अस्ति भर्खरै उत्कृष्ट शिक्षकको सम्मान प्राप्त कृष्णभक्त मौन छन् । उनको मुखबाट एउटा शब्द पनि निस्किएको छैन। मात्र टाउको हल्लाउँदै , ग्लानिपूर्ण मुखाकृति देखाइरहेका छन्। यत्तिकैमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष आक्रोशित शैलीमा प्रस्तुत हुन्छन्, ए कृष्णभक्तजी, तपाईं मास्टर हो कि गुण्डा ? अलिकति उमेर ,पेशा र इज्जतको ख्याल आएन दिमागमा ? धन्न यो काण्ड चुइँक्क कसैलाई थाहा छैन। गरीब परिवारको विद्यार्थी भएर मात्रै खतरामुक्त छ घटना ।छात्राको अभिभावकले खुसुक्क मलाई गुनासो व्यक्त गरेका मात्र छन्। अब तपाई आफै भन्नुस् यो समस्याको अन्त्य कसरी गर्ने ?
बल्लतल्ल कृष्णभक्तको दमित स्वर निस्कियो–अलिकति खर्चपानीको व्यवस्थापन मिलाइदिन्छु।गोप्य ढंगले तपाईंले केके गर्नुपर्छ , गर्नुहोला ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पुनः जङ्गियो – छात्रामाथिको यौनहिंसाको सवाल तपाईंले सोचेजस्तो सजिलो छैन। तैपनि म कोसिस गर्छु। आफ्नै साथी भनेर हेट सर बनाइदिएँ , काण्डमाथि काण्ड मात्रै गरिरहनु भा छ। यो राम्रो होइन। एक महिना अगाडिको शिक्षक नियुक्त गर्दा लिएको ६ लाख रूपैयाँ पनि कता पुरयाउनुभो ? खै मेरो भाग ?
अध्यक्षको लोभको घैंटो देखेर शिक्षकको सास आयो र जुरमुराउँदै भन्यो –ए त्यो पैसा ! नदिने नियत छैन मेरो । भेट्छु–भेट्छु भन्दाभन्दै अनुकूल नै मिलेन। भोलि नै तपाईंको बैंक खातामा हालिदिन्छु। जिल्ला शिक्षा कार्यालयमा पनि एक हिस्सा पठाउनु छ।
यत्ति सुन्नेबित्तिकै थलिएको बिरामी जस्तो भएका अध्यक्ष तङ्ग्रिए जस्तो देखियो । सहानुभूतिपूर्ण शिक्षकलाई आदेश दिँदै भन्यो –प्राविधिक कुरा त मिल्यो। भोलिदेखि नियमित विद्यालय जानुस् र पठनपाठनमा अघि बढ्नुस्।
हप्ता दिनदेखि तनावग्रस्त कृष्णभक्तको शरीरमा एकाएक ऊर्जा भरियो र उत्साहप्रद कक्षाकोठामा विद्यार्थीहरूलाई यस्तो भन्दै थिए – नानीबाबु हो ! हामीले कहिल्यै इमान , निष्ठा भुल्नु हुँदैन । नैतिकता र स्वाभिमान नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो ।
प्रकाशित: १५ चैत्र २०७७ ०९:४३ आइतबार