कला

महापात्र

कथा

योगप्रसाद उपाध्याय चापागाईं 

 

 ढुङ्गामा  ढुङ्गा घोटेर चिल्याइरहेका थिए । ढुङ्गो वर्षौं पुरानो थियो । पुर्खाको सम्पत्ति । एउटा स्थायी घरको खाँचो थियो । घरको भित्तामा ढुङ्गा टुँडाल जसरी राख्नु थियो। बागमती किनारको एउटा डाँडामा त्यही काम गरिरहेका थिए चावा । त्यो चावाको आफ्नो जग्गा। त्यहीँ परम्पराले एउटा घर बनाउनु, छोराछोरी हुर्काउनु छ।

‘फुपा बाराणसीमा बस्थे। पछि खै कुन्नि के भयो बाराणसी छाडे । हिमाल फेदी हुँदै बगेकी भागिरथीगंगा किनार बसाइँ सरेका फुपाले उतै प्राण छाडे । धेरै वर्षअघि दसैँमा फुपू सेतीगंगा तरेर घर आएकी थिइन् । तिहार मानेर गंगा किनार फिरेकी । फुपू मरिन् बाँचिन् थाहा छैन ।’ बागमती आइपुगेपछि चावालाई बावु पुण्डरीले भनेका थिए रे। 

‘गंगा किनारको भिमसेनथान नजिकै बसेकी छन् कान्छी फुपू। फुपा बाराणसीबाट उनलाई लिएर गएका थिए। फुपा बिते, फुपू छन्।’

‘बाराणसी नबसेर भागिरथी गंगा किनार बसाइ सर्नुको कारण के थियो ?’ किशोर चावाले सोधेका थिए।

‘सेतीगंगा र भगिरथी गंगा आमनेसामने नै हो । गंगा किनार बस्दा घरको नजिक लाग्ने। पवित्र पनि हुनाले।’ चावालाई बावुको जवाफ ।  

‘यही संस्कार हो हाम्रो । बसाइ सर्ने।’ चावा मनका कुरा मनमै राख्छन्। उनलाई के थाहा ’पेमा’ का बुवा ‘बडा हाकिम’ । गुम्बाको अगाडि पेमासँग खेलिरहेका चावाको कुरा लिएर बडाहाकिमले पुण्डरीलाई मोहर दिँदा चावाको भविष्य सम्झिएर पुण्डरीले मोहर समाएका थिए । मोहर नसमाउनै कसरी ? त्यो समाज, त्यो समयको राय निसाफ । त्यति मात्र नभएर पेमाका बावु सबैले मानेका बडाहाकिम । बडा हाकिमले दिएको मोहर र परिवार लिएर पुण्डरी बसाइ हिँडेका थिएँ।

चावाको घरमा भित्ते टुँडाल राखेको छ । ढुङ्गा र माटाको गारो लगाएको। छोरा–नाति यहीँ हुर्किए बडे । ठूलो भुइँचालो नआञ्जेलसम्म चावाका छोरानाति कसैले नयाँ घर बनाएनन । युगौं युगदेखि बसिआएको चावाको घर भुईँचालोले भत्काएपछि नाति लक्षु केही दिन चिउँडोमा हात लगाएर बस्नुको विकल्प थिएन।

यसरी बेघर भएका लक्षु धेरै दिन बेघरै भए । दिन बिते, महिना बिते । बाठाहरूले राजसहयोग लिए र घर बनाए । लक्षु र लक्षुजस्ता सोझा – सिधाले राजसहयोग पाउन वर्षौं पर्खिनुपर्ने । लक्षुले पटुका कसे। भत्केको घरको ढुङ्गाढुङ्गा थुपारे, मुडा – मुडा थुपारे । नयाँ घर बनाउने योजना त लिए तर ‘के बेचेर बनाउने ! जेठा हजुरबा र काकाबाउले माटो बेचेर घर बनाए, छोराछोरीको बिहे गरिदिएपछि भाँडो बसेर बसाइँ  गएका रे । भएको अलिकति जग्गा बेचेर घर त बन्ला तुलफूल लाउने कहाँ ! मकै रोप्नु कहाँ  ! बाउबाजेको जग्गा बेचेर घरबनाउ, घर बनाएपछि बसाइ जाऊ । अँह यस्तो कर्म गर्दिन।’

लक्षुको मनले संकल्प गर्यो । ऋृणधार पाउने पनि आश थिएन । आफन्त र फुपू सन्तान को कहाँ छन् ? के गर्छन् ?लक्षुले सपनामा पनि देखेको छैन।

लक्षुले नयाँ घरको परिकल्पनाको म्याद लम्याए र पैसा कमाउने योजना तैयार गरे । फूल रोपे । देशी जातजातका फूल रोपे । दरबारिया र विदेशबाट आउनेहरूलाई मन पर्दा फूल रोपेर पैसा कमाउने निश्चय गरेर पैसा कमाउन लागे । दरबारिया र कुइरेको ताँत लाग्यो लक्षुका फूलमा । भनेजति पैसा कमाए । लक्षुको उद्यम देखेर दरबारिया पनि खुसी भए। पछि लक्षुको घर बनाउन राज सहयोगको पनि मञ्जुरी आयो।

