कला

राष्ट्रकविको खाना र दीर्घ जीवन

अक्षर

खाना जीवनको आधार हो। खाना सन्तुलित र ठीक मात्रामा खानुपर्छ भन्ने बुवाको भनाइ थियो। समय र कामले भ्याएसम्म बुवा हामी परिवारसँगै बसेर खाने गर्नुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, ‘पच्ने गरी खानका लागि चपाएर बिस्तारै खानुपर्छ, आत्तिएर नखाओ है।’

जस्तो अन्न उस्तै मन भन्ने भनाइ नै छ। खानाको असर मनमा पर्ने हुनाले अन्नको शुद्धता नै मनको शुद्धता हो भन्न अनुपयुक्त नहोला। बुवाको दीर्घ जीवन र सकारात्मक मनको रहस्यबारे एक लेखकको जिज्ञासाका लागि बुवाले उहाँलाई भन्नुभएको थियो, ‘वास्तवमा हाम्रो स्वास्थ्य भनेको हाम्रै हातको कुरो हो। यो प्रकृति निर्मित हुन्छ र अन्य सबै प्राकृतिक चिजमा जस्तै यसमा पनि पानी, हावा र प्रकाशको सन्तुलन जरुरी हुन्छ। म यी सबैप्रति सजग रहन्छु। म मेरो आहार सावधानीपूर्वक चयन गर्छु, मदिरा सेवनबाट आफैँलाई टाढा राख्छु। धेरै खाने कुराबाट पनि परै बस्छु। दूध मेरो भोजनको अनिवार्य अंग हो। म आफू करिब डेढ वर्षको शिशु हुँदै मैले आमा गुमाएको हुँ। मलाई बुवाले दूध मात्रै खुवाएर हुर्काउनुभएको हो। दूधप्रतिको मेरो आकर्षणको एउटा कारण यो पनि हो।’

हुन पनि हो, हामीले देखेदेखि नै बुवाको खानामा दूध जहिले पनि समावेश हुन्थ्यो। खानाको चार भागमा तीन भाग भात दाल तरकारीसँग खानुहुन्थ्यो भने एक भाग भात अन्त्यमा दूध केरासँग खानुहुन्थ्यो, त्यो पनि बच्चाले जस्तो कुहिनासम्म दूध चुहाएर र प्रशन्न भएर।

खाना जीवनको आधार हो। खाना सन्तुलित र ठीक मात्रामा खानुपर्छ भन्ने बुवाको भनाइ थियो। समय र कामले भ्याएसम्म बुवा हामी परिवारसँगै बसेर खाने गर्नुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, ‘पच्ने गरी खानका लागि चपाएर बिस्तारै खानुपर्छ, आत्तिएर नखाओ है।’ भनिरहनुहुन्थ्यो, खाएको खाना नपचीकन फेरि अर्को खाना खानु पनि हुँदैन र खानाको नियम हुनुपर्छ। बुवाले यस प्रकारको दिन चर्याको प्रेरणा भागवत गीताबाट पाएको कुरा बताउनुभएको थियो :

‘युक्ताहारविहारस्य युक्ताचेष्टस्य कर्मसु। युक्तस्वप्नावबोधस्य योगो भवति दुःखहा। (गीता ६.१७)।।।’

जसको खाना र हिँडाइ सन्तुलित हुन्छ, जसले आचारसंहिता अपनाउँछ, नियममा सुत्ने र उठ्ने गर्छ, त्यसको दुःख र दुःखित जीवन समाप्त हुन्छ। संकल्प शक्तिले मात्र व्यक्तिलाई स्वअनुशासित र स्वनियन्त्रित गर्ने कला सिकाउँछ। त्यसैले सबैले आफ्नो खानाको विचार र शरीरका क्रियाको सक्रिय रूपमा चिन्तन गर्नुपर्छ भन्ने बुवाको भनाइ थियो।

बुबाले गोलभेडा, काँक्राका चिचिला, कुरिलोका मुन्टा, मटरकोसा, सानो केराउ, मुलाका पात बारीबाट सीधै टिपेर खानुहुन्थ्यो। उहाँले काँचो मुला, गाजर, हलुवाबेद, भोगटे, जामुन, अम्बा अति मन पराएर खानुहुन्थ्यो। मलाई याद छ, भोगटेको मौसममा बुवा र म आफ्नै बारीको रातो ठूलो भोगटे दुइजनाले मात्र खाएर सक्थ्यौँ। त्यस्तै जहान परिवारलाई मौसम अनुसारका फलफूल किनेर ल्याएर पनि खुवाउनुहुन्थ्यो। आँपको मौसममा बोराका बोरा मालदह आँप एकै बसाइमा कति खाइन्थ्यो कति। कुहिनासम्म रस बगाएर प्रफुल्ल भई हामीले खाएको देख्दा बुवाको अनुहार चम्किलो देखिन्थ्यो।

