काउँथ्यौँ । एकदिन आमाले मसंग अचानक भन्नुभयो, ‘छोरा! म  वृद्धाश्रममै बस्नेछु ,  पुरयाइदे न है !’

कारण सोद्धा थाहा पाएँ – मेरो अनुहार मेरो बुबासंग नमिलेर बुहारीले  निकै घोचपेच गरेकी  रहिछिन् । उहाँले सहन नसक्नु भएको रहेछ । आखिर जति  सम्झाउँदा पनि मान्नु भएन । अन्ततः बाध्य भएर छोडेर आएँ।

नमीठो भयो । घर शून्य लाग्यो । बुबालाई सम्झेँ र करुण स्वरमा मनमनै भनेँ, ‘बुबा! म हजुरजस्तो कहिल्यै हुन सकिँन । न त अनुहारमा न त व्यवहारमा ! हजुरले त  आमाबुबाको सेवामा कमी नहोस् भनेर जागिर छोडेर घर बस्नुभएको थियो तर आज मैले मेरी आमालाई आश्रममा छोडेर आएँ।  

म सोचमग्न  देखेर उनले भनिन् , ‘के  भयो? आमा आफ्नै रहरले त जानुभयो । केको चिन्ता ? पछि फकाएर ल्याउँला नि !’

मैले उनलाई सोधेँ, ‘हाम्रो छोरा मजस्तै  छ त?’

–हुबहु हजुरजस्तै छ‘ उनले ठोकेरै भनिन् ।

म एकोहोरो भएँ । उनले फेरि के भयो भनेर सोधिन्।

मैले लामो सास तान्दै भनेँ, ‘छोरो मजस्तो भयो, मेरो जस्तो व्यवहार गर्यो भने त बर्बादै भयो नि ! तिम्रो भविष्यको चिन्ताले पो  मलाई पोल्यो।’

प्रकाशित: २८ असार २०७८ ०६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App