कला

चौबिस वर्ष

लघुकथा

 देवेन्द्र अर्याल ‘आँसु’

 

म थप तलब, भत्ता र अन्य सुविधा केही लिन्नँ । उनको यो कुरा सुनेर सबैले उनलाई साँच्चै खुलेर प्रंशसा गर्न थाले । जसका कारण उनी इमानदार प्रधानाध्यापक रूपमा चिनिए । सबैका नजरमा उनी अतिप्रिय बनेका छन् । उनी अवस्था हेरेर काम गर्न र लगाउन सिपालु छन् । त्यसैले तल्लो तहको भएर पनि ठूलो जिम्मेवारी बोक्न सफल भएका छन् उनी।

एकदिन एक शिक्षक सरुवाको पत्र लिएर आए । उनले त्यस शिक्षकलाई स्वागत गरे । उनले गर्वसाथ सबैका अगाडि राख्दै भने, ‘आउनुहोस् तपाईं जस्तो व्यक्तिलाई स्वागत छ । मैले चौबिस  वर्षदेखि यो पद तपाईहरू जस्तालाई सम्हालेर राखेको छु ।’ यो सुनेर त्यहाँ रहेका शिक्षकहरू स्तब्ध भए । कोही केही बोल्न सकेनन् । मात्र सुनिरहे।

प्रधानाध्यापकको त्यो व्यवहार देखेपछि सबैबीच उनी चर्चाको पात्र बने । चौबिस वर्षमा विद्यालयमा कैयन् दरबन्दी आउँदा कसैलाई पनि उनले अवसर दिएनन् । त्यहाँ कार्यरत योग्य र अनुभवी शिक्षकलाई पनि त्यो आकाशको फल आँखा तरी मर भनेजस्तो नै भयो।  

तिनै प्रधानाध्यापकको निवृत्त हुने बेला शिक्षकहरूबीच गाइँगुइँ हल्ला सुनियो । नयाँ आउने शिक्षकले सरुवा हुन उनीलाई त दह्रो बिटो पो चढाएका रहेछन् ।  चौबिस वर्षसम्म दुईदुई पदमा बस्दा विद्यालयलाई घाटा लगाएको लेखाजोखा नहुँदै उनले निवृत्त हुने बेलामा समेत दह्रो रकम लिन सफल भए।  

प्रकाशित: १९ जेष्ठ २०७८ ०८:३८ बुधबार

अक्षर