खानाको कुरा गर्दा बुवाको पाक कलाको एउटा रोचक प्रसंग छ, बारीमा त्यति बेला राताराता ठुल्ठूला देख्दै रहरलाग्दा मूला भएका थिए। सायद यही कारण होला, बुवाले एक दिन हामी सबैलाई मुलाको कवाफ पकाएर खुवाउने हुनुभयो। एउटा मुलालाई जम्मा ४, ५ टुक्रा पारेर त्यसमा नुन मसला छिराउन भनेर सुइराले ६, ७ वटा प्वाँल पारेर मज्जाले पकाउनुभयो। देख्दा त राम्रै देखिएको थियो, तर खान भने कसैले पनि सकिएन। डरले एक अर्कालाई हेर्‍यौँ, स्वयं बुवाले चाखेपछि भने सबैलाई राहत भयो। चाडबाडका बेला विशेष खाना खुवाउन बुवालाई एकदम मन लाग्थ्यो। एउटा दसैँमा छिमेकी नेवार दाजुले खसी काटीवरी सबै मासु ठुलो फोसी (पकाउने भाँडो) मा पकाइदिनुभएको थियो र त्यो एकदम मीठो पनि भएको थियो। त्यस बेलादेखि जहिले पनि बुवा सुकुदाइलाई मासु पकाउन लाउनुप¥यो भन्नुहुन्थ्यो। त्यति बेला ब्राह्मण परिवारमा जन्मे–हुर्के पनि बुवा जातपातको विरोधी हुनुहुन्थ्यो। बुवालाई खाना विशेष मीठो लाग्यो भने सोधी हाल्नुहुन्थ्यो आज खाना कसले पकाएको हो भनेर र जसले खाना पकाएको हुन्थ्यो, त्यसले स्याबासी पाउँथ्यो। यसले गर्दा खाना बनाउनेलाई थप हौसला मिल्थ्यो र अर्कोपटक योभन्दा पनि मिठो बनाउँ भन्ने लाग्थ्यो।

गाउँमा लेक बेसी गर्दा बुवाको खानामा बनका काफल ऐँसेलु र आफ्ना पिताजीले खुवाउने दूध नै मुख्य हुन्थे। पहाड छाडेर आएपछि दुःखका दिनमा आँटोपिठो के के खानुभयो, जे खानुभयो त्यसमा पनि सन्तुलन मिलाएर खानुभयो। पछि जब जागिर र अध्यापनको काम भ्याइनभ्याई हुन्थ्यो, एकाबिहानै घरबाट निस्किएर एकैपटक बेलुकी १०–११ बजे रातिको खाना खानुहुन्थ्यो। त्यति बेला पनि आमाले काने कसौडीमा घिउ हालेर पकाएको भात अरूलाई नभए पनि बुवालाई खुवाउनुहुन्थ्यो। यस्ता दुःखका र संघर्षका थुप्रै वर्ष बिते, जागिर धान्ने, अध्यापन, केटाकेटीको लालनपालन र शिक्षामा। जब बुवा २०१४ सालदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा जागिरे हुनुभयो, त्यसपछि भने उहाँको खानाको सन्तुलनको साथसाथै समयमा पनि नियमितता लागू भयो। शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरू कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, खनिज पदार्थ तथा पानी खानामा हुन आवश्यक हुन्छ भन्ने ज्ञान आमामा थियो। यिनै चिजलाई ध्यानमा राखेर आमाले बुवाको खाना बनाउनुहुन्थ्यो। बुबाले बिहान केही बिस्कुट र कालो चिया खानुहुन्थ्यो र आफ्नो लेखन कार्यमा लाग्नुहुन्थ्यो।

जसको मन स्वस्थ छ, उसको तन पनि स्वस्थ रहन्छ, योग र खाना स्वस्थ जीवनका लागि एक अर्काका परिपूरक हुन् भन्ने कुरा बुवाले योगलाई दिनुभएको महत्वबाट पनि थाहा हुन्छ। हरेक दिन शीत नओभाएको दुबोमा हिँडेर आएपछि बुवाले योगाभ्यास गर्नुहुन्थ्यो। योग गरेर केही बेर विश्राम गरेपछि उहाँ चिसो पानीले नुहाउनुहुन्थ्यो र यति नै बेला भगवान्को स्तुति गर्नु हुन्थ्यो–

‘ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते।

पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते।।’

परमात्मा सबै प्रकारले सदासर्वदा परिपूर्ण छ। यो जगत् पनि त्यही परब्रह्मबाट पूर्ण छ, किनकि यो पूर्ण उही पूर्णबाटै उत्पन्न भएको हो। यही पूर्णबाट पूर्ण निकालेपछि पनि उही पूर्ण नै शेष रहन्छ।

