कला

शरणार्थी प्रेम

कविता

प्रिय सानू ,

हजामले कपाल छाँटेजस्तो  भएर

मात्रै प्रेम साकार हुने भए

म चूपचाप स्वर्गको अप्सराभन्दा  

बढी मादकतामा  

उनीहरूको मुटु जलाइरहेको हुने थिए !

प्रेमको अभिलाषा  

अव्यक्त हुन्छन्  

आवाजहरूमा सजिएर

किनभने म प्रेमको वकालत

चोखो हृदयको ठम्याइबाट

गहिराइमा डुबाएर देखाउन चाहन्छु

मरुभूमिको मुस्कानमा रम्नु

आँसुको शुभसङ्केत हो  

मुलायम हृदयको जाँगरमा सजिनु

सपनाहरूको इच्छा  दिन हो

र,

चञ्चलताको पातमा ठोक्किएर

आँखाको ओठबाट पोखिनु  

प्रेमको सौन्दर्य दीप हो  

 

अब त पत्रहरू खुइलिएर  

बुढेसकालमा प्रविष्ट छ शरीर

तैपनि मौलाउँदै छ रहर  

पलाउँदै !

पलाउँदै !

गइरहेछ  

आँतुरी मनहरूको शहर ।

 

यसरी नै प्रेमलीलाको मुना च्यातिएर  

सम्झनाको दोबाटोमा बिर्सिने छैन

त्यो एउटा मुटुको अमूल्य तस्वीर

जीवन्त ठहरिनेछ  

समयको उच्चाइ चुम्ने संघारबाट

आँसुहरूको झोला नयन

सुखी बनिरहनेछ

उनको र मेरो शरणार्थी सम्बन्धले

यसरी नै भविष्य देखाइरहनेछ।  

प्रकाशित: १९ चैत्र २०७७ ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App