उमंग, उत्सव छाएको थियो रे म जन्मदा, मेरो परिवारमा। त्यही खुसी चिप्लियो संस्कृति र परम्परामा। एघार नपुग्दै लगनगाँठो कसियो। चुलोचौको कपीकलम बन्थ्यो, चौपाया साथीहरू, सासूससुरा गृहकार्य मात्र दिने कठोर गुरु र जीवनसाथी प्रतिद्वंदी । कष्टकर जीवन बित्दै थियो चार पर्खालभित्र।
हलक्क बोट बढेको थियो। फूलहरू झपक्कै फुलेका थिए। कहिले धर्म, कहिले आफन्तको खुसीको नाममा टिपिदै थिए। त्यतिले नपुगेर बजारमा पुरयाइए । महँगो दाममा आफन्तद्वारा नै बेचिए।
– लक्ष्मी, तिमी चौबिस क्यारेटको नम्बरी सुन हौ। तिम्रो मालीले हाम्लाई बेचेर आफ्नो बाटो लागे। अब तिम्रो काम ग्राहक रिझाएर धनको वर्षा गराउने हो । भाग्न खोजे तिम्रो हाँगाबिँगो छिमोलेर निर्वस्त्र गराइनेछ। साहुको कथनले मुटु नै छेड्थ्यो मेरो।
एक अबोला तोलामा तौलिई, ग्राममा मोलिई, किलोमा बेचिई । निष्पाप, त्यो फल अनि बोटलाई चारैतिरबाट किरा फट्यांग्राले चुस्दै गए । रस चुसेर खोक्रो भएपछि नालीमा मिल्काइए ।
भग्नावशेष यो शरीर खोतल्न कानूनका पहरेदार, समाजसेवी, संचारकर्मी, भुक्तभोगी सबै आए। पीडा खोत्रियो, कुखुराले झैँ । कसैले डलर भेटे, कसैले लाखौ भ्यूज देखे। कसैले के तर सबैले आफ्नै दुनो सोझ्याए। अन्त्यमा, सरकारको खोइरो खन्दै पन्छिए।
कालो बादल, मुसलधारे पानी र उजाडिएको बस्तीको कथा सबैले सुने। अंह, उद्दार कसैले गरेनन्। पीडा खोतले, पुननिर्माण कसैले चाहेनन्। त्यसैले जे भयो, नियति ठाने। पीडालाई शक्ति बनाए। अदम्य साहस बटुलेर, समाजभित्रको तुँवालो हटाउन अघि बढे।
प्रकाशित: २१ चैत्र २०७७ ०४:०४ शनिबार