स्नान गरेपछि बुवा बिहानको खाना खानुहुन्थ्यो। खानामा साधारणतया हरियो सागपात, दाल भात र अचार हुन्थ्यो। दूध भातको प्रसंग त अघि नै भै सक्यो, खानाको अन्त्यमा दुध भात खानु हुन्थ्यो। हप्तामा एक पटक मासु पनि केटाकेटिको लागि भनेर पाक्थ्यो। बुवाले आफ्नो युवा अवस्थामा १२ वर्ष सम्म माछा मासु खानु भएन, त्यसैले होला बुवालाई साकाहारी भोजन नै मन पर्थ्यो। उति बेला ब्राह्मण परिवारमा कुखुराको मासु खान हुन्न भन्ने प्रचलन थियो। बुवाले यसमा कुनै तथ्य भएको नदेखेर सबैलाई यो प्रथा हटाएर खान मन लाग्नेले खान पाऊन् भन्ने हेतुले पछि उहाँ आफैँले खाएर सुरु गरिदिनुभएको थियो। यसो गर्दा उहाँले घरबाट सजाय पनि पाउनुभएको थियो रे। पछिपछि हामीले थाह पाउँदा पनि बुबाले चराको मासु खान त्यति मन गर्नुहुन्थेन, कहिलेकाहीँ खाइहाले पनि सपना बिग्रिएको बताउनुहुन्थ्यो। तरकारीमा बुवालाई माछा मिठो लाग्ने रहेछ भन्ने कुरा उहाँको बाल–कविता गाउँ खाने कथा ‘तरकारी मिठो माछा’ भन्नेबाट थाह हुन्छ।

दिउँसो मौसम अनुसारको फलफूलहरू खानुहुन्थ्यो, कति त आफ्नै बारीका फलफूल पनि हुन्थे। दिउँसोको खाजामा यही भन्ने हुँदैनथ्यो, मकैको परिकार : दुधिलो, पोलेको, उसिनेको, भुटेको, च्याँख्लाको पुवा सबै मन पराउनुहुन्थ्यो। त्यसै गरी हलुवा, पाउरोटी, तरकारी चिउराजस्ता सबैले खाने कुरा खानुहुन्थ्यो। एउटा रमाइलो प्रसंग के छ भने बुवालाई पानी चढेको आलु, जुन हामीले तरकारीमा मिसाउँछौँ, त्यति मन पर्दैनथ्यो र भन्नुहुन्थ्यो, ‘आलु चाउरी परेको खानुपर्छ, पानी चढेको होइन।’  

एक दिन दिदीलाई आमाले आलु किन्न पठाउनुभयो। दिदी त पसलमा बुवालाई मनपर्ने चाउरी परेको आलु खोज्दाखोज्दा हैरान। बल्लतल्ल एक ठाउँमा पाएर ल्याउनुभएछ, पसले चाउरी परेको आलु पनि बिक्री भएकामा कति खुसी भए होलान्।

बेलुकाको खानामा कहिले दालभात तरकारी हुन्थ्यो भने कहिले रोटी, जे भए पनि मिठो मानेर खाने बानी थियो बुवाको। राति खानापछि सुत्नु दुई घन्टाअगाडि दूध पिउनुहुन्थ्यो। लमजुङबाट काठमाडौं आएपछि कति समय त डेरा डण्डामै बित्यो, तर पछि लैनचौरमा घर बनाएपछि गोठ पनि सँगसँगै बन्यो र गाइपालन गरियो। बुवाले आफ्ना पिताजीले खुवाउने गरेको जस्तै दूध खान पाउनुभयो। समयको परिवर्तन सँगसँगै धेरै वर्षपछि काठमाडौंमा गाईपालन सम्भव भएन।

खानालाई विशेष महत्व दिने उहाँको बानीले गर्दा उहाँलाई खाना खुवाउन सबैलाई खुब रमाइलो लाग्थ्यो। मानिसहरू भेट्न आउँदा लिएर आउने फलफूललाई बुवाले विशेष महत्व दिएर आमालाई ‘हेर त कस्तो राम्रो फलफूल, थन्क्याउ’ भन्नुहुन्थ्यो। अरूको घरमा खाना बोलाएर खान जाँदा पनि खानाको खुब प्रशंसा गर्नुहुन्थ्यो। यसै प्रसंगमा बुवा एकपटक विदेश जानुभएका बेला त्यस देशको विशिष्ट खाना भनेर भ्यागुतोसँग सागसब्जी मिसिएको कुनै खाना ल्याएर दिए छन्। यस्तो सत्कार गरेर दिएको खाना खान्न भन्न मन लागेनछ र भ्यागुतो हटाएर साग सब्जी खानुभएको थियो रे।

बुबा खाना खानु केहीअघि र खाना खाइसकेको ३० देखि ४० मिनेटपछि मात्र पानी खानुहुन्थ्यो। खाना खाएपछि दाँतको राम्रोसँग सफाइ गर्नुहुन्थ्यो। सन्तुलित भोजन, व्यायाम, योग र सकारात्मक सोच नै सायद बुबाको दीर्घ जीवनका रहस्य पनि हुन्।

प्रकाशित: २२ जेष्ठ २०७८ ०३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App