कला

तुवाँलो

बालकविता

कता गइन् बादल रानी छैनन् आकाशमा,

प्राणवायु घट्दै गयो आजकल बतासमा।

तुवाँलोले ढाकिएर धर्ती भयो कालो,

निस्सासिएर मरिन्छ कि डर लाग्न थाल्यो।

 

चम्किलो त्यो सेतो जून धूमिल देखियो,

धर्तीको यो  प्रदूषणले आकाश नै मैलियो ।

हरिया ती बोटबिरुवा सबै काला भए,

पानी पार्ने बादलहरू किन टाढा गए।

 

बनजङ्गलको डढेलोले तुवाँलो बढायो,

जीवजन्तु जडीबुटी सबै नै डढायो।

जथाभावी आगो लाउने मान्छे नै हो हेर,

मान्छेको त्यो बुद्धिविवेक अहिले गयो खेर।

 

वातावरण जोगाउन हामी अघि सरौं,

सानाठूला सबै मिली राम्रो काम गरौं।

हरियाली सफासुग्घर पारौं वरपर,

आजैदेखि सचेत भए पछि हुन्न डर।

प्रकाशित: २६ चैत्र २०७७ ०६:५३ बिहीबार

अक्षर