कला

स्वार्थहीन जुनकिरीहरू

कविता

 मनभित्र अन्धकार बोकेर  

स्वार्थको भण्डारभित्र  

मीठा सपनाहरू बुन्दै

मस्त निदाइरहेको मान्छेको बस्तीभित्र

एउटा अबोध जुनकिरी

पिलपिल बत्ती बाल्दै

चकमन्न रातलाई हवाला दिँदै

बस्ती चाहारिरहेको हुन्छ

एउटा आशा जगाइरहेको हुन्छ

जुनकिरी हुनुको अर्थ जनाउँदै

मान्छेलाई जगाइरहेको हुन्छ

अविच्छिन्न अनवरत

बाटो देखाइरहेको हुन्छ

ज्ञानविज्ञानले पोख्त  

अर्धचेतन तिनै मान्छेहरूलाई  

आफ्नो झिनो प्रकाशले  

  झक्झकाइरहेको हुन्छ

हर मनमझेरीहरूमा

एउटा सानो किरा  

जुनकिरी बन्न सक्छ

मान्छे किन मनकिरी हुन सक्तैन?

प्रश्नहरू तेर्स्याउँदै  

अनि उत्तरहरू खोज्दै उडिरहन्छन्  

अँध्यारो घरका चोटाहरूमा

साना जुनकिरीहरू

झिनो प्रयास नै सही

एउटा दुष्साहस नै सही

रात उज्यालो बनाउन  

भ्याईनभ्याई छ सधैं

स्वार्थहीन साना जुनकिरीहरूलाई... ।

प्रकाशित: २३ चैत्र २०७७ ०५:४२ सोमबार

अक्षर