हरिप्रसाद भण्डारी
म सानो छँदा हाम्रा घरमा दुईटा गोरु थिए । तिनको नाम काले र गोठे थियो।
काले बुढो र दुब्लो थियो । उसका लामा लामा सिङ थिए तर पनि ऊ ज्ञानी थियो। जेजसो गरे पनि हान्दैनथ्यो। जे भने पनि मान्थ्यो, जता लगे पनि जान्थ्यो ।
गोठेजवान थियो । मोटोघाटो र बलियो थियो । गोठेका सिङ छोटा थिए तर खुबै अटेरी थियो । रिसायो भने फ्याँफ्याफुँफुँ गर्थ्यो । लखेट्थ्यो । भेट्टायो भने मर्म पुग्ने गरी हान्थ्यो ।
स्कुलमा बिदा भएको दिन म तिनै गोरु लिएर वन जान्थेँ । कहिले कोलडाँडा, कहिले भर्जी, कहिले सिस्तुङ यिनै थिए मुख्य चरन क्षेत्र । गोरु चराउने सिलसिलामा गोठेप्रति विशेष ध्यान दिनुपर्थ्यो । मौका पायो भने लुसुक्क भाग्थ्यो । कसैका बालीमा पस्थ्यो र बाली खाइदिन्थ्यो ।काले सोझो थियो । ऊ त्यसरी भाग्ने र अर्काको बाली खाने काम गर्दैनथ्यो ।
बेसीतिर नझरेको धेरै समय भएको थियो । बेसीतिर जान र खोलामा पौडी खेल्न निकै मजा लाग्थ्यो । कहिलेकाहीँ माछा मारेर पनि खान्थ्यौँ । आँप वा बेलौती पाक्ने बेलामा त झन् मजा आउँथ्यो । त्यसैले अबको पाली बेसीतिर जाने सल्लाह भयो । एक दुई जना भाइसाथीहरूले पनि साथ दिने भए।
बिदाको दिन गोरु खेद्दै बेसीतिर झरेँ । छल्दी खोलामा पुगेपछि मन खुसी भयो । केहीबेर गोरुलाई बगरमा चर्न छोडेर साँघुका रहमा पौडी खेल्यौँ । रुमा, झविन्द्र, यमलाल लगायतका भाइसाथीहरू पनि सँगै थिए । रमाइलो भयो।
केहीबेरपछि खोलाको छिरोमा खेल्ने विचार आयो मनमा । रहभन्दा केही तल खोलो पुरै डोलिएर बगेको ठाउँ थियो ।कालेलाई पिट्दै त्यहीँ लगेँ र उसैको पुच्छर समाएर वारिपारि गर्न थालेँ । बडो मजा आयो । शरीरमा दौरा बाहेक अरु बश्त्र थिएन । खोलामा खेल्दा एउटा भएको दौरा पनि लुछुप्पै भिझ्यो।
खेल्दाखेल्दै समय बितेको पत्तै भएन । काले साथमै थियो । गोठे गोरु सम्झेर झसङ्ग भएँ । खोलाबाट बाहिर निस्केर गोठेलाई हेरेँ तर कतै देखिएन।
चिन्ता लाग्यो । पानीमा खेल्दाखेल्दै भोक र थकाईले गलाउँदै थियो । त्यसमाथि गोठेले गर्दा मनमा तनाव बढ्दै गयो।
वारिपारि जताततै खोजेँ तर कतै भेटिएन।
कसै गर्दा पनि गोरु नभेटिएपछि निरास भएँ । साथीहरू पनि जम्मा भइसकेका थिए । उनीहरू पनि दुःखी भए । त्यस्तैमा झविन्द्रले भन्यो, “आँखाका परेला झिकेर जोखना हेर् त !”
