कला

मौनता

कविता

उस्ले आमालाइ सोधी,

आमा मलाई किन जन्मायौ ?

आमा निरूत्तर

उस्ले  आमालाइ सोधी,

आमा मलाई किन हुर्कायौ ?

आमा निरूत्तर

उस्ले आमालार्इं सोधी ,

मलाइ किन पराई घर पठायौ ?

आमा निरूत्तर  

उस्ले

पुनः बालाई सोधी,

बा किन मलाई दाजुभाइलाई

जसरी सम्पत्ति दिएनौ ?

किन मलाई चाहे जति पढ्न दिएनौ ?

उस्ले गुनासो गरी,

मलाई उनीहरूले बेकारण दोष लगाएर

गाली गर्छन्, पिट्छन् , अपशब्द बोल्छन्

काम धेरै लगाएर खाना थोरै दिन्छन्

विरामी पर्दा  

अलच्छिनी नाटक गर्छे

जा तेरै माइत भन्छन् ..

जान्न बाबा त्यस्तो घर !

बा जंगिएर बोले,

वाहियात प्रश्न नसोध छोरी !

वाहियात कुरा नगर छोरी !

त्यो तिम्रो घर हो

मारे पाप, पाले पुण्य भनेर

हामीले सुम्पियौ  

तिमीले जानुपर्छ

सहु, सहुसहुसहु सहनै नसके पनि

तिमी चूपचाप आफ्नो कर्म गर !

पराईको सेवा नैं तिम्रो धर्म हो  

तिम्रो  सम्पत्ति पराईको खुसी हो !

यो त हाम्रो संस्कार हो  

देवताको पालादेखि चलेको  

तिमीले स्वीकार्नुपर्छ

जसरी पार्वती, सीता  

कुन्ती र द्रौपदी ,भृकुटी आदिले  

पालन गर्दै आए  

तिमी त  

एक नेपाली नारी !

बाको उत्तरले रनभुल्ल परेकी

उसले  

बाआमाबाट  सोचेजस्तो  

जवाफ नपाएपछि  

हजुरहरूलाइ एक प्रश्न गरेकी छे !

के नेपाली नारीको जीवन सधैं

मौनतामा शुरू भएर मौनतामै समाप्त हुनुपर्छ !

प्रकाशित: १८ चैत्र २०७७ ०५:२३ बुधबार

अक्षर