दिव्यालक्ष्मी अंग्रेज बुढी महिलाहरूको बुई चडेर हुर्किन । अंग्रेज रानीका किस्सा सुनेकी दिव्यालक्ष्मीले अंग्रेज महिलाहरूबाट राजशासनका कैयौं अंग्रेजी शब्द सिक्न थालिन । यता दरबारियाहरू पनि पुतली जस्ती कन्याको चालचलन देखेर आकर्षित हुन लागे । उद्यमी बावुकी छोरी राजकुलकै हुन सक्ने उज्ज्वल भविष्य देखेर दरबार स्कूलमा पठनपाठनका लागि आज्ञा भयो । लक्षुको पनि भाग्य बनिदै गयो।

समय बिते, लक्षु धनी, नामी, दामी, उद्यमी लक्ष्मीखर बन्न पुगे । दरबारियाहरूको साथसहयोगमा सामेल हुन लागे । दरबारियाहरू पनि लक्ष्मीखर जतिका कर्मशील, उद्यमी र कुलरीत परम्पराले रिझेका घरकी छोरी दिव्यालक्ष्मी दरबारिया परिवेशमा मिल्न सक्ने देख्न लागे ।

लक्ष्मीखर परिवार घरमा बसिरहेका थिए। उनले कल्पनासम्म गरेका थिएनन् दरबारिया खलक दिव्यालक्ष्मीलाई माग्न कन्यार्थी बनेर उनका घरमा आउँछन। दरबारिया खलक दिव्यालक्ष्मीको कन्यार्थ बनेर आए।

आफ्नो कुल धर्म त्यागेर दरबारिया बरसँग दिव्यालक्ष्मीको बिहे गरिदिन मन त लक्ष्मीखरको थिएन । ‘धर्म मिल्ने, गोत्रले नछेक्ने, जात र परिवारको रहन सहन मात्र त फरक । तर दरबारिया योग्य पात्र। छोरीको भविष्य पनि छ। मेरो शरीरमा पनि यहि खुन उम्लिएर आएको थियो। यस्तो सुमौका सबकसैको भाग्यमा कहाँ आउँछ ?’  लक्ष्मीखरले मन बाँधे।

बुई चढाउने अग्रज महिलाका कानमा पनि दिव्यालक्ष्मीको कन्यार्थको कुरा पुग्यो । सबै जुटे। छोरी पनि राजीखुसी भइन्। धुमधामसँग बिहे भयो। कहाँ फूल बगैंचाका धनीकी छोरी कहाँ दरबारिया घरानकी वधू हुन पुगिन् दिव्यालक्ष्मी।

दिव्यालक्ष्मीलाई दरबार स्कूल भर्ना गरेपछि नवराजलाई लक्ष्मीखरले पण्डितबाट वेदविद्या पढाएका थिए। घरमा ज्योतिष पनि सिकाए लक्ष्मीखरले। दिव्यालक्ष्मी राजकुलकी वधूरानी हुनाले नवराजले राजज्योतिषको राम्रै पदवी पनि पाउने भए। केही दिनभित्रै नवराजले राजखलकको परिवेश सिक्ने र बुझ्ने मौका पाए। तर सामान्य परिवारबाट गएका नवराजलाई दरबारिया परिवेशमा मिल्न गाह्रो भयो।

दरबारिया परिवेशमा नवराजको मन ग्लानिले भरियो । घरमा सिकेको विद्याले दरबारिया परिवेशमा नवराज मिल्न सकेनन । आफ्नो मान प्रतिष्ठाका लागि नवराज वृद्ध पितालाई छाडेर बारानसी जाने र आनुष्ठानिक उच्च शिक्षा प्राप्त गर्ने निश्चय गरेर बाराणसी सवार भए। 

यता लक्षमीखर दिव्यालक्ष्मीको रेखदेखमा अन्तिम दिन गन्न लागे। भाग्यको खेल दिव्यालक्ष्मीका कोषमा भाग्यवान् पुत्रसन्तान रहेको र ऊ राजयोग लिएर जन्मिने भविष्य दिव्यालक्ष्मीलाई सुनाउँदा सुनाउँदै पुत्री दिव्यादक्ष्मीका काखमा लक्ष्मीखरको प्राणवायु उड्यो। दरबारिया परिवारका साइनो सम्बन्धबाट लक्ष्मीखरको देहान्तको खबर नवराजसम्म त पठाइयो तर नवराज फर्किएनन्। बाराणसीमै उनले बावु लक्ष्मीखरको काजकिरिया गरे।