त्यो बेला हामी कुनै वस्तु हराएमा आँखाका परेला झिकेर हातमा राख्थ्यौँ । त्यै रौँमाथि अलिकति थुकेर अर्को हातको धारले हान्थ्यौँ । हराएको वस्तु खोज्ने लोकल तरिका यही थियो हाम्रो।
त्यसै गरेँ । आँखीभौँ थुतेर हत्केलामा राखेँ । त्यही रौँमाथि थुकेँ र हातले हानेँ । उक्त रौँ घरतिरै गयो।
त्यो देखेपछि साथीहरूले भने, “ल तेरो गोरु घर गैसकेछ जाऊँ हिँड ।”
मलाई पनि होजस्तो लाग्यो । त्यसपछि म काले गोरु खेद्दै घरतिर लागेँ।
दौरा चिसो थियो । शरीर गलेको थियो । भोकले गर्दा पेटमा मुसा दगुर्दै थिए। जाडोले शरीर लुगलुग कापिरहेको थियो । मनमा अनेकौँ कुरा खेलिरहेका थिए ।
जसोतसो घर पुगेँ । घर गएर हेर्दा गोठ रित्तै थियो । बित्यास परयो । मन आत्तियो । बसेर क्वाँ क्वाँ रुन थालेँ ।
‘दुईटा गोरु पनि हेर्न नसक्ने’ भनेर बुवा रिसाउनुभयो । भुतभुताउँदै गोरुको खोजीमा निस्कनुभयो ।
‘बुवाले गोरु लिएर आए हुन्थ्यो ।’ मनमा यस्तै कुरा खेलिरहे । आमाको अनुहारमा पनि आक्रोष भरिएको थियो । त्यसैले खाना खान पनि मन लागेन।
बुवा राति अबेर घर आउनुभयो तर रित्तै !
“गोरु भेटिएन ?” आमाले सोध्नुभयो ।
“जतातै खोजेँ, कहीँ पनि भेटिएन ।” लामो सास फेर्दै बुवाले जवाफ दिनुभयो।
“किराले पो खायो कि ?” आमाले भन्नुभयो । हामी बाघलाई किरो भन्थ्यौँ ।
“छि ! अशुभ नबोल ।” बा झर्कनुभयो।
“त्यसो भए बुल्म पो गयो कि !’ आमाले अनुमान लगाउनुभयो।
“मलाई पनि त्यस्तै लागेको छ । अन्त जाने त ठावै छैन ।” बुवाले भन्नुभयो।
हाम्रो घरमा हलो जोत्ने कुमाल थिए। उनको नाम झुपे थियो। उनको घर हालकोइस्मा गाउँपालिका वडा नं. ६ बुल्म भन्ने गाउँमा थियो ।
छल्दी खोलाको नजिकमा रहेको बुल्म गाउँमा कुमाल जातिको बस्ती छ । उनीहरू माटाका भाँडा बनाएर बेच्ने, खोलामा माछा मार्ने र बाहुनहरूका घरमा काम गरेर जिविका चलाउने गर्थे । निकै गरिब अवस्था थियो । पढ्ने लेख्ने चलन थिएन । हाल आएर त्यो गाउँका धेरै युवाहरूले पढ्न थालेका छन् । जागिर खाएर उच्च तहमा पुगेका पनि छन् । कतिपय युवाहरु वैदेशिक रोजगारीमा गएका हुँदा गाउँको आर्थिक अवस्थामा पनि सुधार हुँदै गएको छ।
अँ भन्दै थिएँ, झुपे कुमालले हाम्रो घरमा काम गर्थे । कहिलेकाहीँ झुपेले दुवै गोरुलाई आफ्नो घरमा लैजान्थे र मिठो मिठो घाँस खान दिन्थे । त्यसैले गोठे भाग्न पायो भने उतै जान्थ्यो।
त्यो बेलासम्म हामी बाहुनहरूले हलो जोत्नु हुँदैन, अनौ समायो भने जात जान्छ भन्ने चलन थियो । पछि म जान्ने भएपछि आफ्नो खेतबारी आफै जोत्न थालेँ । पछि पछि मजस्ता अरु युवाहरूले पनि जोत्न थाले।
