कला

झुपडीको आयतन

कविता

यो एउटा सानो झुपडी हो  

तर  

ठिकठाकको छ

छाना चुहिँदैन

भित्ता चर्किएका छैनन्  

सधैंजसो लिपपोत गरेर  

हेर्दा छि नभनून् भन्नेसम्मको छ।

 

फराकिलो छैन

यद्यपि  सबैलाई अटाउन सकिन्छ  

यहाँ फूल अटाउँछ  

यहाँ सुवास अटाउँछ  

यहाँ भमरा अटाउँछ  

यहाँ पुतली अटाउँछ।

 

झुपडी नै किन नहोस्  

जीवन  र जगतप्रतिको

आशा र विश्वासको

खाँबोले अडिएको छ यो।

जसको बलेंसीमा  

आकाशभरि तिर्मिराइरहेका ताराहरूको बिचबाट  

सर्लक्क झरेर जून

बास बस्छ।

 

आँखीझ्यालबाट

हात छिराएर बतासले साउती मार्छ  

भित्र प्रेमको अगेना छ  

जहाँ कहिल्यै ननिभ्ने विश्वासको आगो बल्छ।

छेउमा शान्तिको दीप जल्छ।

 

अगेनाछेउमा म एक्लै छु  

मेरो  हृदयमा सुखको  गहिरो सागर छ

मेरो आँखामा समर्पणको सङ्लो पोखरी छ  

छेउमा  वियोगको उजाड बगर छ।

 

यो झुपडी मेरो संसार हो

तर, यहाँ म नितान्त  एक्लै  छु  

मेरो सपनाको आकाश यहीँ छ  

मेरो  रहरको प्रकाश यहीँ छ  

मेरो  आयुको इन्द्रेनी यहीँ छ।

 

यो सानो झुपडीभित्र  

साँच्चै विशाल ब्राह्मण छ।

प्रिय देव!

तिमी आउनु यो झुपडीमा  

यहाँ , मात्रै तिमीलाई  स्वागत छ।

प्रकाशित: १८ चैत्र २०७७ ०५:५७ बुधबार

अक्षर