कला

आशिष पुरस्कार लावती र घिमिरेलाई

आशिष स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिँदै । तस्बिर : भीम/नागरिक

२०७८ सालको आशिष स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुमन लावतीलाई प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघ इलाम शाखाले उदीयमान पत्रकारलाई हरेक वर्ष प्रदान गर्ने पुरस्कार यो पटक रेडियो माङ्सेबुङ एफएमका स्टेसन म्यानेजर लावतीलाई प्रदान गरिएको हो।  

बुधबार सदरमुकाममा आयोजित समारोहमा १ नम्बर प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर रानामगरले पुरस्कार हस्तान्तरण गरे। लावती करिब ७ वर्षदेखि रेडियोमा कार्यरत छन्। यसैगरी २०७७ सालको आशिष स्मृति पुरस्कार पत्रकार गणेश घिमिरेलाई प्रदान गरिएको छ। गतवर्षको वैशाख १ मै प्रदान गर्नुपर्ने पुरस्कार कोरोना महामारीका कारण स्थगित थियो।

२०५९ साल वैशाख १ मा दुर्घटनामा निधन भएका स्वर्गीय आशिष राई रेडियो नेपालका तत्कालीन जिल्ला संवाददाता थिए। नयाँ वर्ष मनाउन गएका बेला माईखोलामा पौडी खेल्नेक्रममा उनको डुबेर निधन भएको थियो। पत्रकार राईको स्मृतिमा महासंघ शाखाले आशिष स्मृति पत्रकारिता पुरस्कार कोष स्थापना गरी हरेक वैशाख १ मा साविक मेची अञ्चलका एक उदीयमान पत्रकारलाई पुरस्कृत गरिरहेको छ। यसअघि यो पुरस्कारबाट वेनुपराज भट्टराई, भीम चापागाईं, मोहनकाजी, कोकिला ढकाल, गणेश साम्पाङ, रमेश समदर्शीलगायतका पत्रकार पुरस्कृत भइसकेका छन्।

प्रकाशित: १ वैशाख २०७८ १२:११ बुधबार

आशिष पुरस्कार