झुपे दाई हाम्रोमा काम गर्न आउथे । दिनभरि काम गरी साँझ आफ्नै घर जान्थे।
म सानै थिएँ । उनी मलाई औधी माया गर्थे ।एकदिन घरबाट आउँदा मलाई खाने कुरा ल्याइदिएका रहेछन् । बाआमाले थाहा नपाउने गरी घरपछाडि बोलाए । गएँ । सिल्टीको बटुकामा पकाएको मासु ल्याएका रहेछन् । एक एक टुक्रा मुखमा हालिदिए । पकाएको मासु मिठो थियो । स्वाद मानीमानी खाएँ ।
पछि मलाई थाहा भयो, उनले ल्याएको मासु आइँपाडीको रहेछ ।
गोठे गोरु हराएको अर्को दिन बुबाको के काम परयो कुन्नि बुल्म जान भ्याउनुभएन । मलाई पठाउनुभयो ।
त्यो भन्दा पहिले म धेरैचोटि गइसकेको थिएँ । बुल्म जाँदा अरु सबै कुरा त ठिक लाग्थ्यो तर एउटा समस्या थियो । कुमालहरूले प्रत्येक घरमा काला सुँगुर पालेका हुन्थे । ती सुँगुरलाई चोँचे भनिन्थ्यो । चोँचेहरू चोँ चोँ गर्दै बाटामा घुमिरहेका हुन्थे । टोक्लानजस्तो गर्थे।
एक दिन आमाले भन्नुभएको थियो, “हामी बाहुनहरू चोँचेसँग छोइन हुन्न, नछोइनु । चोँचेले छोयो भने जात जान्छ । बर्तन (व्रतबन्ध) गरेको छ भने नुहाउनुपर्छ । जनै फेर्नुपर्छ । सुनपानी छर्कनुपर्छ ।”
बुल्म जाँदा सुँगुरले छोलान् र जात जाला भन्ने कुरामा म निकै शतर्क हुन्थेँ । डराउँथेँ । सधैँ हातमा हँसिया र लौरो समाएर जान्थेँ । बाटामा सुँगुर देखेँ भने लौरो देखाउँदै अघि बढ्थेँ।
त्यो दिन पनि हँसिया र लौरो समाएर बुल्म गएँ । दिउसोको समय थियो । झुपे कुमालको घर अलि उच्च स्थानमा थियो। वरैबाट देखिन्थ्यो । जाँदाजाँदै वरैबाट देखेँ गोठे गोरु झुपेका घरमा थियो । गोरु देखेपछि म निकै खुशी भएँ।
झुपे दाइको आँगनमा छिमेकीहरू जम्मा भएर हल्ला गर्दै थिए । मासु काट्दै रहेछन् । आँगनसँगै ठूलो अँगेनो थियो। अँगेनामा धेरै दाउरा जोरेर ठुलो आगो बालेका थिए।
केही समयपछि ठूला ठूला चोक्टा मासु पोल्न थाले । आगोको भुँङ्ग्रोमा मासु पोल्दा चर्चर् आवाज आइरहेको थियो । पोलेको मासु सेलाएपछि साना साना टुक्रा बनाएर काटे अनि मलाई पनि दिए।
पोलेको मासु खाएँ । साह्रै मिठो थियो । पेटभरि मासु खाएपछि गोठे गोरु फुकाएर घरतिर आएँ । फर्कदा पनि बाटाभरि चोँचे थिए । चोँचेले छोला र जात जाला भनेर लौरो घुमाउँदै थिएँ । कुनै सुँगुरले छुन पाएन । जात जोगिएकोमा खुशी भएँ । तर धेरै समयपछि थाहा भयो— मैले झुपे कुमालको घरमा खाएको मासु त्यै चोँचेको रहेछ ।
प्रकाशित: १६ जेष्ठ २०७८ १३:१६ आइतबार