बाराणसी बस्दा आफ्नो भाषा लय–लवज र खानपानमा केहि भिन्नता आए पनि नवराज दुखी हुन परेन । धनसम्पत्ति कमाए । बिहे गर्न समयको निर्देश । योग्य कन्या कहाँ ? जात र धर्म भित्र सुकन्याको खोजी गर्दै जाँदा नवराजको स्मृतिले पुराना कुराको खोजी गर्यो । जिजु बाजे, फुपा बाजेका सन्तान् ? कहाँ छन् के गर्छन् ? गंगाको किनारा कस्तो छ, कहाँ छ ? त्यहाँ पुगें भने आफ्ना र आफन्तलाई भेटिएला ? भाग्यले साथ दियो भने सबै समस्या समाधान हुने । नवराज एक्कासि परिवर्तन भए र बनारसबाट उत्तरको हिमफेदी भगिरथा गंगा किनार पुगे।

गंगा किनारको भिमसेनथान नजिक पुगेपछि नवराजले खरुबाट सुने , ‘उनीहरूका पुर्खा ‘चावा’ रे । हिउँदमा खोलानाला सुकेका बेला जिजुहरू वस्तु र लालाबाला लिएर पूर्वबाट बसाइँ आएका रे । कति त धेरै टाढाटाढा पनि गएका छन रे।’ वर्षौंपछिको जिजु सन्तानको भेटघाट नवराज र खरु बिच निकै भावुकताभरिको हुन पुग्यो । सबैका आँखामा खुसीका आसुँ बगे।

खरुले नवराजलाई उपल्लो गाउँ लगे जहाँ कुप्रा हजुरबाका सन्तानहरू बसेका थिए। उनीहरू सेतीगंगाबाट आएर गंगा किनारको फाँटिलो ठाउँमा बसेका रहेछन् । उनीहरू आफूहरूलाई चावा परिचय दिदाँ रहेछन् ।

रमाइलो भेटघाटपछि नवराजको बिहेको कुरा निस्कियो । चावाका ससुराली साइनोभित्र योग्य कन्याको बन्दोवस्त मिलाए । नवराजको बिहे भयो । आफ्ना र आफन्त जिजु फुपू सन्तान सबैले नवराजलाई त्यतै घरबनाई बस्ने सल्लाह दिए।

समय बित्दै गयो । दिव्यालक्ष्मीका छोरालाई दरबारियाले जिजुबाजेको थाकथलो पश्चिमको एउटा राज्य दिए। दिव्यराज साहसी र पराक्रमी राजाका रूपमा चिनिए । उनले आफ्नो पराक्रम देखाउन लागे र दिव्यराज दिक् विजय गर्दै भेरीगंगा र सेतीगंगा तर्दै भगिरथी गंगाकिनारमा पुगे ।  गंगा किनारमा उनलाई शत्रुपक्षको कुनै डर भएन । किनकि त्यहाँका गाउँमा बसेका दिव्यराजका मावली मित्रहरू र मामा नवराजसँग भेट भयो । त्यहाँ पुगेपछि दिव्यराज अत्यन्त खुसी भए । दिव्यराजका आँखामा रंगीन सपनाहरूको संचार हुन् लाग्यो।

दिव्यराजले मावलीहरूको सहयोगले कैयौं मन्दिरको स्थापना गरें । कालभैरव, जालपादेवी, ज्वालादेवी, विद्याञ्चल भगवती, श्वेतबराही, अचलादेवी, मष्टमण्डली देवीदेवताका थान र मन्दिरहरू दिव्यराज र मावली नवराजहरूले नै बनाएका थिए।

यी कुराहरू मैले ध्यानपूर्वक सुनेको थिएँ । जसरी मैले सुनेको थिएँ त्यसै गरी सुनाउँदै आएको थिएँ। यसरी अन्त्यमा खरु, नवराजहरूबाट विदा लिएपछि खोलानाला तर्दै पुरानो गोरेटो बाटो पैल्याएर अघि लागें । बाटाभरि पितृ श्रद्धाको भावनाहरू उद्भाषित भए । परमपिता जगदीश्वरले जहाँ बास गरेका छन् त्यहीँ पितृहरू निवास गर्छन्। जय वैकुण्ठनाथ !

खुइय्य .. साँझ परिसकेको थियो। थकान मेट्न छहारीको खोजी गर्दै जाँदा जूनको उज्यालोले परैबाट देखें, चापाबोटमुनि सानो मन्दिर रहेछ । थाकेको शरीर थियो । राति मस्त निद्रामा सपना देखें– वैकुण्ठमा भगवान् पितृहरूको पालनपोषन गरेर बसेका । आजसम्म हजारौं –लाखौं पितृ भगवान् वैकुण्ठनाथकै शरणागत भएर पार तरे। विष्णुलोक वैकुण्ठ गमन गरे। वैकुण्ठनाथको जयजयकारसँगै आफ्ना कुरा राखेँ । मैले भनेका सबै कुरा ध्यानपूर्वक सुनिरहेका रहेछन् एक वृद्ध। उनी वैकुण्ठनाथ भगवानका पुजारी रहेछन् । वैकुण्ठनाथका पुजारी ती वृद्ध रहेछन निमुखर । उनैलाई म खोज्दै आएको रहेछु । निमुखर मेरा कुरा सुनेर एक्कासि आवेगमा आए । उनको मुखबाट एउटा शब्द फुत्केर आयो । त्यो शब्द थियो, ‘सन्तान !’ 

प्रकाशित: २७ असार २०७८ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App